ओलीसँग सानो अरिंगालको झुण्ड र साइबर सेना मात्रैः नेपाल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको भष्मासुर प्रवृत्तिको अन्त्य गरी प्रतिनिधि सभा पुनस्र्थापना गरिने बताए ।
शुक्रबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को केन्द्रीय संघर्ष समितिले प्रतिनिधिसभा विघटनको विरुद्धमा आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको भष्मासुर प्रवृत्तिको अन्त्य गर्दै प्रतिनिधिसभाको पुनर्गठन गरिने बताए । उनले पार्टीले केपी ओली बनाएको भए पनि ओली भष्मासुर बनेको भन्दै भष्मासुरलाई पार्टीले सिध्याउने बताए । भष्मासुर प्रवृत्तिको अन्त्यपछि नयाँ ढंगले अघि बढ्ने उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्र, पार्टी र देशको स्थायित्वमाथि खड्ग प्रहार गरेको बताए । अध्यक्ष नेपालले अरु राजनीतिक दलहरूले फेरि केपी ओलीसँग मिल्ने हुन कि भन्ने आशंका गरेको भन्दै केपी ओलीसँग झुक्ने कुनै काम नगर्ने बताए । ओलीसँग मिल्छन् भन्ने भ्रम नपाल्न उहाँले आग्रह गरे । आफूहरूले मूल्य र विचारको राजनीति गरे पनि ओली कम्युनिष्ट आदर्शमा समर्पित नभएको र सिद्धान्तनिष्ठ नभएको उनको भनाइ छ ।
अध्यक्ष नेपालले प्रधानमन्त्री केपी ओली हिटलरको बाटो हिँडेको टिप्पणी गरे । ओली निर्वाचित व्यक्ति भए पनि संवैधानिक कु गरेको उनले बताए । नेपाली जनता ओलीको हिटलर प्रवृत्तिसँग नडराउने उनको भनाई छ । संविधानले राजनीतिक स्थायित्वको सुनिश्चितता, नियन्त्रण र सन्तुलनको सिद्धान्त राख ेपनि ओलीले आफूमा मात्रै शक्ति केन्द्रित गरेको उनले बताए । एकाधिकारवादको विरोधमा आफुहरू रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीसँग पार्टी र संसदको बहुमत हिस्सा नरहेपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने भए पनि नरसंहार गरेको अध्यक्ष नेपालको भनाइ छ । पार्टीको सम्पूर्ण तह र तप्कामा आफूहरूको अत्याधिक बहुमत भएको र ओलीसँग सानो अरिंगालको झुण्ड र साइबर सेना मात्रै भएको उनले बताए । अध्यक्ष नेपालले सुर्य चिन्ह निर्वाचन आयोगबाट ल्याउने मान्छे आफू जिउँदै भएकोले सूर्य चिन्ह आफूहरूले नै पाउने दाबी गरे ।
‘आमाको दूध चुसेर भएन बाको घुँडो’ : दाहाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले केपी ओली प्रवृतिलाई अघि बढाउने भुल नगर्ने बताए ।
शुक्रबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को केन्द्रीय संघर्ष समितिले प्रतिनिधिसभा विघटनको विरुद्ध काठमाडौंमा आयोजना गरेको विरोधसभामा सम्बोधन गर्दै अध्यक्ष दाहालले आगामी दिनमा केपी ओली प्रवृत्तिविरुद्ध भित्रभित्रै संघर्ष गर्ने र त्यस्तो प्रवृत्तिलाई अघि बढाउने भुल नगर्ने बताए । उनले भने, ‘म तपाईं जनसमुदायलाई साक्षी राखेर के प्रतिज्ञा गर्न चाहन्छु भने अब हामी त्यस्तो केपी प्रवृत्तिजस्तो प्रवृत्तिप्रति उदार भएर भित्रभित्र संघर्ष गर्ने अनि उनको प्रवृत्तिलाई अगाडि बढाउन त्यस्तो खालको भुल अब हामि गर्ने छैनौं । म प्रतिबद्धता र संकल्प गर्न चाहन्छु ।’
अध्यक्ष प्रचण्डले जनयुद्धका घाइते र अपांगलाई उपचार गराउन सरकारलाई आग्रह गरेको भए पनि नमानेको र अहिले आफू अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीले प्रचण्डले केही नगरको भनि आरोपित गरेको बताए । उनले भने, ‘सरकारलाई मैले पटक–पटक यी घाइते अपांगको उपचार हुनुप¥योा । पहिले खाइपाइ आएको मासिक भत्ता पनि खोसिदिएछ यो सरकारले त झन् । गृह प्रशासन पनि केपीले जे भन्यो त्यहि मान्नेछ । मैले धरैचोटी भन्दा कहीँ कतै टेडपुच्छर लाइएन, उल्टो मासिक भत्ता खोसियो । घाइतेको उपचार गर्ने कुरालाई पूरै बेवास्ता गरियो । पार्टी विभाजन र आफू अल्पमतमा परेपछि म सुन्छु घाइते अपांगलाई हेर्नुपर्दैन भन्ने यही केपी । फट्याई गर्न पनि कति सकेको ? जालझेल गर्न नि कस्तो दिमाग हो ?’
