Logo

४० वर्षदेखि सिँचाइ आयोजना अपूरो

रोल्पा-बाजेको पालामा सुरु भएको रोल्पा—प्यूठान सिँचाइ आयोजना नातिको पालासम्म पनि सम्पन्न हुनसकेको छैन ।
रोल्पाको सुनिलस्मृति गाउँपालिका र प्यूठानको स्वर्गद्वारी गाउँपालिकाका साढे ७ सय बढी घरधुरीलाई लक्षित गरी निर्माण सुरु गरिएको सो आयोजना करिब ४ दशक पार गर्ने अवस्थामा पुगे पनि निर्माणकार्य अनिश्चित बन्दै गएको छ ।
२०३७ सालदेखि रोल्पाको सुनिलस्मृति गाउँपालिका हँुदै बग्ने लुंग्री नदीबाट साढे १२ किलोमिटरको नहर बनाई प्यूठानको स्वर्गद्वारी नगरपालिकासम्म लैजाने गरी आयोजना स्वीकृत भएको थियो । सो सिँचाइबाट रोल्पा र प्यूठानको एक हजार दुई सय बढी हेक्टर समथरभूमिमा सिँचाइ गरी उत्पादकत्व बढाउने उद्देश्य थियो । सिँचाइको आशामा बसेका स्थानीयका लागि आयोजना आकाशको फल आँखातरि मर भएको छ । आयोजनाको करिब ७५ प्रतिशत काम सम्पन्न भइसकेको बताइन्छ । लामो समयसम्म निर्माणकार्य अवरुद्ध भएसँंगै निर्माणाधीन संरचनासमेत भत्कन सुरु गरेका छन् ।
रोल्पाको साविक मिझिङ गाविसको पल्लो छिर्ने तथा प्यूठान जिल्लाको साविक सारी, बेलवास र बर्जिवाङ गाविसका खेतीयोग्य जमिनमा सिँचाइ गर्ने उद्देश्यले आयोजना थालनी गरिएको थियो । वर्षेनी ठेकेदार फेरिने र काम सम्पन्न नहुँदै भाग्ने गरेको स्थानीयको आरोप छ । आफूहरूले महिनौ काम गरेको पारिश्रमिकसमेत नपाएको स्थानीय विर्सना कामीले बताइन् । “छोरीसँंगै मैले काम गरेको ३ महिनाको पैसा पाएकी छैन,” कामीले भनिन् । कामीजस्तै उक्त योजनाको साइटमा काम गर्ने धेरै मजदुरले पैसा नपाएको गुनासो गरेका छन् ।
हाम्रा लागि सिँचाइ आकाशको फल भएको छ स्वर्गद्वारी–५ सारीका मनिराम सुनारले भने । “सिँचाइ आएपछि तरकारीखेती गरेर गाउँमै स्वरोजगार बन्ने सपना कहिल्यै पूरा भएन,” सुनारले भने, “सिँचाइ अभावले उर्वरभूमि बाँझै छन्,” सुनारले भने ।
आयोजनाका लागि हालसम्म नेपाल सरकारको १४ करोड र स्थानीयको श्रमदान ५६ लाख बढी बजेट र श्रम खर्च भइसकेको छ । संघीय संरचनापछि बनेका स्थानीय सरकारले आयोजनाका लागि चासो नदेखाएको स्थानीयको गुनासो छ । विगतमा फाट्टफुट्ट बजेट आउँथ्यो, घर आगनमै सरकार आएपछि त बजेट आउनै छाड्यो स्वर्गद्वारी–५ सारीका केशव भण्डारीले भने ।
“हरेक चुनावमा उम्मेदवारका चुनावी एजेण्डा हुने यस आयोजना चुनावपछि भने कसैको चासोमा पर्दैन,” स्वर्गद्वारी नगरपालिका–५ का वडाध्यक्ष हीरामणि भण्डारीले भने, “ठूलो आयोजना भएकाले स्थानीय सरकार एक्लैले सो आयोजना सम्पन्न गर्नसक्ने अवस्था नभएकाले प्रदेश र नेपाल सरकारलाई गुहारेका हौँ ।” पछिल्लो पटक प्यूठान रोल्पा हँुदै जाने प्रदेशको सडकका कारण आयोजनामाथि नै प्रश्न उठ्न थालेको भण्डारीको भनाइ छ ।
“आयोजना सम्पन्न गर्नका लागि अन्तर स्थानीय तह छलफल भइरहेको छ,” सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले भने । नहरको नजिकैबाट सडक खन्ने गरी कुराकानी भए पनि दुवै संरचना कसरी निर्माण गर्ने भन्ने विषयमा स्वर्गद्वारी नगरपालिका र सुनिलस्मृति गाउँपालिकाबीच छलफल भइरहेको अध्यक्ष घर्तीको भनाइ छ ।
पञ्चायतकालीन समयबाट सुरु भएको आयोजना बहुदलको ३० वर्ष पारगर्दा समेत निर्माण नहँुदा जनतामा नैराश्यता बढेको छ ।

प्रतिक्रिया दिनुहोस्