गण्डकीमा १७ हजारभन्दा बढीलाई कोरोना खोप लगाइँदै «

गण्डकीमा १७ हजारभन्दा बढीलाई कोरोना खोप लगाइँदै

पोखरा- गण्डकी प्रदेशका ११ जिल्लामा पहिलो चरणमा १७ हजार ३ सय ९६ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।
गण्डकी प्रदेशमा भित्रिएको ३९ हजार १ सय ३९ मध्ये संघीय सरकारले निर्धारण गरेबमोजिम पहिलो प्राथमिकताको आधारमा अग्रभागमा रहेका १७ हजार ३ सय ९६ जना स्वास्थ्यकर्मीलाई खोप लगाइने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
यसका लागि आवश्यक तयारीसहित प्रदेशका सबै जिल्लाका केन्द्रहरुमा खोप पु-याइसकिएको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बताइन् । माघ १४ देखि १८ गतेभित्रमा पहिलो चरणमा उक्त खोप दिइनेछ ।
बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बिहान १० बजे खोप लगाएर शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्