सिंजा : अब पर्यटन गन्तव्य «

सिंजा : अब पर्यटन गन्तव्य

जुम्ला : खस भाषा र तथा मौलिकता बोकेको जुम्लाको सिञ्जा सभ्यता नेपालका पर्यटकीयको सूचीमा परेको छ । भाषा साहित्यको एक मात्रै महत्व बोकेको सिञ्जा–सभ्याता यतिखेर संकटमा पर्दै गएको छ । यहाँका शिलालेख, ऐतिहासिक स्थलहरू, पाण्डवगुफा, विराट दरबार, कनकासुन्दरी मन्दिरलगायत यहाँका काष्ठकला सबै बेवारिसे अवस्थामा छन् । अहिले तिनको भग्नावशेष मात्रै भेटिन्छ ।
सिञ्जा सभ्यताको संरक्षणतर्फ अहिलेसम्म नराज्यको ध्यान गयो, नचत, कुनै गैसस अनि स्थानीयको । सरकारी पक्षबाट पर्यटन प्रवद्र्धनका कुरा गरेपनि अहिलेसम्म सिञ्जा सभ्यता संकटमा पर्दै गएको देखिन्छ । एैतिहासिक महत्व झल्काउने सिञ्जा सभ्यता संकटमा पर्दा यहाँका स्थानीय चिन्तित छन् ।
‘सिञ्जा सभ्यता’ संकटमा पर्दै गएकोमा प्रति विगतदेखि हालसम्म चिन्ता व्यक्त गर्दै आएका सिञ्जा कनकासुन्दरीका ८१ वर्षीय धनलाल हमालले अहिले खुसी व्यक्त गरेका छन् । तर, सबै सिञ्जा सभ्यतासँग जोडिएका सम्पदा संरक्षण नभए पनि पर्यटकीय गन्तव्यको सूचीमा परेको भन्दै खुसी व्यक्त गरेका हुन् । पटक–पटक सिञ्जा सभ्यताको संरक्षणका विषयमा पहल गर्दा पनि सुनुवाइ भएन ।
तर, अहिले पर्यटकीय गन्तव्यमा सिञ्जा सभ्यता परेपछि जुम्ला बासी खुसी छन् । पर्यटकीय क्षेत्रको सम्भवाना अथाह भएको जुम्ला सिञ्जा क्षेत्र मात्रै सूचीमा पर्नु दुखद् पक्ष भएको नागरिक समाज अध्यक्ष राजबहादुर महतले बताए । कृषि पर्यटन, धार्मिक पर्यटन, भाषा तथा संस्कृति पर्यटन जुम्लामा अथाह छ ।
तर, पनि सूचीमा सिञ्जा सभ्यता पर्यो, स्थानीय धनलाल प्याकुरेले भने, सिञ्जा सभ्यता नेपालीको शान हो, सबै सम्पदाको संरक्षण गरी पर्यटन गतिविधि बढाउन स्थानीय सरकारलाई उनको सुझाव छ ।
अहिले सिञ्जाका शिलालेख, ऐतिहासिक स्थलहरू, पाण्डवगुफा, विराट दरबार, कनकासुन्दरी मन्दिरलगायत सबै क्षेत्र ओजेलमा छन् । रारा पर्यटन वर्ष घोाषण भएपछि पर्यटकको घुइँचो हुन्छ सिञ्जा सभ्यताको अवलोकन गर्न, तर सम्पदाको संरक्षण नहुँदा समस्या भएको छ एैतिहासिक महत्व बोकेका क्षेत्रको भग्नावषेस त भेटिन्छ तर संरक्षण गर्नु पहिलो आवश्यकता खट्किएको छ ।
‘सिञ्जा सम्पन्न र पहुँच भएको राज्य भएका ऊ बेला विकास गर्न सकिएन, सभ्यताको महत्व पनि बुझ्न सकिएन, अहिले केन्द्रीकृत राज्य भइसकेपछि सिञ्जाले चाहेको कुरा पनि पाउन सकेको छैन, बल्ल पर्यटन गन्तव्यको सूचीमा पर्दा ढिलै भए पनि न्याय भएको पाण्डवगुफा ३ की उर्मिला खत्रीले बताइन् । बलिराजाको पालादेखि शक्तिशाली राज्य बनेको सिञ्जा सभ्यता महत्व हराउँदै जाँदा संकटमा पर्यो, तर अहिले बल्ला सरकारको ध्यान गएको उनको भनाइ छ । हामी आफैंले सिञ्जा सभ्यताको संरक्षण, प्रवद्र्धन,
जोगेर्ना गर्नु आवश्यक छ । सिञ्जा सभ्यताका अनुसन्धानकर्ता बासुदेव उपाध्यायले भने, “नेपालमा बोलिने सम्पूर्ण भाषाको सरकारले संरक्षण गरेको छ, तर नेपाली भाषाको उत्पत्ति भएको खस भाषाको विषयमा सरकार सुन्न पनि चाहँदैन, चासो पनि नदिएको उनको गुनासो छ । पर्यटकिय गन्तव्यमा पर्दैमा, सभ्यताको न्याय हुन्छ भन्न सकिँदैन ।”
कर्णाली प्रदेशको केन्द्र सिञ्जालाई नेपाली भाषाको उद्गम स्थल मानिन्छ । सिञ्जाबाट जारी भएका ताम्रपत्र, स्वर्णपत्र, शिलालेखहरूमा त्यस बेलाको पहिलो नेपाली भाषाको विकसित रूप फेला परेकाले सिञ्जालाई उद्गम स्थल भनिएको संस्कृतिका जानकार एवं खस भाषाका अध्ययनकर्ता रमानन्द अचार्यले बताए । उनले साविकको जिल्ला विकास समिति जुम्लाको सहयोगमा खस भाषाको शब्दकोश समेत बनाइरहेका छन् । उनले ‘खसिया आखर’ नामक खस भाषाको शब्दकोश लेखिरहेका छन् । जसले सिञ्जा सभ्यताको वर्णन गरेको छ ।
