उद्योग–व्यवसायमा कोरोनाले पारेको प्रभाव «

उद्योग–व्यवसायमा कोरोनाले पारेको प्रभाव

हाम्रा उद्योग–व्यवसायहरू छ–सात महिनाको अन्तरालमा सामान्य अवस्थामा नै फर्कनुलाई अर्थतन्त्रको सबल पक्षका रूपमा लिन सकिन्छ ।

कोरोनाका कारण बन्द भएका उद्योग–व्यवसायमा १० प्रतिशत सञ्चालनमा आउन सकेनन् भने १३ प्रतिशतले आफ्नो रोजगारी गुमाउनुप-यो, जसका कारण देशको समग्र अर्थव्यवस्थामा यसको प्रतिकूल प्रभाव परेको देखिन्छ ।

कोभिड–१९ का कारण विश्वभरिका उद्योगधन्दा र व्यवसायमा नराम्रो असर परेको पाइन्छ भने हाम्रो देशमा पनि कोरोना महामारीका कारण बन्द भएका व्यवसायहरू अझै सञ्चालनमा आउन सकेका छैनन् । कोरोनाका कारण बन्द भएका १० प्रतिशत व्यवसाय सञ्चालनमा आउन नसकेको राष्ट्र बैंकले सार्वजनिक गरेको एक तथ्यांकले जनाएको छ । तथ्यांकअनुसार कोरोना महामारीका कारण गत चैतदेखि बन्द भएका व्यवसायहरू अझै पूर्ण रूपमा आउन सकेका छैनन् । केही उद्योग–व्यवसायहरू आंशिक रूपमा सञ्चालनमा आउन थालेका छन् ।
कोरोनाअगाडिकोे तुलनामा अहिले ५१ प्रतिशत व्यवसायहरूले उत्पादन तथा कारोबार सञ्चालन गर्न सकेका छन्; जसमा विद्युत्, पानी, ग्यास, कृषि, वन तथा मत्स्यपालन, उत्पादनमूलक उद्योग र थोक तथा खुद्रा व्यापार कोरोनाभन्दा अगाडिकै अवस्थामा पुगेका छन् । यी क्षेत्रको उत्पादन तथा व्यापार करिब ७० प्रतिशतभन्दा माथि हुन थालेको छ । तर, होटल तथा रेस्टुराँहरूको व्यापार भने अझै ३० प्रतिशतमाथि उक्लन सकेको छैन ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा यही मङ्सिरसम्ममा ५४ प्रतिशत व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आउन थालेको देखिएको छ । त्यस्तै ३७ प्रतिशत आंशिक रूपमा तथा ९ प्रतिशत बन्द नै रहेको तथ्यांकले देखाउँछ । गत असारसम्म ६१ प्रतिशत व्यवसाय सञ्चालनमा आउन नसकेकोमा मङ्सिरमा भने बढेर ७० प्रतिशतमाथि पुगेको छ । हाम्रा उद्योग–व्यवसायहरू छ–सात महिनाको अन्तरालमा सामान्य अवस्थामा नै फर्कनुलाई अर्थतन्त्रको सबल पक्षका रूपमा लिन सकिन्छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार कोरोना महामारीका कारण बन्द भएका उद्योग तथा व्यवसायहरू मङ्सिरपछि विद्युत्, ग्यास, पानीअन्तर्गत ६७ प्रतिशत, थोक तथा खुद्रा व्यापार ६५ प्रतिशत, कृषि, वन तथा मत्स्यपालन क्षेत्र ६४ प्रतिशत पूर्ण रूपमा सञ्चालनमा आएको तथ्यांकमा देखिन्छ । खानी, विद्युत्, ग्यास, शिक्षा, होटल, रेस्टुराँ, रियलइस्टेटलगायतका व्यवसाय भने अझै सञ्चालनमा आउन सकेका छैनन् । जसका कारण उनीहरूले ७० प्रतिशतमात्र तलब खर्च गर्न सकेका हुन् । करिब १३ प्रतिशत मानिसहरू अझ पूर्ववत् रूपमा रोजगारीमा फर्कन सकेका छैनन् ।
