धेरै जनता कृषि कर्ममा थिए, छन् र हुनेछन् «

धेरै जनता कृषि कर्ममा थिए, छन् र हुनेछन्

नेपाल कृषिप्रधान मुलुक हो । यहाँका धेरै जनता कृषि कर्ममा थिए, छन् र हुनेछन् । यो यस्तो भनाइ भइसकेको छ कि नेपालमा प्राचीन कालदेखि नै भनौं वा मानव सभ्यताको विकाससँगै नेपालीहरू व्यापार, उद्योगधन्दाभन्दा कृषि क्षेत्रमै विगत लामो समयदेखि निर्वाहमुखी कृषिमा लागेको देखिन्छ । अर्कातर्फ निर्वाहमुखी वा व्यावसायिक कृषि नेपालमा कहिलेसम्म रहन्छ वा हामीले अझै कहिलेसम्म नेपाल कृषिप्रधान मुलुक हो भनेर भनिरहन पाउँछांै वा कृषि छोडेर अन्य पेसामा वा अन्य पेसा छोडेर कृषिमा लाग्छौं भन्ने कुरासमेत अहिले नै कुनै अर्थविद्, कृषिविद् अर्थात् भविष्यवक्ताले भन्न सक्ने अवस्था रहेको देखिँदैन ।
हरेक वर्षका नीति तथा कार्यक्रम होस् वा बजेट, कृषिलाई प्राथमिकतामा राखिनुपर्छ भन्ने कुरा प्रायः हरेक वर्ष आउने गर्छन् । राजनीतिक व्यक्तिले बुझे र वा नबुझीकन कृषि क्षेत्रको विकासमा जोड दिनु आजको आवश्यकता हो भन्ने गरेका कुराले किसान उत्साहित हुने वा निराश हुने यो पनि अन्योलकै विषय देखिन्छ ।
अझै भन्नुपर्दा तीन तहका सरकार नै अहिले समग्र कृषिको विकासमा लाग्नुपर्छ भन्ने कुराले थाकेको पाइँदैन, तर विडम्बना अहिलेसम्म किसानले न आफूनो कृषि उत्पादनको उचित मूल्य पाएका छन्, न त भनेजस्तो सेवासुविधा । अर्कातर्फ भन्ने हो भने मल, बीउ, विषादी, सिँचाइ सुविधा र प्राविधिक सहयोग किसानको पहुँचमा साँच्चिकै छन् त भन्ने प्रश्नचिह्न लागि नै रहेको छ । सरकारी निकाय वा सरोकारवालाहरूलाई कृषिको क्षेत्रमा ध्यान दिएनन्, कृषिको विकासका लागि पहलकदमी भएन भन्ने कृषि कर्म नगरी अगुवा किसान भनिनेहरू तथा कृषि क्षेत्रको विकासका निम्ति पैरवी गर्नेहरू किन एकीकृत हुन सकेका छैनन् भन्ने कुरा भारतमा निर्भर रहेको हाम्रो कृषि उत्पादनको बजार विस्तारका लागि किन यथोचित पहल गरिँदैन भन्ने कुराबाटै प्रस्ट हुन्छ । कृषि क्षेत्रको विकास र किसानका समस्यालाई लिएर किसान कसरी एकताबद्ध हुन्छन् भन्ने कुरा हेर्ने हामीले टाढा जानै पर्दैन, कृषि विधेयकको विरुद्धमा भारतमा भएको किसान आन्दोलन वा किसान विद्रोहलाई लिन सकिन्छ । नेपालमा उखु किसानले उखुको झुक्तानी नपाएको भन्दै आन्दोलन चलिरहँदा सीमित किसानबाहेक अन्य किसानको हितमा काम गर्छौं भनेर स्थापना भएका र प्रत्येक पार्टीसँग आबद्ध भएका किसान संगठनहरू सुतेकै जस्तो अवस्थामा देखिए ।
, त्यही भारतमा भने साना–ठूला पार्टी र किसान संगठनहरू किसानको समस्यालाई लिएर सडकमा आएको देखियो । यसले पनि हामी कति जनता कृषि पेसामा छौं भनेर भन्नुपर्ने अवस्था आएको देखिन्छ र यति हुँदा पनि किसानको नाममा राजनीति गर्नेहरूले पाठ सिक्छन् जस्तो लाग्दैन ।
त्यसैले अब हामीहरूले साँच्चिकै किसानका मुद्दा उठाउने हो, वर्षैपिच्छे हुने मल, बीउ, विषादी, सिँचाइलगायतका समस्यालाई समाधान गर्ने हो, निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउने हो, बिमाको व्यवस्था मिलाउने हो ।
कृषि उत्पादनको बजार भारत, केन्द्रीय बाह्य बजारलाई तेस्रो मुलुकसम्म बजार खोज्ने हो र बिक्री भइसकेको कृषि उपजको मूल्य किसानले आन्दोलन नगरी पाउने व्यवस्था गर्ने हो । कृषि पेसालाई सम्मानित गर्न सके मात्र नेपाल कृषिप्रधान मुलुक भन्न सुहाउँछ, त्यसले गर्दा धेरै जनता कृषि कर्ममा थिए, छन् र हुनेछन् भन्न सकिन्छ । नभए रोजगारीकै लागि विदेश जान्थे, जान्छन् र जानेछन् भन्ने कुरा रहिरहन सक्छ ।
विकास घिमिरे

प्रतिक्रिया दिनुहोस्