कृषिमा विदेशी लगानीको विरोध किन ?

लगभग एक दशकजति अघि मैले नेपालको ट्रक व्यवसायको अध्ययन गरेको थिएँ । जुन रुटमा बढी चर्को ‘सिन्डिकेट’ थियो, त्यहाँ औसतमा ट्रकहरू अलि पुराना थिए, सेकन्ड ह्यान्ड ट्रकको मूल्य बढी थियो । अर्कातिर ट्रक व्यवसायीहरू धेरैजसो सानो उमेरमा त्यो व्यवसायमा कामदारका रूपमा प्रवेश गरेका (खलासी, ड्राइभर आदि) थिए । प्रतिस्पर्धा भएर आफ्नो आम्दानीको स्रोत सुक्यो भने जीवन त्यही क्षेत्रमा बिताएका तिनीहरूसँग अरू वैकल्पिक क्षमता विकास गर्न समय वा चाहना थिएन । लगभग दुईतिहाइ ट्रक मालिकहरूसँग एउटा मात्र ट्रक थियो र अधिकांशका छोराछोरीमा त्यो व्यवसायलाई निरन्तरता दिने सोचाइ थिएन । अर्थात् एकातिर सडकहरू असुरक्षित थिए, ट्रकिङ सेवाको मूल्य चर्को थियो भने अर्कातिर यो सब बेथितिबाट जसले फाइदा गरेका थिए, भनिन्थ्यो तिनीहरू पनि सन्तुष्ट थिएनन् ।
तर हेर्दै जाँदा काठमाडौंका अन्य क्षेत्रमा पनि यो स्थिति थियो । २०४० को दशकमा खुलेका बोर्डिङ स्कुलका मालिकहरूसँग अकुत सम्पत्ति थियो । तर, तिनका छोराछोरीले ती स्कुल चलाउने सम्भावना कम थियो । एक जना सफल बोर्डिङ स्कुलका सञ्चालकले आफ्ना २१ जना मालिक साथीहरू सबैजसो अर्बपति भए पनि तीमध्ये १८ जना कम उमेरमै बितेको कुरा मलाई सुनाए । लगानी थप्ने जोस धेरै व्यवसायीमा थिएन, भएकाले लगानी थप्ने भनेकै जग्गामा थियो । मान्छेहरूलाई अन्य कुनै क्षेत्रको पनि विश्वास थिएन, ट्रक मालिक, बोर्डिङ स्कुल मालिकजस्तै अन्य हरेक क्षेत्रका मालिकहरूले आफूले केही कमाएमा ‘रिइन्भेस्ट’ गर्ने, कम्पनी ठूलो बनाउने, भारतको बजार क्याप्चर गर्नेतिर लाग्नुभन्दा यही जग्गामा थप लगानी गरेका भेटिए । सरकारले पुनर्लगानीका लागि दिने सुविधा पनि खासै केही छैन । त्यसैले देशमा साना उद्योग मात्र छन् र ती सबै ठूला लगानीकर्तासँग डराउँछन् ।
ट्रक उद्योगजस्तै अन्य उद्योगमा पनि सिन्डिकेट बनाएर आफ्नो व्यवसाय बचाउन सकिन्छ भन्ने सोचाइ व्याप्त थियो । एक कार्यक्रममा एक जना पाँचतारे होटलकै मालिकले अब अन्य पाँचतारे होटललाई लाइसेन्स दिनु हुँदैन भन्ने तर्क गरेको सम्झन्छु । बैंक, बिमा कम्पनीमा लाइसेन्स राज त छँदैछ, निजी अस्पताल, निजी स्कुल पनि खोल्न दिनु हुँदैन भनेर त्यहाँ पनि नयाँँलाई छिर्न नदिने निर्णय एकताका भएको थियो । जलविद्युत्को नयाँँ बजारको सम्भावना खोज्ने भन्दा लाइसेन्स बन्द गर्नेमै जोड देखिइराख्छ । मैले केही वर्षअघि अध्ययन गर्दा भन्सारको एजेन्टको लाइसेन्स नयाँँ नदिएको धेरै भएको थियो, अहिले स्टक मार्केटमा ब्रोकरेजको लाइसेन्स नदिएको धेरै भएको छ ।
यसरी उद्योगधन्दामा स्वदेशी लगानी त रोकेर राखिएको छ भने विदेशी लगानीको कुरा नगरौं । कृषिकै कुरा गरौं ।
देशमा प्रविधिको अभावको अवस्था यस्तो छ कि लामो समयसम्म पूर्वी नेपालको अदुवा निर्यात गर्दा मुलुकभित्र सफासमेत नगरी निर्यात गरिने स्थिति थियो । यसरी मुलुकभित्र ‘भ्यालु एडेड’ उत्पादन हुने अवस्था भएन । स्वदेशी उपभोक्ताका सास्ती त झन् अनगिन्ती छन् । बजारमा गयो भने अरू सबैजसो देशमा दूधको बोतल किन्यो, घरमा ल्याएर खायो गर्न सकिन्छ । यहाँँ काठमाडौंमा पनि दूध किन्न ‘चिनेको’, ‘पक्का’ मानिस खोज्दै हिंड्नुपर्छ । अरू देशमा सुन्तलाको जुस किन्नुप-यो भने नट फ्रम कन्सन्ट्रेट जुस सजिलै बजारमा पाइन्छ, यहाँँ बजारमा विदेशबाटै ल्याएको कन्सन्ट्रेट जुस अमेरिकाभन्दा धेरै महँगो मूल्यमा किन्नुपर्छ । तल्लो गुणस्तरका सामान महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ र पनि किसानहरू गरिबीमै छन् ।
स्वदेशी उद्योगपतिहरू, किसानहरूलाई बचाउनुपर्छ भन्नेमा दुईमत छैन, तर त्यसका लागि विदेशी लगानी रोक्नुपर्छ भन्ने हैन । हाम्रो मुख्य लक्ष्यसँगसँगै कसरी सस्तोमा उपभोक्तासम्म गतिलो सुविधा पु-याउने भन्ने हुनुपर्छ । यो एउटालाई रोकेमात्र अर्को फलिफाप हुने जिरो सम गेम हैन ।
—विश्व पौडेल (फेसबुकबाट साभार)