राष्ट्रिय फुटबलको ४४ जनाको जम्बो टोली प्रशिक्षण गर्न पोखरामा «

राष्ट्रिय फुटबलको ४४ जनाको जम्बो टोली प्रशिक्षण गर्न पोखरामा

पोखरा-नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबारदेखि पोखरामा प्रशिक्षण सुरु गरेको छ । पोखरा रंगशालामा हालै निर्माण भएको अन्तर्राष्ट्रिय फुटबल स्टेडिएममा नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो पटक प्रशिक्षण हुन शुक्रबारदेखि सुरु भएको टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायले बताए ।
उनका अनुसार ३५ जना खेलाडी, ९ जना अपिसियलसहित ४४ जनाको टोली हाल बन्द प्रशिक्षणका लागि पोखरामा छ । यही माघ २१ गतेसम्म टोली पोखरामा रहने भएको छ भने खेलाडीहरूको टोलीलाई रिफ्रेसमेन्ट तालिमसहित २÷३ घण्टाको हाइकिङसमेत गर्ने योजना रहेको व्यवस्थापक उपाध्ययायले बताए । पोखरामा खेलाडीहरूको छनोट नभए पनि प्रशिक्षकहरूले खेलाडीहरूको खेल कौसलको मूल्याङ्कन गर्ने खेलाडी छनौट भने काठमाडौंमै हुने भएको उनले जनाए । कोरोनाले गर्दा प्रभावित भएको खेलकुदलाई पोखरामा यस्तो प्रशिक्षण हुनुले पनि खेलकुदलाई अघि बढाउनुपर्छ भन्ने सन्देश प्रवाह भएको व्यवस्थापक उपाध्ययायले बताए ।
विराट महर्जन, रोहित चन्द, विकेस कुथु, अभिषेक रिजाल, विशाल राई, नवयुग श्रेष्ठ लगायतका खेलाडीहरू पोखरामा आएका छन् । त्यस्तै प्राविधिक कारणले गर्दा सुमन अर्याल, रन्जित धिमाल र रविशंकर पासवान पोखरामा भएको प्रशिक्षणमा सहभागी भएका छैनन् ।
विश्वकप छनोट खेलको पूर्वतयारी स्वरूप बन्द प्रशिक्षका लागि आएको टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन र सहायक प्रशिक्षकमा किरण श्रेष्ठ छन् । राष्ट्रिय टोलीले पोेखरामा प्रशिक्षण गर्दा आफूहरू निकै खुसी भएको कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले बताए । हालै निर्माण भएको उक्त मैदानमा नेपाली खेलाडीहरूले प्रशिक्षण गर्नु पोखराका लागि समेत निकै खुसीको कुरा भएको उनले जनाए । उक्त टोली बिहीबार पोखरा आएको थियो । करिब १ अर्ब २८ करोडको लागतमा उक्त फुटबल स्टेडिएम हालै निर्माण भएको हो । १३ औं सागको महिलातर्फको फुटबल खेल पोखरा रंगशालामा भएको थियो ।
सन् २०२२ को विश्वकपअन्तर्गत एसियाली छनोटको समूह बीमा रहेको नेपालले आगामी मार्चमा चाइनिज ताइपेई र अष्ट्रेलियासँग घरेलु मैदानमा खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्