स्थानीय तहले सवारी प्रवेशमा लगाएको करप्रति उद्योग वाणिज्य संघ गुल्मीको आपत्ति «

स्थानीय तहले सवारी प्रवेशमा लगाएको करप्रति उद्योग वाणिज्य संघ गुल्मीको आपत्ति

सन्तोष महतारा
गुल्मी
– जिल्ला प्रशासन कार्यालय गुल्मीलाई उद्योग वाणिज्य संघ गुल्मीले ध्यानकर्षण गराएको छ । पाल्पा जिल्ला तानसेन नगरपालिकाले मनपरी रूपमा उठाएको सवारी करको विषयमा ध्यानाकर्षण गराइएको हो ।
उद्योग वाणिज्य संघ गुल्मीले मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रशासन कार्यालय पाल्पा र पाल्पाको तानसेन नगरपालिकालाई ज्ञापनपत्र बुझाएको उद्योग वाणिज्य संघ गुल्मीका महासचिव तारा भुसालले जानकारी दिए । पाल्पा जिल्लाको तानसेन नगरपालिकाले बतासे डाँडा र होलाङदीमा गुल्मीबाट जाने साना तथा ठूला सवारीसाधनलाई नियमविपरीत कर संकलन गरिरहेको छ ।
नेपालको सविंधानको धारा २३६ मा स्थानीय तहले सवारीसाधन प्रवेशवापतको रकम उठाउन नपाउने भन्ने स्पष्टसँग उल्लेख गरेपनी तानसेन नगरपालिकाले मनपरी रूपमा शुल्क उठाइरहेको छ । आउँदा र जाँदा गरी साना सवारीको ४० रुपैयाँ र ठूला सवारीसाधनको ८० रुपैयाँ लिएको भन्दै उद्योग वाणिज्य संघले यस विषयको अवेज्ञा गर्ने उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिए ।
ज्ञापनपत्र मार्फत समस्याको समाधान नभए अर्थात् तानसेन नगरपालिकाले केही पनि सुनुवाइ नगरेमा व्यवसायी स्वयं जिल्ला प्रशासन कार्यालय पाल्पा र तानसेन नगरपालिका पुगेर सवारी करको अवेज्ञा गर्नेसमेत जानकारी गराए ।

साथै महासचिव तारा भुसालले स्थानीय तहले मनपरी रूपमा सवारी कर उठाएमा सामान्य सवारी काठमाडौंबाट गुल्मी तम्घास आउँदा ५ हजारभन्दा बढी कर तिर्नुपर्ने भन्दै आक्रोश व्यक्त गरे । तानसेन नगरपालिकाले स्थानीय पूर्वाधार सडक उपभोग शुल्कको नाममा सवारी प्रवेशमा लिइएको रकमको गुल्मी जिल्लाका व्यवसायी, निजी तथा सार्वजानिक सवारीधनीहरूले बिरोध गरिरहेका छन् ।

साथै उद्योग वाणिज्य संघ गुल्मीले गुल्मी जिल्लाको पछिल्लो समयको शान्ति सुरक्षाको अवस्थाको बारेमा पनि चाँसो देखाएको छ । इस्मा गाउँपालिका ३ छिनुवा खोला नजिकै एक व्यवसायीको आफ्नै पसलमा हत्या भएको तर अहिलेसम्म हत्यारा पत्ता नलागेको लगायतका थुप्रै अपराधका घटनाहरू घटेको तर प्रहरी प्रशासनको चाँसो शून्य रहेको भन्दै उद्योग वाणिज्य संघ गुल्मीले ध्यानकर्षण गराएको हो । यस विषयमा प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले सबैले सहयोग गर्नुपर्ने भन्दै खासै चाँसो नदेखाएको पाइएको छ ।
तानसेन नगरपालिकाले मनोमानी रूपमा उठाएको सवारी करको विषयमा भने प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले जिल्ला प्रशासन कार्यालय पाल्पा र पाल्पाको तानसेन नगरपालिकालाई ज्ञापन पत्र पठाएर सहयोग गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्