Logo

सल्यानका तीन विद्यालय एक साताका लागि बन्द

मेघा रेउले
सल्यानका शिक्षक र विद्यार्थीहरूमा कोरोना भाइरसको संक्रमण देखिएपछि तीनवटा विद्यालय एक साताका लागी बन्द गरिएको छ ।
जिल्लाको बनगाड कुपिन्डे नगरपालिकामा रहेका प्रभाकर माध्यमिक विद्यालय देवस्थल, मुक्ति माध्यमिक विद्यालय हिले पोखरी र गंगा प्राथमिक विद्यालय अम्रा विद्यालय बन्द गरिएको प्रभाकर माविका प्रधानाध्यापक शिखर यरीले जानकारी दिए । यरीका अनुसार शिक्षक र विद्यार्थी गरी १६ जनामा कोरोना संक्रमण देखिएपछि एक साताका लागि विद्यालयहरू बन्द गरिएको हो ।
तीनवटा विद्यालयका ४६ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा शिक्षक र विद्यार्थी गरी १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । नगरपालिकाले प्रभारक माध्यमिक विद्यालयमा आइसोलेसन बनाएको र कोरोना भाइरस निर्मलीकरणको काममा लापरबाहीका कारणले पनि विद्यार्थी र शिक्षकमा कोरोना देखिएको हुनसक्ने यरीको भनाई छ ।
विद्यालयका सबै शिक्षक र विद्यार्थी कोरोनाको उच्च जोखिममा पर्ने देखिएपछि विद्यालय बन्दको घोषणा गरिएको बनगाड कुपिन्डे नगरपालिका नगर प्रमुख गोविन्द पुनले जानकारी दिए । तीनवटै विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना हुनसक्ने सम्भावना देखिएपछि सबैजनाको स्वाव संकलन गरी पीसीआर परीक्षणका लागी सुर्खेत पठाइएको पुनले बताए ।
शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि तत्कालका लागि पठनपाठन पूर्णरुपमा प्रभावित भएको र सबैको रिपोर्ट नेगेटिभ नआउँदासम्म विद्यालय सञ्चालन गर्न नसकिने पुनले बताए ।
कोरोना देखिएकालाई होम आइसोलेसनमा बस्न र संक्रमित परिवारलाई आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सुझाप दिइएको नगरपालिकाका स्वास्थ्य संयोजक बासुदेव पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्