Logo

पर्यटकीय पूर्वाधारमा लगानीको अवसर

सरकार तथा निजी क्षेत्रको सहकार्यमा केबलकारजस्ता पर्यटकीय पूर्वाधारमा लगानी बढाउँदा नै नेपालमा दिगो पर्यटन विकास गर्न सकिन्छ ।

नेपालमा पर्यटनको प्रचुर सम्भावना रहे तापनि पूर्वाधारको कमीका कारण मुलुकले अपेक्षित पर्यटक भिœयाउन मात्र होइन, पर्यटकको बसाइ लम्ब्याउन पनि सकेको छैन । जसका कारण पछिल्ला वर्षहरूमा नेपाल आउने पर्यटकको बसाइ तथा खर्च खासै वृद्धि हुन सकेको छैन । गत आर्थिक वर्षको त कुरै गर्नु परेन, कोरोना कहरका कारण बाह्य पर्यटक आगमन त ठप्पै भयो नै, आन्तरिक पर्यटक पनि बन्दाबन्दी तथा निषेधाज्ञाका कारण करिब ठप्पै रह्यो । यसबेला केही पर्यटकीय पूर्वाधारमा लगानी गर्ने अवसर भने प्राप्त भएको देखिन्छ । त्यसमध्ये पनि पहाडैपहाडको मुलुक नेपालमा पछिल्लो समय केबलकारको महŒव आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्नमात्र नभएर अन्य सामान्य आवतजावतका लागि पनि महŒवपूर्ण रहने देखिएको छ । त्यसैले हाल नेपालमा केबलकार क्षेत्रमा लगानी गर्ने लहर चलेको छ । नेपालमा हालसम्म मनकामना, चन्द्रागिरी र कालिन्चोक केबलकारमात्र सञ्चालनमा रहे पनि नयाँ–नयाँ स्थानमा केबलकार सञ्चालनका लागि अनुमति लिने क्रम बढेको छ भने कतिपय स्थानमा त केबलकार निर्माणको अन्तिम चरणमा पनि छन् । उद्योग विभागको तथ्यांकअनुसार करिब ७ अर्ब लगानीमा १४ नयाँ केबलकार निर्माणको विभिन्न चरणमा रहेका छन् । यीमध्ये कतिपयले पर्यटकीय पूर्वाधारसहित ठूलो लगानीसमेत गर्दैछन् । आन्तरिक तथा बाह्य आगन्तुकलाई आकर्षक पर्यटकीय क्षेत्रमा आवतजावतका लागि केबलकार निर्माणमा लगानी बढ्दै गएका कारण हाल १७ केबलकार निर्माणाधीन र निर्माणको चरणमा छन् भने तीन केबलकार सञ्चालनमा आइसकेका छन् । नेपालजस्तो भौगोलिक विकटता रहेको तथा सहज तरिकाले आवतजावत गर्न नसकिने मुलुकमा पछिल्लो समयमा केबलकार निर्माण बढ्दै जाँदा त्यसले नेपालका कतिपय ठाउँमा सहज यातायातको विकल्प पनि बन्न सक्ने देखिन्छ । किनकि भौगोलिक विकटताका कारण सडक सन्जाल बनाउनुभन्दा पहुँचका लागि केबलकार एउटा भरपर्दो माध्यम पनि हो । यस्तै भौगोलिक असहजता भएको स्थानमा एक डाँडाबाट अर्को डाँडामा पहुँच महँगो भए पनि सहज र सरल माध्यम केबलकार हुनसक्छ । सडकमार्गको पहुँच भए पनि पर्यटकीय र धार्मिक महŒव बोकेका शक्तिपीठहरूमा केबलकार निर्माण गर्दा सबै उमेर समूहका आन्तरिक तथा बाह्य पर्यटकका लागि केबलकार बनाउने क्रम बढेको हो ।
त्यसैले पछिल्ला वर्षमा पर्यटकीय क्षेत्रसँगै धार्मिक क्षेत्रमा पनि केबलकारमा निर्माण तीव्र भएको छ । मनकामना केबलकार २०४८ सालमा दर्ता भए यताको तीन दशकमा पछिल्लो समय निर्माण भएको केबलकार चन्द्रागिरी र कालिन्चोकमा सञ्चालनमा छन् । अर्थात् पछिल्ला ३० वर्षमा नेपालमा मात्र तीन केबलकार निर्माण भई सञ्चालनमा रहेका छन् । यसबाट नेपाली पर्यटन व्यवसायी तथा सरकारी निजी निर्माताको पनि उदासीनता छर्लङ्ग देखिन्छ । चन्द्रागिरीबाहेक उपत्यकामा मात्र पाँच केबलकार सञ्चालनका लागि दर्ता भएका छन् भने काठमाडौंबाहिर भने १२ केबलकार निर्माणका लागि दर्ता भएका छन्, जसमध्ये कालिन्चोक दोलखा र मनकामना केबलकार गोर्खा सञ्चालनमा रहेका छन् । यस्तै, चन्द्रागिरी केबलकार निर्माणपछि हैसिएको लगानीकर्ताले पर्यटकीय गन्तव्यसहित पूर्वाधार निर्माण गर्ने गरी सातै प्रदेशमा केबलकार निर्माणको तयारी गरिरहेको छ भने ठूलो लगानीका रूपमा नेपाल लगानी बोर्डमार्फत गोसाइँकुण्ड र मुक्तिनाथमा केबलकार निर्माणका लागि प्रस्ताव प्राप्त भएको छ । यसबाट पछिल्ला वर्षहरूमा नेपालमा केबलकार निर्माण एउटा राम्रो लगानीको क्षेत्र बनेको छ । तर, केबलकार मात्र होइन, समग्र पर्यटकीय पूर्वाधार निर्माणमा जोड नदिने हो भने नेपालमा आउने बाह्य पर्यटकका लागि उचित पूर्वाधारबिना पर्यटकको संख्यामा मात्र वृद्धि नहुने होइन, यसबाट एकपटक नेपाल आएका पर्यटक फेरि नेपाल आउने कुनै आकर्षण पनि रहन्न । तसर्थ सरकार तथा निजी क्षेत्रको सहकार्यमा केबलकारजस्ता पर्यटकीय पूर्वाधारमा लगानी बढाउँदा नै नेपालमा दिगो पर्यटन विकास गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्