सिञ्जा सभ्यताको इतिहास
आजभन्दा ३४६० वर्षअघि अर्थात् इशापूर्व १४४५ मा राजा जालन्दरले सिञ्जा राज्य स्थापना गरेका थिए । राजा जालन्दरले शिवका भक्त भएकाले शिवको अघिल्लो अक्षर सि र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’बाट जोडेर सिञ्जा नाम रहन गएको जनश्रुति भेटिन्छ  । जालन्दरकी रानी वृन्दाले बास गरेको भनी सिञ्जामा अहिले पनि पूजा गरिने देवीलाई वृन्दावासिनी भनिन्छ ।
पुराणहरूमा वृन्दालाई पतिव्रता र तपस्वी नारीका रूपमा चित्रण गरिएको पाइन्छ,’ स्थानीय पूर्णप्रसाद धिताल भन्छन्, ‘यिनै वृन्दाको नाम अपभ्रंश हुँदै खस भाषामा बिन्नैनी उच्चारण गरिन्छ  । खस राजा नागराजले र उनका उत्तराधिकारीले सिञ्जा नगरमा करिब ३०० वर्षसम्म शासन गरेका थिए । खस राजाले पूर्वमा नेपाल उपत्यकामा दुईपटकभन्दा बढी आक्रमण गरी करत राज्य बनाएको र पश्चिमका कुमाउ, गडवालसम्मका राज्यलाई आफ्नो साम्राज्यभित्र पारेको इतिहास छ ।
खस राजा नागराज र उनका उत्तराधिकारीले सिञ्जा नगरमा करिब ३०० वर्षसम्म शासन गरेका थिए ।’ त्यस अवधिमा सिञ्जा क्षेत्र राजधानी मात्र होइन एक चर्चित सभ्यताका रूपमा विकास भएको इतिहास छ । यिनै खस राजाहरूले पूर्वमा नेपाल उपत्यकामा २ पटकभन्दा बढी आक्रमण गरी करत राज्य बनाएको र पश्चिमका कमाउ गरुवालसम्मका तमामा राज्यहरूलाई आफ्नो साम्राज्यभित्र पारिसकेको पाइन्छ ।
सिञ्जा सभ्यता विकासको लामो शृंखला छ । सामाजिक व्यवस्था, ब्राह्मणको उच्च स्थान, सिञ्जा सभ्यतामा दरबारसम्म पहुँच भएका ब्राह्मणहरूले राज्यबाट भूमि दान वा कृपा प्राप्त गरेका थिए । तिनीहरूलाई राज्यको कर लाग्दैनथ्यो । राजकाजमा सल्लाहकार राजदूत, धर्माधिकारी, न्यायाधिकारी र प्रशासनिक कर्मचारीमा ब्राह्मणहरू कार्यरत रहेको इतिहास भेटिने गरेको पूर्णप्रसाद धितालले बताए ।
धार्मिक पर्यटन पनि प्रचुर
राज्यको राजधानी रहेको सिञ्जा आफैंमा महत्वपूर्ण स्थान हो । कर्णाली प्रदेशका खस ब्राह्मण, क्षेत्री, ठकुरी, कामी, दमाई, सुनार, सार्की, संन्यासी आदिहरू मष्टो मान्ने भएकाले यिनीहरू प्रकृतिपूजक हुन्, जुन तराईका ब्राह्मण, क्षेत्री आदिले मान्ने देवताभन्दा सर्वप्राचीन हुने भनेर विद्वान्हरूले लेखेका छन् ।
यसबाट कर्णालीका खसहरू आदिवासी हुन भन्न सकिन्छ र उनीहरूको सभ्यता पनि आफ्नै खाले छ । बहुजातिय नेपालीको पहिचान पनि सिञ्जा सभ्यताबाट दिइएको छ । हरेक पर्वको मर्मअनुसार मनाउने तरिका सबै पुरानै छ भने धार्मिक पर्यटनको सम्भवाना भएपनि ओजेलमा छ ।
सिञ्जाका राजा पृथ्वीमल्ल लगायतका राजाको ताम्रपत्र, कनकपत्रमा करको उल्लेख भएबाट मुलुकमा करको चलन सिञ्जाबाटै भएको अनुमान गर्न सकिन्छ । सिञ्जालगायत कर्णाली प्रदेशमा मध्यकालमा निर्माण भएका ढुंगे देवल, मुग्राहा, वीरखम्ब, कीर्तिखम्बहरूले पनि सिञ्जा सभ्यताको ऐतिहासिक झलक देखाउँछ । सम्भावाना तथा एैतिहासिक महत्व बोकेको सिञ्जा सभ्यताको संरक्षण तथा प्रबद्धनमा गाउँपालिकाले विशेष योजना अघि सार्ने सिञ्जा गाउँपालिका अध्यक्ष देवल सिंह रावलले बताए ।
उनले भने,प्रयाप्त बजेट छुटाएर सिञ्जा सभ्यता संग जोडिएका सम्पदाको सरंक्षण गर्ने उनको भनाई छ । भने, सिञ्जा क्षेत्रमा पर्ने हिमा र कनकासुन्दरी गाउँपालिकाले पनि सिञ्जा सभ्यताको विकास लागि हातोमालो गर्ने प्रतिबद्धता जनाएका छन् । पर्यटन गन्तव्यका रुपमा सिञ्जा सभ्यता परेपछि स्थानीय सरकारको घैटोमा बल्ल घाम लागेको जानकारहरू बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्