स्वदेशमा नै भविष्य देखेर लगानी गरेको हुँ «

स्वदेशमा नै भविष्य देखेर लगानी गरेको हुँ

पछिल्लो समय नेपालमा भविष्य नदेखेर रोजगारीका लागि बिदेसिने युवाहरूको भीड बाक्लिँदै छ । कोभिडका कारण स्थगित भएको वैदेशिक रोजगारीका लागि जाने लहर कोभिडपछि पनि फेरि बढ्न सक्छ । तर, स्वदेशमा भविष्य छैन भन्नेहरूका लागि दरिलो उदाहरण दिन सक्षम भएका छन् सप्तरीका सन्तोष आचार्य । आजभन्दा १३ वर्षअघि उनी पनि विदेशमा जाने सपना बुनेरै काठमाडौं छिरेका थिए । विदेशमा गएर धेरै पैसा कमाउने, सुन्दर महल बनाउने र गाडी किन्ने उनका सपना नभएका होइनन् । उनलाई लाग्थ्यो, विदेशमा बाहेक मेरो भविष्य नै छैन । सन् २००९ मा उनी जापान गए । तर, आचार्यको सोच नै परिवर्तन भइदियो, त्यहाँको संघर्ष देखेर । लाग्यो, उनले यतिको मेहनत गरेमा नेपालमा नै केही गर्न सकिन्छ । बिहान उनी कलेज पढाउन थाले । समाजशास्त्रमा स्नातकोत्तर गरेका आचार्यमा केही नयाँ काम गर्नुपर्छ भन्ने सोच उत्पन्न हुन थाल्यो । उनका साथी राजेश घिमिरे मेकअप आर्टिस थिए । बरु ब्युटिपार्लर खोलेर केही गर्छु भन्ने सोच पलायो उनमा । तर, समाजले, परिवारले स्वीकार गर्न सकेन । विरोध पनि भएको उनी सुनाउँछन् । आचार्यमा भएको दृढ आत्मविश्वासले गर्दा नै उनले ब्युटिपार्लर खोले । हाल प्रत्यक्ष रूपमा आठ जनालाई रोजगारी दिएका छन् । भन्छन्, नयाँ कन्सेप्टका साथ अगाडि बढे स्वदेशमा नै केही गर्न सकिन्छ । यसै सन्दर्भमा आचार्यसँग कारोबारले गरेको कुराकानीको सार :

तपाईं त एउटा पुरुष हुनुहुन्छ, नेपाली समाजमा अझै पनि महिला मात्रै ब्युटिसियन हुन्छ भन्ने मान्यता छ, यस्तो अवस्थामा ब्युटिपार्लरमा नै लगानी गर्नुपर्छ भन्ने सोच कसरी आयो त ?
म सप्तरीदेखि विदेश जान भनेर काठमाडौं आएको हुँ । स्नातकोत्तर गरेपछि मात्रै विदेश जाने सपना बुनेर काठमाडौं छिरेको थिएँ । काठमाडौं आएर विदेश जाने मान्छेको भीड देखेर एक्कासि कस्तो किसिमको विचार आयो भने हामीजस्ता मानिसहरू सबै विदेश गएपछि कसले काम गर्छ त ? हामीजस्तो मान्छेले अरूलाई पनि रोजगारी दिनुपर्छ भन्ने विचार आयो । सन् २००९ मा म भ्रमणका लागि जापान गएँ । जापान जानु भनेको त्यतिबेला ठूलै सफलता मानिन्थ्यो । तर, त्यहाँ नेपाली विद्यार्थीहरूको अवस्था देखेपछि बस्न मन नै लागेन । हुन त म पर्यटकका रूपमा भ्रमण गर्न भनेर गएको थिएँ । तर केही अवसर पायो भने उतै पनि बस्छु भन्ने सोच आएको थियो । तर त्यहाँको जीवनस्तर देखेर लाग्यो, यहाँभन्दा त नेपालमा नै राम्रो भविष्य छ । म त नेपालमा कलेज पनि पढाउँथें । मलाई त्यो जीवनस्तर नै मन परेन । म फर्कें । मसँग मेरो साथी राजेश घिमिरे हुनुहुन्थ्यो । उहाँको सानो ब्युटिपार्लर थियो । उहाँ पनि बाहिर जाने भन्नुभएको थियो । हामी दुवै जना मिलेर बरु फरक वातावरणमा फरक किसिमको ब्युटिपार्लर खोल्यो भने त हामीले अलिकति उच्च वर्गका मानिसहरूलाई सेवा प्रदान गर्न सक्छौं भन्ने लागेर नै यो क्षेत्रमा लगानी गर्ने विचार आएको हो ।

