जेसीबीका तीन नयाँ एक्स्क्याभेटर नेपालमा «

जेसीबीका तीन नयाँ एक्स्क्याभेटर नेपालमा

नेपालका लागि जेसीबी ब्रान्डका हेभी इक्युपमेन्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्स प्रालिले विभिन्न क्षमताका तीन नयाँ एक्स्क्याभेटर सार्वजनिक गरेको छ । एमएडब्लू अर्थमुभर्सले ३ टनको जेसीबी ३० प्लस, ३० टनको जेसीबी ३०५ एलसी र ३८ टनको जेसीबी ३८० एक्स्क्याभेटर नेपाली बजारमा भित्र्याएको हो ।
नयाँ प्रडक्ट लाइन–अपसँगै, जेसीबीले आफूलाई पूर्ण निर्माण उपकरण साझेदारका रुपमा स्थापित गरेको छ । नेपालको तीन वटै तहका निर्वाचनसम्पन्न भएसँगै भौतिक पूर्वाधार निर्माणले गति पाउन थालेको परिप्रेक्षमा एक्स्क्याभेटरका नयाँ मोडेलहरु नेपाल ल्याइएका हुन् । लामो समयदेखि रोकिएको विकास निर्माणको कार्य अब सुचारु भएकाले निर्माण उपकरणको माग बढ्ने कम्पनीले जनाएको छ । “विभिन्न प्रकारका निर्माणका लागि आवश्यक फरक–फरक क्षमताको माग भएकाले हामीले नयाँ एक्स्क्याभेटरहरु नेपाली बजारमा ल्याएका हौं,” राजधानीमा आयोजित जेसीबी कन्क्वेष्ट इभेन्टमा एमएडब्लू अर्थमुभर्सका सेल्स एन्ड मार्केटिङ हेड दिपकराज गिरीले भने, “अब हामीसँग एक्स्क्याभेटरको कम्प्लिट रेन्ज उपलब्ध छ ।”
बजारमा जेसीबीको जेएस ८१, जेएस १४०, जेएस२०५, जेसीबी २२० एलसी एक्स्ट्रा पहिलेदेखि नै उपलब्ध छन् । नयाँ उत्पादनसँगै अब जेसीबीसँग फरक फरक प्रकृतिका कामका लागि ३, ८, १४, २०, २२, ३० र ३८ टनका गरी सात प्रकारका एक्स्क्याभेटर उपलब्ध हुनेछन् । परियोजनाको आकार ठूलो हुन थालेपछि निर्माण व्यवसायीहरुको नजरमा ठूला क्षमताका मेसिनहरु पर्न थालेका छन् । यस्ता मेसिनले उत्पादकत्वलाई बढाउनुका साथै इन्धनको खपतलाई समेत घटाउँछ । जेसीबीका मेसिनहरुमा यस्ता विशेषता रहेको गिरीले बताए । एमएडब्लु अर्थमुभर्सले केही समयअघि मात्र २० प्रतिशत डाउन पेमेन्ट अफर ल्याएको थियो जुन नेपालमै पहिलो पटक थियो । नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा जेसीबीको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी रहेको दाबी कम्पनीको छ । ब्याकहो र एक्स्क्याभेटर बाहेक नेपाली बजारमा जेसीबीका रोलर, कम्प्याक्टर, ह्विल लोडर, लोडअल, रोबोट र जेनसेट उपलब्ध छन् । देशभर १२ स्थानमा ‘थ्रि एस’ सुविधासहितको शाखा, चार वटा आधिकारिक विक्री केन्द्र (एआरओ) र एक सय ६६ जना सर्भिस इन्जिनियर जेसीबीका ग्राहकको सेवामा सदा तत्पर छन् । जेसीबीले विक्रीपछिको सेवालाई जोड दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्