यस अवधिमा व्यवसायीहरूले कर्जामा ब्याजदर भने सहुलियत पाएका छन् । तर पनि उद्योग–व्यवसायमा आउने दरमा वृद्धि भए पनि माग घटेका कारण उत्पादन तथा कारोबारमा ह्रास आएको छ । जसका कारण एकातिर उद्योग–व्यवसाय सञ्चालन गर्न र खर्च धान्न समस्या परेको छ भने थप कर्जा प्राप्त गर्न पनि कठिनाइ भएको तथ्यांकमा देखिन्छ । त्यस्तै कतिले त व्यवसायको पुँजी तथा तरलता व्यवस्थापनमा समस्या देखिएको, बैंकबाट असहयोग भएको गुनासो पनि गरेका छन् । कोरोना महामारीपछि सञ्चालनमा आएका उद्योग–व्यवसायहरूले सञ्चालनपछि कर्जा पुनर्तालिकीकरण सुविधा पाएका छन् । त्यस्तै सहुलियत र पुनर्कजा पनि पाएका छन् ।
कोरोना महामारीपछि कृषि, वन तथा मत्स्यपालन व्यवसाय ३ दशमलव ०३, खानी तथा उत्खनन ३३ दशमलव ३३, उत्पादनमूलक उद्योग ८ दशमलव ६४, विद्युत्, ग्यास तथा पानी ३३ दशमलव ३३, निर्माण ५ दशमलव ५६, थोक तथा खुद्रा व्यापार ३ दशमलव ३९, होटल तथा रेस्टुराँ २३ दशमलव ७६, यातायात तथा भण्डारण १२ दशमलव ५०, सञ्चार ९ दशमलव ०९, रियलइस्टेट भाडा तथा व्यावसायिक क्रियाकलाप २५, शिक्षा २९ दशमलव ५५, स्वास्थ्य तथा सामाजिक कार्यहरू ८ दशमलव ३३ र अन्य क्षेत्रहरू ११ दशमलव ७७ प्रतिशत सञ्चालनमा आउन नसकेको उक्त तथ्यांकले देखाएको छ ।
यस्तै गरी कृषि, वन तथा मत्स्यपालन व्यवसाय ६३ दशमलव ६४ प्रतिशत पूर्ण रूपमा सञ्चालित छ भने ३३ दशमलव ३३ प्रतिशत आंशिक सञ्चालनमा आएका छन् । खानी तथा उत्खननसम्बन्धी व्यवसाय ३३ दशमलव ३३ प्रतिशत पूर्ण रूपमा र ३३ दशमलव ३३ प्रतिशत आंशिक रूपमा सञ्चालन भएको पाइन्छ । यस्तै उत्पादनमूलक उद्योग ४९ दशमलव ०४ प्रतिशत पूर्ण रूपमा सञ्चालित छन् भने ४२ दशमलव ३१ प्रतिशत आंशिक रूपमा सञ्चालनमा आएका छन् । यसैगरी विद्युत्, ग्यास तथा पानीसम्बन्धी व्यवसाय ६६ दशमलव ९७ प्रतिशत पूर्ण रूपमा सञ्चालित छन् भने ३३ दशमलव ३३ प्रतिशत भने बन्द अवस्थामा रहेका छन् । निर्माणसम्बन्धी व्यवसाय ४४ दशमलव ४४ प्रतिशत पूर्ण रूपमा सञ्चालन भए पनि ५० प्रतिशत आंशिक रूपमा सञ्चालनमा आएका छन् । थोक तथा खुद्रा व्यापारतर्फ भने ६४ दशमलव ९७ प्रतिशत पूर्ण रूपमा सञ्चालित देखिन्छन् भने ३१ दशमलव ६४ प्रतिशत आंशिक सञ्चालनमा रहेका छन् ।
समग्रमा राष्ट्रिय औसतलाई विश्लेषण गर्ने हो भने कोरोना महामारीअगाडिको तुलनामा व्यवसाय सञ्चालनको अवस्था चिन्ताजनक देखिन्छ । कोरोना महामारीपछि ५३ दशमलव ९५ प्रतिशत उद्योग–व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आएको देखिन्छ भने ३६ दशमलव ९८ प्रतिशत उद्योग–व्यवसाय आंशिक रूपमा मात्र सञ्चालनमा आएको र ९ दशमलव ०७ प्रतिशत सञ्चालन हुन नसकेको देखिन्छ । कोरोना महामारीपछि हाम्रा उद्योग–व्यवसाय पुरानै लयमा नफर्के तापनि सामान्य अवस्थामा फर्किनुलाई सबल पक्ष मान्नुपर्ने अर्थविद्हरूको विश्लेषण रहेको छ । कोरोनाका कारण बन्द भएका उद्योग–व्यवसायमा १० प्रतिशत सञ्चालनमा आउन सकेनन् भने १३ प्रतिशतले आफ्नो रोजगारी गुमाउनुप-यो, जसका कारण देशको समग्र अर्थव्यवस्थामा यसको प्रतिकूल प्रभाव परेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्