कृषिमा वैदेशिक लगानीविरुद्ध आन्दोलन «

कृषिमा वैदेशिक लगानीविरुद्ध आन्दोलन


सरकारले कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गरेसँगै त्यसको विरोधमा सडक आन्दोलन सुरु भएको छ । कृषिसँग सम्बन्धित उद्योगी व्यवसायीले वैदेशिक लगानी भित्र्याउँदा स्वदेशी उद्योगलाई प्रत्यक्ष असर पर्ने भन्दै व्यवसायी विरोध गरेका हुन् ।
राष्ट्रिय कृषक महासंघको आयोजनामा विभिन्न उद्योगी व्यवसायीका १५ वटा संगठनले बुधबार बानेश्वरमा कृषि क्षेत्रमा वैदेशिक लगानी निर्णयको विरोधमा धर्ना गरेका थिए । आत्मनिर्भर बन्दै गएको कृषि क्षेत्रमा विदेशी लगानी भित्रँदा स्वदेशी उद्योगले प्रतिस्पर्धा गर्न नसकी व्यवसाय धरासायी बन्ने भन्दै उनीहरूले तत्काल फिर्ता लिन माग गरेका छन् । सरकारले हालै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को अनुसूची संशोधनमार्फत कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गरेसँगै उद्योग व्यवसायीले विरोध गरेका छन् । दिगोपनामा आधारित आत्मनिर्भरमुखी खेती प्रणालीलाई उन्नत बनाई स्वच्छ खाना पाउने नागरिक अधिकार सुनिश्चित गर्न, साना किसान उद्यमीको रोजीरोटी र जीविकोपार्जनका साथै पर्यावरणमा असर पर्न नदिन, नेपाली कृषि संस्कृतिको संरक्षण गर्न, स्वदेशी साना लगानीकर्ता किसान र उद्योगहरूको संरक्षण गर्न र स्वदेशी श्रम र पुँजीको संरक्षण गर्न कृषिमा विदेश लगानी खुला गर्न नहुने व्यवसायीको भनाइ छ ।
राष्ट्रिय कृषक महासंघका अध्यक्ष नवराज बस्नेतले कृषिमा विदेशी भित्रिँदा स्वदेशी साना उद्योग धरासयी बन्ने हुँदा तत्काल फिर्ता गर्नुपर्ने बताए । लगानीसँगै आएका प्रविधि र बीउबिजनले साना किसान प्रत्यक्ष मारमा पर्ने उनको भनाई छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले संसद् नभएको बेला चोरबाटोबाट गरिएको अनुसूचि संशोधन तत्काल फिर्ता गर्नुपर्ने बताए । अन्य क्षेत्रमा वैदेशिक लगानी आउनु राम्रो भएपनि कृषि क्षेत्रमा लगानी भित्र्याउँदा स्वदेशी साना उद्योग व्यवसायीलाई प्रत्यक्ष असर पार्ने उनको भनाइ छ ।
विदेशी लगानी भित्र्याउँदा ५० करोड उद्योगमा लगानी गर्नुपर्ने र त्यसबाट उत्पादित ७५ प्रतिशत उत्पादन निर्यात गर्नुपर्ने सर्तसहित सरकारले कृषि क्षेत्रमा विदेशी लगानी खुला गरेको हो । निजी क्षेत्रले अर्बौं लगानी गरेको अवस्थामा सरोकारवाला निकायसँग छलफल नगरी गरिएको निर्णयले राष्ट्रहित विपरीत भएको भन्दै व्यवसायीले तत्काल फिर्ता गर्न माग गरेका हुन् । नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले स्वदेशी ८५ अर्बको लगानी जोखिम पारेर कृषिमा वैदेशिक लगानी भिœयाउने निर्णय व्यवसायी र किसानको हितविपरीत भएको बताए । यसले स्वदेशी अरबौ लगानी रहेका उद्योगलाई धरासायी बनाउने भएकाले तत्काल फिर्ता गर्न सरकारलाई उनले आग्रह गरे ।
व्यवसायीका अनुसार स्वदेशी लगानीमा फष्टाउँदै गएका मत्स्यपालन, दुग्ध उत्पादन÷प्रशोधन, पशुपंक्षी, माहुरीपालन, पोल्टी उद्योगमा पछिल्लो समय फष्टाउँदै गएका छन् । कुखरापालनमा ४० अर्ब, डेरी उद्योगमा ३० अर्ब, माछापालनमा ११ अर्ब, माहुरीपालमा ४ अर्ब गरेर ८५ अर्बको लगानी जोखिम पर्ने भन्दै उनले कृषिमा वैदेशिक लगानी भित्राउने निर्णय फिर्ता गर्नुपर्ने उनको भनाई छ ।
नेपाल अन्डा उत्पादक संघ, राष्ट्रिय कृषक महासंघ, नेपाल डेरी एशोसिएसन, केन्द्रीय पशुपंक्षी पालन सहकारी संघ, डेरी उद्योग संघ, केन्द्रीय कृषि बीउ तथा तरकरी सहकारी संघ, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ, बाख्रा व्यवसायी महासंघ, मौरीपालक महासंघ, चितवन केरा उत्पादक संघ लगायतका १५ वटा उद्योगी व्ययवसायीको संस्थाले सामूहिक रूपमा विरोधमा उत्रेका हुन् ।

प्रतिक्रिया दिनुहोस्