प्रधानमन्त्री कप क्रिकेटबाट सुदूरपश्चिम प्रदेश बाहिरियो «

प्रधानमन्त्री कप क्रिकेटबाट सुदूरपश्चिम प्रदेश बाहिरियो

राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सुदूरपश्चिम बाहिरिएको छ ।
मूलपानी मैदानमा लुम्बिनी प्रदेशसँग ६ विकेटले पराजित भएको सुदूरपश्चिम बाहिरिएको हो । तीन खेलबाट दोस्रो जित निकालेको लुम्बिनीले अघिल्लो चरणको यात्रालाई जीवन्त राख्दा हारेको सुदूरपिश्चमले लगातारका तीन खेलमा पराजय भोग्दै जारी प्रतियोगिताबाट बाहिरिएको छ । सुदूरपश्चिमको एक खेल भन अझै बाँकी छ ।
सजह जित निकालेको लुम्बिनीले सुदूरपश्चिमले प्रस्तुत गरेको ६३ रनको लक्ष्य १४.४ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो । लुम्बिनीको जितमा सौरभ खनालले अविजित १८ रन जोड्दा प्रकाश केसीले पनि नटआउट १७ रन जोडे । कप्तान कृष्ण कार्कीले १५ रनको योगदान गर्दा ओपनर देव खनाल ९ रनमा पवेलियन फर्किएका थिए । सुदूरपश्चिमका शेर मल्लले २ विकेट लिए । विनोद लामाको नाममा एक विकेट रह्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २७.४ ओभरमा सबै विकेटले गुमाएर मात्र ६२ रन जोड्न सक्यो । यस्तै नारायण जोशीले सर्वाधिक १७ रन जोड्दा कप्तान सन्तोष भट्टले ११ रनको योगदान गरे । तीन खेलाडी शून्यमा पवेलियन फर्किँदा केही ब्याट्स १० भित्र समेटिएको थियो । सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका कृष्ण कार्कीले ४ विकेट लिए । अनिल खरेल र बिक्रम भुसालले २÷२ विकेट लिए । जितसँगै समूह ‘बी’ को लुम्बिनीले ३ खेलमा ४ अंक जोडेको छ ।
लुम्बिनी दोस्रो स्थानमा उक्लिएको छ । लुम्बिनीले पहिलो खेलमा प्रदेश–२ लाई ७७ रनले हराएको थियो भने दोस्रो खेलमा पुलिसलाई ७४ रनको नतिजा सुम्पिएका थियो । लगातार तीन खेलमा पराजय भोगेको सुदूरपश्चिम यस अघि बागमती प्रदेश र पुलिससँग पराजित भएको थियो ।

प्रधानमन्त्री कप क्रिकेटमा बागमती प्रदेशको तेस्रो जित
पृथु बास्कोटाको अर्धसतकको मद्दतमा बागमती प्रदेशले प्रदेश–२ माथि ६ विकेट जित निकाल्दै जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।
मूलपानीको मैदानमा प्रदेश–२ ले ४८.२ ओभरमा सबै विकेट गुमाएर दिएको १ सय ८० रनको लक्ष्य बागमती प्रदेशले ४८.२ ओभरमा ४ विकेट गुमाएर भेटाउन सफल भयो । बागमतीका पृथु बास्कोटा ५३ रनमा नटआउट रहे । विभात्सु थापा अर्धसतक बनाउन तीन रनले चुक्दा ओपनर आकाश थापाले ३२ रनको योगदान गरे । इसान पाण्डे हरिशंकर शाहको बलमा बोल्ड हुँदा उनको नाममा दुई किवेट रह्यो । यस्तै विशाल सुस्लिङ र कुमार थापाले एक÷एक विकेट लिए ।
यस अघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश–२ ले १ सय ७९ रन जोडेको थियो । ७ विकेट गुमाउँदा ६९ रन जोडेको प्रदेश–२ का लागि विवेक यादवले सर्वाधिक ६६ रनको पारी खेल्दै धरमराएको इनिङलाई सम्हालेका थिए ।
राहुला प्रताप सिंहले २२ रनको योगदान गर्दा कुमार थापाले २२ रन जोडे । कप्तान सुरज कुर्मीले १३ रन जोड्दा सुधीर चौधरीले १५ रनको पारी खेल्दै पवेलियन फर्किए । बागमती प्रदेशका लागि गौतम केसीले सर्वाधिक ४ विकेट निकल्दा रामनरेश गिरिले २ तथा नन्दन यादव, विपिन आर्चाय र तिलक भण्डारीले समान १÷१ विकेट आफ्नो नाममा लेखाए ।
जितसंगै बागमतीले ३ खेलमा ६ अंक जोडेको छ । समूह ‘बी’ ले अन्तिम चारको ढोका बलियो बनाएको छ । शीर्ष स्थानको बागमतीले यस अघि पुलिस र सुदूरपश्चिमलाई हराएको थियो । प्रदेश–२ को यो लगातार दोस्रो हार हो । प्रदेश–२ ले तालिका अंक जोड्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्