यस क्षेत्रमा चुनौती र सम्भावना के छ ?
सम्भावनाभन्दा पनि चुनौती नै बढी थियो । तर मेरो पार्टनर राजेश घिमिरे, जो विदेशबाट तालिम लिएर आउनुभएको थियो, परम्परागत रूपमा मेकअप, हेयर स्टाइलहरू हुँदै आइरहेको थियो । त्यसलाई हामीले परिवर्तन गर्न सक्छौं र मार्केटमा हाम्रो नाम राख्न सक्छौं भन्ने लागेको थियो ।
यो फिल्डमा चाहिँ अझ बढी सम्भावना छ । पहिले ब्युटिपार्लर भनेको एउटा कपाल काट्ने, मेकअप गर्ने सानो ठाउँ हो भन्ने थियो । अहिले यसको कन्सेप्ट नै परिवर्तन भएको छ । बढी आम्दानी भएका व्यक्तिहरूले यो क्षेत्रमा लगानी गरिरहेका छन् । शिक्षित मान्छेहरू पनि आउन थालेका छन् । उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्यो भने त यो क्षेत्रमा सम्भावना धेरै राम्रो छ । तर त्यसका लागि राम्रो क्षमता बनाउन आवश्यक छ ।

पहिला र अहिलेमा कत्तिको परिवर्तन छ त, मेकअप गर्ने मान्छेको बानीमा ?
पहिला मेकअप भनेको एउटा कुनै समारोहमा मात्रै, बिहेमा पार्टीमा मात्रै गरिन्थ्यो । अहिले आएर यो विचार परिवर्तन भइसकेको छ । मान्छेले थोरै मेकअप गरेर अलिकति कपालको स्टाइल परिवर्तन ग¥यो भने पनि त्यसले पार्ने इम्प्रेसन नै फरक हुन्छ । यो त एकदमै महत्वपूर्ण छ अहिलेको अवस्थामा ।

कोभिडले त अझै चुनौती थपिदियो नि ? अहिले के छ अवस्था ?
अब कोभिडभन्दा अगाडि र पछाडि मैले चाहिँ के फरक देखेको छु भने यो एउटा क्रिटिकल अवस्था हो । यसले हरेक क्षेत्रलाई नै असर गरेको छ । हरेक क्षेत्रमा फिल्टर गरेर अब अगाडि लैजान्छ होला जस्तो मलाई लाग्छ । यतिका महिना हामी लगानीकर्ताले त स्टाफ पनि पाल्नु्प-यो, भाडा तिर्नुपर्छ । त्यो गर्न नसके स्टाफले पनि छोडेर जान्छ । चुनौती निकै सामना गर्नुप-यो ।
कोभिडले गर्दा अलिकति केही गरेर अगाडि बढ्न खोज्नेहरूको व्यापार कोल्याप्स हुने सम्भावना पनि मैले देखेको छु । यसले गर्दा फिल्टरचाहिँ हुन्छ । थोरै समय आफ्नै लगानी गरेर अगाडि आउन सक्ने मान्छे मात्रै अगाडि बढ्न सक्छ । नभए त अहिलेको अवस्थामा गाह्रै हुनेछ । कहिलेसम्म ठीक होला भन्ने नै थाहा छैन नि त । नेपाली अवस्थामा कहिलेदेखि हरेक कुरा नर्मल होला भन्न त गाह्रो भयो ।
फेरि धेरै जनाका लागि अहिले त गाँस, बास र कपास नै महत्वपूर्ण छ नि त । अत्यावश्यक आवश्यकता पूरा गर्नतिर लागिरहेका छन् । सुन्दर बन्नु भनेको त मानिसको अत्यावश्यक आवश्यकतामा पर्दैन नि त ! यस कारण पनि हामीजस्ता, जसले ब्युटिपार्लरमा लगानी गरेका छन्, समस्या छ ।
हामीले यो अवस्थामा धेरै क्लाइन्ट लिएका छैनौं । अहिले हामीले चिनेजानेका मानिस मात्रै लिएका छौं । उनीहरूलाई मात्रै सेवा दिएका छौं । फिल्टर गरेका छौं ।

