बाढीपहिरो पिडितलाई अमेरिकाबाट २४ लाख बढी सहयोग «

बाढीपहिरो पिडितलाई अमेरिकाबाट २४ लाख बढी सहयोग

लमजुङको मध्यनेपाल नगरपालिका अन्तर्गतका बाढीपहिरो पीडितहरूलाई अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । गत बर्खामा आएको बाढी र पहिरोले मध्यनेपाल नगरपालिकास्थित लामासोती पुरानो डिही क्षेत्रका अधिकांश घरपरिवार बिस्थापित भएपछि उनिहरूलाई पुनःस्थापित गराउने उद्देश्यले अमेरिकाबाट सहयोग उपलब्ध गराइएको हो ।
मध्यनेपाल घर भई हाल अमेरिका रहनुभएका प्रमोद घिमिरेको संयोजकत्वमा गठित करापुटार अमेरिका समूहले २४ लाख २९ हजार एकसय ५९ रुपैयाँ संकलन गरेको थियो । सो रकम संकलनका लागी गुगलमा कार्यरत सुयोग सोतिलाई गो फण्ड आयोजक बनाइ ब्यापक सम्पर्क र संयोजनका लागी करापुटार अमेरिका समूह लागी परेको थियो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा लमजुङसँग समन्वय गरी शाखाको बैँक खातामा उक्त रकम जम्मा गराइएको थियो । रेडक्रस जिल्ला शाखाले पनि बाढि पहिरो पीडितहरूका लागि मध्यनेपालका स्थानिय समाजसेवी खगराज घिमिरे, रमेशचन्द्र घिमिरे र चित्रा थापाको नाममा संयुक्त खाता खोली रकम हस्तान्तरण गरेको हो ।
शुक्रबार प्रमुख जिल्ला अधिकारीको प्रमुख अतिथ्यतामा एक औपचारिक कार्यक्रम गरी सो रकम बरावरको चेक खातावाला तिनैजनालाई संयुक्तरुपमा हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा जिल्लाका राजनैतिक दल, रेडक्रस पदाधिकारी र जिल्लाका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
संकलित रकममध्ये समूहले रेडक्रस लमजुङ शाखालाई २० हजार रुपैँया सहयोग गरेको छ भने बाँकी २४ लाख नौहजार एकसय ५९ रुपैँया बाढीपहिरो पिडितहरूको सहयोगका लागी प्राइम बैँकमा खोलिएको संयुक्त खातावालालाई हस्तान्तरण गरिएको छ । उक्त रकम पारदर्शी रुपमा पीडितहरूमाझ पुर्याउने खातावालाहरूले प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्