प्रदेश–१ मा कृषि विकास कार्यक्रम सुरु «

प्रदेश–१ मा कृषि विकास कार्यक्रम सुरु

टीएमपीपीअन्तर्गत पर्साको छिपहरमाई गाउँपालिका–२ टिहुँकीमा निर्माणाधीन बर्थिङ सेन्टर- तस्वीर : निरज पिठाकोटे मगर ।

विराटनगर-प्रदेश–१ मा कृषि व्यापारमा नवीनता प्रवद्र्धन गर्न र सेवालाई प्रभावकारी रूपमा अघि बढाउन नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) को दोस्रो चरण सुरु भएको छ ।
प्रदेश–१ को भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय तथा स्विस एजेन्सी फर डेभलेपमेन्ट एण्ड कोपरेसन (एसडीसी) को संयुक्त व्यवस्थापनमा सो कार्यक्रम सुरु भएको हो । सहज कार्यक्रमले कृषि सेवा, गैरकृषि सेवा तथा व्यावसायिक वातावरण निर्माणमा जोड दिएको छ । यसबाट कृषि क्षेत्रमा रहेका अवरोध पहिचान र सम्बोधन गर्न कृषि सेवाका लागि नवीनता प्रदान तथा मूल्य श्रृंखला अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विराटनगरमा आयोजित शुभारम्भ कार्यक्रमका सहभागीले सहज कार्यक्रमले बजारसँगको सम्बन्ध अगाडि बढाउन वृद्धि र लगानीमा केन्द्रित गर्नुपर्ने, देशको व्यवसायिकीकरणलाई सुदृढ गर्ने, प्रशोधन गर्ने र निर्यातका लागि मूल्य श्रृंखला वृद्धिमा जोड दिनुपर्ने बताएका थिए । कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले सुरु भएको परियोजनाले प्रदेश–१ को कृषिको व्यवसायिकीकरण र निर्यातमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । “हाम्रो प्रदेशमा निर्यातका लागि सम्भावित प्रशस्त कृषि उत्पादन छन्, यस परियोजनाले निर्यातका लागि महतवपूर्ण भूमिका खेल्नेछ,” उनले भने, “मन्त्रालय संघीय सरकारसँग सम्बन्ध गरी कृषि क्षेत्रको विकासका लागि सबल वातावरण निर्माणका लागि प्रतिबद्ध छ ।”
एसडीसीका कार्यक्रम व्यवस्थापक कोराली ब्लुनियरले सहजको दोस्रो चरणको कार्यक्रम तरकारी, मकै, अलैंची, दूधको मूल्य श्रृंखलाको विस्तार र बजारीकरणको निरन्तरता दिन र विकास गर्न केद्रित हुने बताइन् । उनका अनुसार, सहज कार्यक्रम सम्भावित साना तथा मझौला कृषि व्यवसायलाई नवीनता प्रदान गर्न, उत्पादनलाई वृद्धि गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु-याउनका लागि उत्पादन गुणस्तर अभिवृद्धिका लागि सहयोगी हुनेछ । परियोजनाबाट प्रत्येक वर्ष श्रम बजारमा आउने युवालाई रोजगारी सिर्जना गर्न तथा किसानको आम्दानी वृद्धिमा सहयोग हुने अपेक्षा गरिएको छ ।
सन् २०२० देखि नेपाल र स्वीजरल्याण्ड सरकारबीच सम्झौता भई चार वर्षका लागि सुरु भएको सो परियोजनाले समग्र कृषि क्षेत्रको व्यवसायीकरण गर्न र बजारीकरण गर्नका लागि सहयोग पुग्ने दोस्रो चरणको कार्यक्रमका टोली नेता रिक भ्यानडर कम्पले बताए । परियोजनाका अनुसार, पहिलो चरणको कार्यक्रमबाट १ हजार ८ सयले नयाँ रोजगारी पाएको र कृषि क्षेत्रमा भएका ५० प्रयासबाट ४५ हजार ८ सय घर परिवारको आय बढेको छ ।

प्रतिक्रिया दिनुहोस्