भीमसेनका किसानलाई अनुदान रकमसहित कृषि सामग्री वितरण «

भीमसेनका किसानलाई अनुदान रकमसहित कृषि सामग्री वितरण

गोरखाको भीमसेन थापा गाउँपालिकाले किसानलाई अनुदान रकम तथा कृषि सामग्री वितरण गरेको छ । चालू आर्थिक बर्षको कार्यक्रम अनुसार गाउँपालिकाको कार्यालय परिसरमा सोमबार उत्कृष्ट कोदो उत्पादक किसानलाई अनुदान रकम र कोदो कुट्ने मेसिन तथा कृषि सहकारी तथा संस्थालाई हातेटयाक्टर वितरण गरिएको हो । वार्षिक रूपमा १० मुरीभन्दा धेरै कोदो उत्पादन गर्ने ४० किसानलाई जनही ५ हजार रुपैयाँ अनुदान र ५० प्रतिशत अनुदानमा ७ वटा कोदो चुट्ने मेसिन वितरण गरिएको गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेले जानकारी दिए ।
यस्तै, ५० प्रतिशत अनुदानमा ४० कृषक समुह तथा सहकारीलाई हातेटयाक्टर वितरण गरिएको छ । ७ हर्ज पावर क्षमताको पेट्रोलबाट चल्ने हातेटयाक्टर किसानलाई वितरण गरेको गाउँपालिकाका सूचना अधिकारी नवराज लौडारीले जानकारी दिए ।
किसानलाई अनुदान रकम तथा सामग्री हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले रैथाने बाली संरक्षणका लागि प्रोत्साहन स्वरुप उत्कृष्ट कोदो उत्पादक किसानलाई नगद अनुदानसहित कृषिमा आधुनिनिकरण र यान्त्रीकरणका लागि उपकरण उपलब्ध गराएको बताए । किसानलाई ब्यबसायीक खेतीमा आकर्षित गर्न र बाँझो रहेका जमिनबाट उत्पादन लिन तथा कृषि उत्पादनको सहज रुपमा प्रशोधनका लागि कृषि उपकरणले सघाउने उनको विश्वास छ । गाउँपालिकाले ८ वटै वडाका किसानलाई समेटने गरी अनुदान रकम र कृषि सामाग्री वितरण गरेको हो । सूचना प्रकाशित गरेर मापदण्ड अनुसार नै प्रक्रियाबद्ध रुपमा अनुदान पाउने किसान तथा कृषि सहकारी छनौट गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
अनुदानमा कृषि उपकरण पाएपछि किसानहरू खुसी भएका छन् । उपकरण मार्फत थोरै समयमा सजिलोसँग धेरै काम गर्न सकिने भन्दै उनीहरू खुसी भएका हुन् । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष विनु वाग्लेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्