वातावरणीय प्रदूषणका कारण स्वास्थ्यमा प्रतिकूल असर «

वातावरणीय प्रदूषणका कारण स्वास्थ्यमा प्रतिकूल असर

पछिल्लो समयमा राजधानीलगायत मुलुकका विभिन्न ठाउँमा भएको मौसमी परिवर्तनका कारण वातावरण प्रदूषण हुँदै गइरहेको देखिन्छ । सवारी साधनको उच्च चाप र त्यसबाट निस्केको धूवाँ र कलकारखानाबाट निस्केको धूलो–धूवाँले गर्दा पनि वातावरण प्रदूषित भइरहेको छ । झन् आजभोलि मानिसहरूको दैनिक जीवनमा प्रत्यक्ष सम्बन्ध जोडिने धेरै ठाउँमा भने वातावरण मात्र नभएर वरपरका ठाउँहरूसमेत दुर्गन्धित हुन पुगेका छन् । यसले गर्दा स्वास्थ्यमा मात्र नभएर वरपरको समाज पनि दुर्गन्धित हुन्छ ।
हुन त यो जाडो मौसम भएकाले दिनभरिको प्रदूषण अनि धूलो–धूवाँका कारण रातिको समयमा यी प्रदूषणहरू चलायमान हुन पाउँदैनन् । चिसोका कारण पनि जमिनमुनिको भागभन्दा केही माथि ओजोनका रूपमा मात्र यो रहन्छ, किनकि चिसोले गर्दा सीधै प्रदूषण जमिनमा बस्न सक्दैन । यो प्रदूषण जमिन र हावाको दूरीभन्दा केही फिट मात्र माथि रहने हुनाले बिहानीपख यो प्रदूषणले मानिसहरूको आवतजावतलाई समेत नकारात्मक असर गर्छ ।
यो प्रदूषणले विशेष गरी रुघा, खोकी, श्वास–प्रश्वासमा समस्याजस्ता अनेक रोगहरू निम्त्याउँछ । यस्ता प्रदूषण मानिसहरूको दैनिक जीवनमा भएका क्रियाकलाप तथा बाहिरी वातावरणमा भएका प्रदूषणहरूले निम्त्याउने गर्छन् । जसका कारण विशेष गरी बालबच्चा तथा वृद्धवृद्धा र दीर्घरोगीहरूलाई रोगले छिटो समात्ने हुन्छ । त्यसैले बालबच्चा तथा वृद्धवृद्धाहरूलाई बचाउनु जरुरी देखिन्छ । त्यसमाथि यो रोगसँगै कोरोनाको पनि उच्च जोखिम रहेकाले कोरोनासँगै यस खतरनाक प्रदूषणबाट बच्नु पनि जरुरी देखिन्छ ।
कोरोना नेगेटिभ अर्थात् स्वस्थ मानिसहरूलाई पनि यस प्रदूषणले छिटो समात्ने भएकाले यस वातावरणीय प्रदूषणको निर्मूल गर्नु जरुरी छ । मौसमी रुघाखोकी आउनुमा पनि यस प्रदूषणले महŒवपूर्ण भूमिका खेलेको हुन्छ । तसर्थ बालबच्चा, दीर्घरोगीहरूलाई यसबाट बचाउनुपर्छ । नत्र यस वातावरणीय प्रदूषणले गर्दा कोही बिरामी भए भने कोरोनाको लक्षण पनि देखिन्न भन्न सकिँदैन ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि वातावरण प्रदूषण न्युनीकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् ।
स्वच्छ, हराभरा सहरका लागि स्थानीय स्तर तथा महानगरलगायतले पनि धेरै ध्यान दिइरहेका छन् । तर, पछिल्लो समयमा राजधानीमा गुड्ने साना तथा ठूला सवारी साधनहरूको के प्रदूषण मापन भएको छ त ?
राजधानीमा साना–ठूला गरी हजारौंको संख्यामा सवारी साधनहरू गुड्ने गर्छन् । तिनीहरूबाट निस्कने धूलोधूवाँले गर्दा सीधै मानव स्वास्थ्यमा असर पुग्ने देखिन्छ । त्यसका लागि सरकारले यस्ता धेरै धूवाँ निकाल्ने सवारी साधनहरूको पहिचान गरी यस्ता सवारी साधन नचलाउन निर्देशन दिनुपर्छ । अर्को कुरा, सवारी प्रदूषण मापनमा कडाइ भए राजधानीभित्र धेरै नै वातावरणीय प्रदूषण कम हुने थियो । तर, मानिसहरूको लापरवाहीका कारण पनि धेरै वर्षदेखिका पुराना बिगे्रका सवारी साधन मर्मत गरेर चलाई जोखिमपूर्ण रूपमा आ–आफ्नो कार्य सम्पादन गरिरहेका देखिन्छन् । यसले गर्दा मुलुकका धेरै दुर्गम ठाउँहरूमा सवारी दुर्घटनाका समाचारहरू सुनिन्छन् ।
वातावरण प्रदूषण न्यूनीकरणका लागि सरकारले सर्वप्रथम त विद्युतीय सवारी साधनमा जोड दिनुपर्छ । अनि सोहीअनुसार मानिसहरूले विद्युतीय सवारीमा ध्यान दिए पक्कै मुलुक सफा, हराभरा हुने देखिन्थ्यो भने वातावरण प्रदूषण पनि कम भएर जाने थियो । अहिले पनि बजारमा साना विद्युतीय सवारी साधनहरू धेरै मात्रामा निस्किसकेका छन् । त्यसैले वातावरण प्रदूषण कम गरौं, स्वस्थ जीवन जिऊँ ।

प्रतिक्रिया दिनुहोस्