Logo

शितलहरसँगै डडुवा रोगले तरकारी नष्ट

महेन्द्रनगर-कञ्चनपुरमा डडुवा रोगका कारण तरकारी खेती जोगाउनै मुस्किल परेको छ । जिल्लाको अधिकांश ठाउँमा लगाएको तरकारी खेतीमा डडुवा रोगको संक्रमण बढेसँगै तरकारी खेती गरिरहरेका किसान चिन्तित बनेका छन् । जाडोयाममा तराईमा देखिने शितलतहरको समस्याले विगतमा जस्तै यस वर्षपनि किसानले लगाएको तरकारी खेतीमा डडुवा रोग देखा परेको छ ।
दिनभरी लाग्ने हुस्सु र कुहिरोका कारण तरकारी खेतीमा भने प्रत्यक्ष प्रभाव पर्ने गर्दछ । लामो समयसम्म देखा पर्ने शितलहरले किसानले लगाएको तरकारीमा डडुवा रोगले ठूलो समस्या गर्ने किसानको भनाइ छ ।
“बिहानदेखि बेलुकासम्म लाग्ने हुस्सु र कुहिरोका कारण डडुवा रोगले तरकारी खेती नष्ट गर्ने समस्या स्थायी समस्या जस्तै भएको छ” कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित नयाँ कटानका किसान नाथुराम रानाले भने, “डडुवा रोगको प्रकोपबाट तरकारी खेती जोगाउन किटनासक औषधी छर्किएपनि समस्या सामाधान भने हुँदैन, वर्षैनी लगाएको तरकारी खेतीमा डडुवा रोगको संक्रमणले धेरै समस्या हुने गरेको छ ।” डढुवा रोगको प्रकोपले आलु, गोलभेडा, तोरीलगायतका बाली नष्ट हुने समस्या किसानहरुको वर्षेनीको समस्या हो ।
आलु, गोलभेडाको खेती पछिल्ला दशकमा व्यावसायिकरुपमा भइरहे पनि वर्षेनी देखिने डढुवा रोगको प्रकोपबाट यी बाली जोगाउन किसानलाई मुस्किल पर्ने गरेको हुन्छ । डढुवा रोगको समस्या बढ्दै जाँदा कञ्चनपुरको २५ सय हेक्टर भन्दा कढी क्षत्रफलमा लगाइएको तरकारी खेतीमा वर्षेनी ह्रास आउने गरेको छ ।
डडुवा रोगबाट जोगाउन कतिपय किसानले ‘टनेल’ बनाएर गोलभेडा लगायतका तरकारी बालीको खेती गर्ने गरेका पनि छन् ।

प्रतिक्रिया दिनुहोस्