कृषि र उपभोग्य क्षेत्रमा कर्जा बढ्यो «

कृषि र उपभोग्य क्षेत्रमा कर्जा बढ्यो

साउनमा कृषि कर्जा १.८ प्रतिशतले घटेको थियो तर त्यसपछि भने क्रमशः सुधार हुँदै मंसिरसम्ममा १२ प्रतिशतले वृद्धि भइसकेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको लगानी कृषि र उपभोग्य क्षेत्रतर्फ बढ्न थालेको छ । कोभिड–१९ महामारीका कारण आर्थिक गतिविधि सुस्ताएको तथा नेपाल राष्ट्र बैंकको नीतिगत प्रावधानका कारण बैंकहरूको लगानीको क्षेत्र परिवर्तन हुन थालेको हो ।
बैंक तथा वित्तीय संस्थाहरूलाई कूल ऋणको निश्चित प्रतिशत कृषिमा गर्नैपर्ने बाध्यात्मक व्यवस्था गर्दै आएको राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यसको सीमा वृद्धि गरेको छ । जसका कारण कृषिमा लगानी बढाउन बैंकहरूलाई दबाब बढेको देखिन्छ । सरकारले ब्याज अनुदानमार्फत पनि कृषि कर्जा प्रोत्साहन गर्दै आएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कृषि कर्जा १.८ प्रतिशतले घटेको थियो । त्यसपछि भने क्रमशः बढ्दै मंसिरसम्ममा १२ प्रतिशतले वृद्धि भएको छ । मंसिरसम्ममा बैंकहरूले साढे २ खर्ब रुपैयाँ कृषि ऋण प्रवाह गरेका छन् ।
राष्ट्र बैंकले बैंकहरूलाई २०८० असारसम्ममा कूल लगानीको १५ प्रतिशत कृषिमा गर्न निर्देशन दिएको छ । निर्देशनअनुसार बैंकहरूले २०७८ असारसम्ममा ११ प्रतिशत, २०७९ असारसम्ममा १३ प्रतिशत लगानी कृषिमा गर्नुपर्छ । यसअघि बैंकहरूले कूल लगानीको १० प्रतिशतमात्र कृषिमा गर्नुपर्ने सीमा निर्धारण गरिएको थियो ।
यता, संघीय सरकारले पनि कृषि ऋणको ब्याजदरमा अनुदान दिँदै आएको छ । सरकारले कृषि ऋणलगायका सहुलियत कर्जामा ५ प्रतिशत ब्याज अनुदान दिने व्यवस्थाले पनि कृषि ऋण बढिरहेको छ ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट नीतिगत प्रावधान र व्यावसायिक कृषिमा युवाहरूको आकर्षणका कारण कृषि क्षेत्रमा बैंकहरूको लगानी वृद्धि हुँदै गएको बताउँछन् । “कृषिमा अनिवार्य लगानी गर्नुपर्ने प्रावधान र ब्याज अनुदानका कारण लगानी बढेको छ,” उनले भने । ब्याज अनुदानमा प्रदान हुने कर्जाहरूमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत मंसिरसम्ममा बैंकहरूले ३० हजार ८ सय ७ ऋणीलाई ६८ अर्ब ६९ करोड कर्जा लगानी गरेको उनले जानकारी दिए ।
यसैगरी, चालू आर्थिक वर्षमा उपभोग्य क्षेत्रमा पनि बैंकहरूको लगानी बढ्न थालेको छ । कोभिड र लकडाउनका कारण सर्वसाधारणको आयस्रोतमा असर परेपछि पनि दैनिक खर्च चलाउनका लागि बैंकबाट कर्जा लिने प्रवृत्ति बढेको छ ।
बैंकहरूको क्षेत्रगत लगानी विश्लेषण गर्दा मंसिरमा कर्जाको बृद्धिदर सबैभन्दा उच्च उपभोग्य क्षेत्रमा छ । यस क्षेत्रको कर्जा ११ प्रतिशतले वृद्धि भएको छ । सुनचाँदी, मुद्दति रसिद, ऋणपत्र धितोको साथै क्रेडिट कार्डमा बैंकहरूले एक खर्ब ८ अर्ब लगानी गरेका छन् । ऋणको प्रयोजन खुलाउनु नपर्ने भएका कारण सर्वसाधारणले दैनिक आवश्यक्ताका लागि यस्तो प्रकृतिको कर्जा लिने गरेका छन् ।
कोरोना महामारीका कारण बैंकहरूले होलसेल तथा खुद्रा व्यापारका लागि प्रदान गर्ने ऋणको बृद्धिमा भने सुस्तता आएको छ । चालू आर्थिक वर्षको मंसिरमा बैंकहरूको कूल कर्जा ७.४ प्रतिशतले वृद्धि भई ३५ खर्ब ७ अर्ब पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्