म्याङलुङ सडक कालोपत्रेको काम तीव्र «

म्याङलुङ सडक कालोपत्रेको काम तीव्र

तेह्रथुम-सिधुवा–शुक्रबारे–ओख्रे सडक हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुँदा नागरिक पीडाले ग्रसित थिए । करिब ३ दशकपहिले खोलिएको सिधुवा–शुक्रबारे–ओख्रे सडकको अवस्था देखेर आजित थिए जिल्लाको पश्चिमी क्षेत्रका नागरिक । वर्षात् सुरु भएपछि एम्बुलेन्ससम्म पनि सञ्चालनमा आउन नसक्दा घण्टौ लामो बाटो बिरामीलाई बोकेरै उपचारमा पु¥याउनु यहाँको बाध्यता नै थियो । हिउँदमा सडक मर्मत भए पनि वर्षात् सुरु भएपछि अवस्था उस्तै हुन्थ्यो । कोसी राजमार्गसँगै जोडिएको सिधुवा, शुक्रबारे, ओख्रे, म्याङलुङ सडकको अवस्था फेरिने भएको छ ।
२०७६ मंसिर ९ गते प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेको सडक यतिबेला तीव्र रूपमा कालोपत्रे निर्माणको काम भइरहेको छ । कोरोना भाइरसका कारण करिब ९ महिना काम रोकिँदा सडक निर्माणले गति लिन सक्दैन कि भन्ने चिन्ता थियो यहाँका नागरिकलाई । ९ महिनापछि काम पुनः सुरु हुन थालेपछि यहाँका नागरिकलाई आशा पलाएको छ । सिधुवा–शुक्रबारे–ओख्रे सडक १६ किलोमिटर कालोपत्रे हुने भएपछि सहज रूपमा यात्रा गर्न सकिने भएको स्थानीय रामकुमार श्रेष्ठले बताए । सडक निर्माणका लागि ओसिस जेबी काठमाडांैले काम गरिरहेको सडकमा कटिङ, ग्याबिङ, नाली निर्माणलगायतका काम भइरहेको छ । आगामी २०७८ असार मसान्तभित्र काम सम्पन्न गर्ने गरी कम्पनीले टेन्डर पारेको थियो । अहिलेसम्म ३० प्रतिशत काम भएको र आगामी दसंैसम्म सम्पूर्ण काम सम्पन्न गरी हस्तान्तरण गर्ने गरी कामलाई तीव्रता दिँदै आएको कम्पनीका इन्जिनियर सुरेशप्रसाद शाहको भनाइ छ । ७० करोड लागतमा यो सडक कालोपत्रे भइरहेको छ । जिल्लाको पश्चिमी क्षेत्रसँगै पाँचथरको विभिन्न गाउँसँग जोडिएको यो सडकमा दैनिक ४ वटा यात्रुबाहक बस सञ्चालनमा छन् ।
सडकको गुणस्तरियता र समयमै सडक सम्पन्न गर्न निरन्तर रूपमा सम्बन्धित कम्पनी र सरोकारवालासँग संवाद भइरहेको छथर गाउँपालिकाका अध्यक्ष शन्तवीर लिम्बुले बताए । सडककै कारण वर्षेनी हैरानी खेपिरहेका यहाँका नागरिकलाई यो सडक निर्माणले खुसी छाएको छ । सवारी साधान सञ्चालनका लागि भरपर्दाे सडक नहुँदा यहाँका नागरिकले उत्पादन गरेको कृषिजन्य सामग्री वर्षेनी करोडांै रुपैयाँ ढुवानीकै समस्याका कारण गुमाउँदै आएका थिए ।
जिल्लाको पश्चिमी क्षेत्रमा सडक सञ्जालले जोडिएको दशकौं बितिसक्दा पनि यहाँका सडकमा कालोपत्रे हुन नसक्दा यहाँका नागरिक समस्याले ग्रसित बन्दै आएका थिए । सडक कालोपत्रे हुने भएपछि यहाँका नागरिकको जीवनस्तरमा पनि सुधार हुने देखिएको छ । छथरे नागरिकको भविष्य नै यो सडकसँगै जोडिएको हुनाले सडक निर्माणले आयआर्जनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । यहाँ रहेका पर्यटकीय गन्तव्यमा पर्यटक आउनसमेत सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्