थप १० बैंक तथा वित्तीय संस्थामा आरटीजीएस «

थप १० बैंक तथा वित्तीय संस्थामा आरटीजीएस

नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ८ विकास बैंक र २ फाइनान्स कम्पनी आरटीजीएस प्रणालीमा आवद्ध भएका छन् । प्रणाली विस्तार गर्ने क्रममा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले ती संस्थालाई आवद्ध गराएको हो ।
प्रणालीमा ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, आईसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स थपिएका छन् । यस अघि २५ वटा वाणिज्य बैंकमा कनेक्ट आरटीजीएस प्रणाली सञ्चालनमा आइसकेको छ ।
आरटीजीएस प्रणाली मार्फत् ठूलो मूल्यका र तत्काल गरिने भुक्तानी अब विकास बैंक र वित्त कम्पनीका ग्राहक वा अन्तरबैंक भुक्तानीका लागि प्रयोग गर्न सकिनेछ । ग्राहकहरूले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरि उपलब्ध फारम भरी सो सेवा लिन सक्छन् ।
एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न शून्य लागतमा कनेक्ट आरटीजीएस प्रणाली प्रदान गरेको हो जुन नेपाल राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणालीसँग र बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ प्रणालीसँग इन्टिगे्रट गरिएको छ । आरटीजीएस प्रणालीको पहुच सँगै विद्युतीय कारोबारको आकर पनि उल्लेख्य वृद्घि हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्