अध्यक्ष प्रचण्डले कालिबहादुर खामको मुद्दा ठीक ढंगले हल गर्न लगातार लागिरहेको बताए । उनले भने, ‘कालिबहादुर खाम खोई अरे ? त्यो कालिबहादुर खाम बिचरा आफैंले केही गरेको त होइन । उसको मुद्दा ठीक ढंगले हल होस् भन्नका लागि दश, एघार वर्षदेखि लगातार लागेको छु । उसलाई परेको साह्रो गाह्रो हेर्न मैले लगातार बल गरेको छु । अहिले त कालीबहादुर खाम तपाईंलाई प्रचण्डले हेर्दैन, जनमुक्ति सेनाको कमाण्डरलाई जसलाई मैले १० वर्ष स्कुलिङ गरेर, हुर्काएर, माया गरेर, विकास गरेर एउटा ठाउँमा पु¥याएको । ती मान्छेको चाहिँ अब केपी ओलीले संरक्षण गर्ने रे । आमाको दूध चुसेर भएन बाको घुँडो । जनमुक्ति सेनाका सबै कमाण्डर, योद्धा, घाइते साथीहरू भ्रमित नहुनुहोला ।’
अध्यक्ष प्रचण्डले जनमुक्ति सेनाको रगत, पसिना र बलिदानीले नेपालमा गणतन्त्र स्थापना भएको कुरा इतिहासमा स्वर्णिम अक्षरमा लेखिइसकेकोले इतिहासलाई कालो पोत्ने काम नगर्न जनमुक्ति सेनालाई अपिल पनि गरे ।
ओली कम्युनिष्ट आन्दोलनभित्रको घातक तत्व : खनाल
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको भगौडा भएको टिप्पणी गरेका छन ।
शुक्रबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को केन्द्रीय संघर्ष समितिले प्रतिनिधि सभा विघटनको विरुद्धमा आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै बरिष्ठ नेता खनालले ओली नेकपाको भगौडा भएको टिप्पणी गरे । नेकपा क्रान्ति र प्रतिक्रान्तिको विभिन्न श्रृङ्खला पार गर्दै ७१ वर्ष पार गरेको स्मरण गर्दै उनले केपी ओली कम्युनिष्ट आन्दोलनभित्रको घातक तत्व रहेको बताए । ओली नेकपाको अध्यक्ष बन्न लायक नरहेको उनको भनाइ छ । ओलीले सानो गुट बनाएर पार्टीलाई चोइट्याएको उनले बताए । नेकपा बलियो र सुदृढ भएको भन्दै सुदृढ पार्टीमा गलत मान्छे बस्न नसक्ने र ओलीले प्रतिगमन गरेका कारण पार्टीबाट आफै भाग्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
बरिष्ठ नेता खनालले संसद विघटनलाई प्रधानमन्त्री ओलीले राजनीतिक कदम भन्नेगरेको भन्दै यो राजनीतिक कदम नभई प्रतिगमनकारी कदम भएको बताए । प्रधानमन्त्रीले संविधान अनुसार चल्नुपर्ने उहाँको भनाइ छ । प्रधामन्त्री ओलीले जनताले स्थिरताको निम्ति दिएको जनादेशविरुद्ध आक्रमण गरेको तथा संविधानलाई च्यातेर ध्वंसको थालनी गरेको उनले बताए । उहाँले जनता कतातिर छन् भनेर सडकमा आएर हेर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।
बरिष्ठ नेता खनालले संविधानले बनाएको सर्वोच्च अदालत भएकाले सर्वोच्चले संविधान बाहिर गएर कुनै व्याख्या विश्लेषण गर्न नमिल्ने बताए । सर्वोच्चले संसद पुनस्र्थापना गर्नुको विकल्प नभएको उनको भनाइ छ ।