कोरोना महामारी पीडितका नामबाट बने सडक र गोरटा «

कोरोना महामारी पीडितका नामबाट बने सडक र गोरटा

दोलखा-कोरोना महामारी पीडितले भीमेश्वर नगरपालिकामा सडक र गोरेटो बाटो तयार गरेका छन् । भीमेश्वर नगरपालिका र तयार नेपालको साझेदारीमा सञ्चालित कार्यक्रममार्फत नगरपालिकाभित्रका सडक सोलिङ र गोरेटो मर्मत संभार भएका हुन् ।
महामारीका कारण रोजगार गुमाएका र आर्थिक रूपमा विपन्नका लागि सञ्चालित कामका लागि नगद कार्यक्रमबाट एक किलोमिटर सडक सोलिङ भएको छ । तयार नेपाल दोलखाका संयोजक थिरबहादुर थापा मगरका अनुसार महामारी पीडितका लागि राहत स्वरुप २०३ जनाले २० दिनसम्म काम गरेर नगद प्राप्त गरेको उनले बताए ।
भीमेश्वर नगरपालिकाका हरेक वडामा एउटा एउटा योजना छनौट गरी सञ्चालन भएको छ । सम्बन्धित वडाले गरेको छनोट गरेका योजनामा सम्बन्धित वडाले नै छनोट गरेका पीडितले काम गरेका हुन् । उनीहरूलाई जिल्लाको दररेटअनुसार भुक्तानी गरिएको उनले बताए ।
कामका लागि नगद कार्यक्रमअन्तर्गत ३४ लाख पीडितले नगद पाएका छन् । त्यसैगरी निर्माण सामग्री र सुरक्षा सामग्री १४ लाखसहित ४८ लाख खर्च भएको छ । सडक सोलिङका लागि ढुंगा व्यवस्थापन र ढुवानीको काम सम्बन्धित वडाले नै गरेको छ ।
कामका लागि नगद कार्यक्रमले वडा नं. १ को वडा कार्यालयमा घेराबारका लागि पर्खाल निर्माण भएको छ । वडा नं. २, ६, ७, ८ र ९ मा सडक सोलिङ भएको छ । हरेक वडामा महत्वपूर्ण ठाउँमा २ सय मिटरका दरले सडक सोलिङ भएको छ । कुनै कामको अनुभव नभएका र तालिमसमेत नगरेका मानिसबाट पनि राम्रै सोलिङ भएको भीमेश्वर नगरपालिका–६ का वडाध्यक्ष नवीन लामाले बताए । त्यसैगरी वडा नं. ३, ४ र ५ मा भने पुरानो गोरेटो मर्मत र सरसफाइ भएको छ । वडा नं. १ सुस्पाक्षमावती र वडा नं. लाँकुरीडाँडा टाढा र पिछडिएको क्षेत्र भएकाले त्यहाँ अरु वडाका भन्दा बढी सहभागी गराइएको कार्यक्रम संयोजक थापा मगरले बताए ।

व्यवसाय पुनःस्थापनामा सहयोग
कोरोना भाइरसले रोजगार गुमेका र व्यवसाय बन्द भएकालाई पुनःस्थापनाका लागि समेत कार्यक्रमले सहयोग गरेको छ । कार्यक्रम संयोजक थापाका अनुसार सशर्त अनुदानअनुसार साना तथा मझ्यौला व्यापार प्रवद्र्धनका लागि व्यवसायीलाई सहयोग गरेको उनले बताए । विगतमा खुद्रा तथा साना व्यवसाय गरेका तर कोरोना महामारीका अति असर परेका स्थानीय तहले सिफारिस गरेका १५७ परिवारले पुनर्उत्थानका लागि सहयोग पाएका छन् । प्रतिपरिवार ३२ हजारका दरले राहत स्वरुप सहयोग पाका हुन् । यसका लागि ५० लाखभन्दा बढी खर्च भएको छ ।
त्यसैगरी रोजगार गुमाएका २० जनालाई तालिमसहित व्यवसाय सुरु गराइएको छ । देश तथा विदेशमा रोजगारीमा रहेकालाई स्वरोजगारमूलक तालिम दिएर सहयोग गरिएको छ । १० जनाले च्याउ खेतीसम्बन्धी तालिम पाएका छन् भने १० जनाले मोटरसाइल मर्मत तालिम पाएका छन् । उनीहरूलाई व्यवसाय गर्नका लागि प्रारम्भिक चरणका सामान व्यवस्थापनमा समेत सहयोग गरेको छ ।
तयार नेपाल परियोजनामार्फत नगरपालिकामा विपत व्यवस्थापन र क्षमता अभिवृद्धिका लागि स्थानीय गैरसरकारी संस्था ग्रामीण विकास टुकी संघसँग मिलेर काम गर्दै आएको छ । विपद् जोखिम न्यूनीकरण, विपद् पूर्वतयारी योजनासमेत तयार गर्ने र नीति नियम संशोधनको कामसमेत भएको भीमेश्वर नगरपालिकाका विपद् जोखिम सम्पर्क व्यक्ति इन्जिनियर सुरेश राउतले बताए । कोभिड महामारीपछि आर्थिक पुनर्लाभ कार्यक्रमसमेत सञ्चालन भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्