‘माउन्ट केटू’ आरोहण टोलीलाई राष्ट्रिय सम्मान «

‘माउन्ट केटू’ आरोहण टोलीलाई राष्ट्रिय सम्मान

बोतल अक्सिजनबिनै चढेका थिए पुर्जा

विश्वको दोस्रो अग्लो माउन्ट केटू हिमाल हिउँदे सिजनमा आरोहण गरी कीर्तिमान कायम गर्ने निर्मल पुर्जा सहितको टोलीलाई सरकारले सम्मान गरेको छ । आरोहण गरेर स्वदेश फिर्ता भएको टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सम्मान गरेका हुन् ।
कीर्तिमानी आरोही पुर्जा नेतृत्वको टोलीले अघिल्लो साता ८,६११ मिटर उचाइको माउन्ट केटू हिमाल आरोहण गरेको थियो । आरोहणका क्रममा पुर्जाले भने बोतल अक्सिजनबिना नै हिमालको आरोहण गरेका थिए । टोलीको सम्मानपछि प्रधानमन्त्री ओलीले नेपाली टोलीले केटू हिमालको आरोहण पूरा गरेर नेपालको नाम उचाईमा पु-याएको र आगामी दिनमा हिमाल आरोहणबारे सरकारलाई औपचारिक जानकारी गराएमा सरकारले सहयोग गर्ने बताए ।
मंगलबार काठमाडौं अवतरण गरेको टोलीलाई सरकारको तर्फबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादव कोइरालाले स्वागत गरेका थिए । टोलीलाई नेपाल पवतारोहण संघ, नेपाल पर्यटन बोर्ड लगायतका संघसंस्थाले सम्मान गरेका थिए । केही दिनअघि आरोही टोलीलाई पाकिस्तानी राष्ट्रपति डा. अरिफ अल्भीले समेत बधाई दिएका थिए ।
केटु हिमाल आरोहणका लागि गएका ६० भन्दा बढी नेपालीमध्ये पुर्जासहित १० नेपाली आरोहीको टोलीले सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । “पुर्जाको नेतृत्वमा हामी ६ जना हिमाल आरोहणको लागि गएका थियौं,” आरोहण दलका मिङ्मा डेबिट शेर्पाले भने, “नेपाली आरोहण टोलीमा भने हामी कूल १० नेपाली रहेका थियौं ।’ उनका अनुसार अन्य ९ आरोहीले बोतल अक्सिजनको प्रयोग गरे पनि पुर्जाले बोतल अक्सिजनबिना नै आरोहण पूरा गरेका थिए । “२१ डिसेम्बर (२६ पुस)मा हिमाल आरोहणतर्फ पाइला (ट्रेक सुरु) अगाडि बढाएको २४ दिनपछि सफलता हात प¥यो,” शेर्पाले भने, “यसअघि यो सिजनमा आरोहण गर्न विभिन्न समूहले ४५ पटक प्रयास गरेको भए पनि सफलता हात परेको थिएन । ४६ औं प्रयास हामीले ग-यौं र सौभाग्यवस सफल भएर कीर्तिमान कायम गर्न सक्यौं ।”
पुर्जासहति ६ जनाको टोली आरोहणको लागि करिब २ करोड रुपैयाँभन्दा बढी खर्च गरेको थियो । चुचुरोमा माइनस ६५ डिग्री सेल्सियस तापक्रम तथा अत्यधिक हावाको वेगलाई चिर्दै टोलीले सामूहिक राष्ट्रिय गान गाउँदै आरोहण गर्न सफल भएको शेर्पाको भनाई छ । ३ पुस (डिसेम्बर १८) मा हिमाल आरोहणको लागि गएको टोलीलाई टोलीले ३ माघमा (जनवरी १६ मा) साँझ ५ बजे सफल आरोहण गरेको थियो ।
सन् २०१९ मा ६ महिनाको अवधिमा समेत पुर्जाले सगरमाथासहित विश्वका १४ हिमालको आरोहण गरेर कीर्तिमान कायम गरेका थिए । आरोही पुर्जाले सामूहिक प्रयास, सकारात्मक सोचले सफलता हासिल गर्न सकिने विश्वास व्यक्त गरे ।
आरोहण गर्ने तीन नेपाली आरोहण दलका १० आरोहीमा इलाइट हिमालय एड्भेन्चरको व्यावस्थापनमा निर्मल पुर्जाको आरोहण दलमा मिङ्मा डेबिट शेर्पा, ग्याल्जेन शेर्पा, दावा तेम्बा शेर्पा, मिङ्मा तेन्जी शेर्पा र पेम चिरी शेर्पासहित ६ जना थिए । सेभेन समिटबाट सोना शेर्पा र इम्याजिन नेपाल आरोहण दलबाट तेन्जिङ शेर्पा, मिङ्मा जी, दावा किलु पेम्बा शेर्पा थिए ।

प्रतिक्रिया दिनुहोस्