ब्युटिपार्लरबाटै आर्थिक रूपमा कतिको सस्टेन हुँदो रहेछ त ?
राम्रो सर्भिस दिए बाहिर जानु आवश्यक छैन । नेपालमा नै भविष्य छ । राम्रो जानेर राम्रो तरिकाले काम गर्नुपर्छ । आफैं मेकअप आर्टिस भयो भने राम्रो हुन्छ ।

मेकअप गर्न सबैभन्दा बढी कुन उमेर समूहका मानिस आउने गर्छन् ?
विशेषगरी ब्राइडल मेकअपहरू बढी हुन्छ हामीकहाँ । विदेशबाट नेपाल आएर बिहे गर्नेहरू बढी आउने गर्नुहुन्छ ।

भनेपछि यहाँकोमा त विदेशबाट आएका नेपालीहरूले मात्रै मेकअप गर्न सक्छन् भन्न खोज्नुभयो नि ! बढी महँगो भएर हो ? स्वदेशमा बस्ने सामान्य मान्छेको क्षमता नहुने हो ?
मेकअपको अर्थ बुझ्ने नै हाम्रा टार्गेटेड कस्टुमर हुन्छन् । हुन त यहाँ महँगो पनि छ । यसले गर्दा जसले पायो उसले एफोर्ट गर्न सक्दैन । हामी राम्रो सर्भिस पनि त दिन्छौं नि । राम्रो सर्भिसका लागि राम्रो पेमेन्ट पनि त गर्नुपर्छ । तर सामान्य मान्छेले गर्न नपाउने भन्ने पनि हुँदैन, पाउनुहुन्छ । त्योअनुसार उहाँहरूले सर्भिस लिन सक्नुहुनेछ । बिहेको सिजनमा चाहिँ ब्राइडल मेकअप मात्रै लिनेछौं ।

यो क्षेत्रबाट रोजगारीको अवसर कत्तिको सिर्जना भइरहेको छ ?
यस क्षेत्रबाट रोजगारीका प्रशस्त अवसर आउँछ । तर, क्षमता पनि राम्रो हुनुपर्छ । हामीलाई दक्ष जनशक्ति नै पुगिरहेको छैन । जो काम गर्छु भन्ने चाहनुहुन्छ उहाँहरूलाई त अहिले पनि हामीले खोजिरहेका छौं । सिकिसकेपछि आफैं पनि केही गरेर खानचाहिँ सक्छ है यस क्षेत्रमा । अरूमा निर्भर रहनुचाहिँ पर्दैन ।

उसो भए, यस क्षेत्रबाट, रोजगारी वृद्धि, आर्थिक समृद्धि सम्भव छ ?
एकदम राम्रो छ । सेवामात्रै दिए पनि लगानीकर्ताका हिसाबले पनि राम्रो आम्दानी दिन सकिन्छ । एउटा समुदायले दिने ट्याक्सका कुरादेखि, रोजगारीका कुरा हो । सेवामात्रै नभएर एकेडेमिक पनि बनाउने हो अझै बढी रोजगारीका अवसरहरू सिर्जना गर्न सकिन्छ । हामी तालिमहरू पनि दिने गर्छौं । तर, हाम्रोमा एड्भान्स कोर्स मात्रै हुन्छ । कसैको पहिल्यै ब्युटिपार्लर छ र अझै बढी उहाँ क्षमता अभिवृद्धि गर्न चाहनुहुन्छ भने हामी उहाँहरूलाई तालिम दिन्छौं । बेसिक तालिमको व्यवस्थाचाहिँ हामीकहाँ छैन ।

यस क्षेत्रमा कत्तिको प्रतिस्पर्धा बढिरहेको छ त ?
प्रतिस्पर्धा त धेरै नै छ । तर, प्रतिस्पर्धामा अगाडि आउन हामीले राम्रो सर्भिस त दिनैपर्ने हुन्छ । अझ मलाई कोभिडपछि जो लगानी गर्न सक्छ उही मात्रै आउँछ जस्तो लाग्छ, अझ फिल्टर हुन्छ जस्तो लाग्छ ।

यहाँहरूले तालिम पनि दिन्छौं भन्नुभयो, ब्युटिपार्लरको तालिम लिएर वैदेशिक रोजगारीका लागि जान चाहनेहरू कत्तिको भेटिन्छन् ?
हाम्रो ब्युटिपार्लरमा तालिम लिनका लागि अमेरिका, अस्ट्रेलिया जान चाहनेहरू स्पेसल कोर्स गर्न आउनुहुन्छ । विदेश गएर म एउटा कुरामा मात्रै फोकस गरेर काम गर्छु भन्ने हुनुपर्छ । जस्तो म कपाल बनाउन, म नेल आर्टिस्ट, मेकअप आर्टिस्ट मात्रै बन्ने हो भन्ने हुनुपर्छ । सबै पाटोलाई हेर्छु भन्दा झन् उचित नहुन सक्छ । किनकि विदेशमा प्रायः कुनै पनि एउटा पक्षमा राम्रोसँग काम जानेको हुनुपर्छ ।

यहाँ त अरूको प्रेरणाको स्रोत पनि हुनुहुन्छ, यो क्षेत्रमा लाग्न चाहनेहरूलाई कस्ता सुझाव दिनुहुन्छ ?
यो क्षेत्रमा युवा पुस्ताहरूको आकर्षण बढिरहेको छ । पहिला–पहिला त केटीले मात्रै ब्युटिपार्लर खोल्ने भन्ने हुन्थ्यो । तर हामीले कन्सेप परिवर्तन गर्न सक्षम भयौं । हुन त सुरुवाती चरणमा केटाले ब्युटिपार्लर सञ्चालन गर्ने भन्नेबित्तिकै समाजले पचाउन सक्दैनथ्यो । अहिले सुधार भएको छ । सोचाइ परिवर्तन भइरहेको छ ।
केटाले ब्युटिसियन कोर्स गर्छु भन्दा घरले पनि मान्दैन नि त । तर, अहिले बाहिर जान पनि सहज भयो । बाहिर गएर सिकेर आउन सक्थ्यो । हरेक कुरामा अवसर छ नि अहिले त । यो पनि एउटा राम्रो अवसर त हो । अरू पनि अवसरहरू छन् । लुगा डिजाइन गर्न पनि युवा पुस्ताहरू अगाडि आउन थालेका छन् । अब समाजले पनि त स्वीकार गर्न थालेका छन् ।

अन्त्यमा केही भन्नु छ ?
मैले धेरै वर्ष पढाएँ । धेरैको मानसिकता पनि बुझें । पहिला–पहिला त मलाई पनि गाइडलाइन थिएन । संघर्ष आफैं गरे । अहिलेको पुस्ताले नयाँ जागिर आफैंले क्रियट गर्न सक्छ । तर कतिले त अझै पनि विदेश गएर पैसा कमाउने सोचाइ राख्न छोडेका छैनन् । स्वदेशमा नै केही गर्न सकिन्छ भन्न चाहन्छु । जुन बजारमा चलेको छ त्यही ट्रेन फलो गर्नुपर्छ भन्ने छैन । विदेश जाने भनेको क्षणिक हुन्छ । राम्रो गरेमा जुनसुकै क्षेत्रमा काम गरे पनि राम्रो छ । बाहिर गए पनि क्षमता बनाएर जानु जरुरी छ । पढाइसँगै स्किलको तालिम लिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्