ओलीले देश दुर्घटनामा पु-याए : सिटौला «

ओलीले देश दुर्घटनामा पु-याए : सिटौला

झापा- कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले केपी ओलीले पार्टी भित्रको आन्तरिक किचलो मिलाउन नसकेको कारण देश दुर्घटनामा गएको बताएका छन् । प्रतिनिधिसभा विघटन भएपछि पहिलो पटक गृहजिल्ला झापा आएका सिटौलाले जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्रीले घर सम्हान नसकेर अनौतीक र असंवैधानिक कदम चालेको बताए ।
उनले ओलीले देशमा अराजकता निम्त्याएको दाबी समेत गरे । “उहाँ (प्रधानमन्त्री )को विषयमा धेर बोलेर समय खर्चनु छैन,” नेता सिटौलाले भने, “संविधानमा नभएको काम गरेर संवैधानिक काम गरे भन्ने मानिसलाई के भन्नु, के सम्झाउनु ? उहाँले गरेको कामले संविधान माथि प्रहार गरेको छ ।” नेपाली कांग्रेसले प्रधानमन्त्रीको कामलाई असंवैधानिक र अलोकतान्त्रिक भनिसकेको बिषयमा धेरै बुझाउनु र व्याख्या गर्नुको अर्थ नभएको उनको टिप्पणी छ ।
प्रधानमन्त्री एउटा गिरोह, समूहसँग रमाउने मानिस भएको तर्क गरेका नेता सिटौलाले उनको तीन वर्षे कार्यकाल भ्रष्टाचार गर्ने मानिसलाई संरक्षण गर्न र कार्यकर्तालाई भरणपोषणमा नै बितेको बताए । सर्बोच्च अदालतमा बिचाराधीन विषयमा बोल्न हुँदैन भन्ने कुरा उनले अस्वीकार गरे । “संविधान न्यायाधीशको मात्रै सरोकारको विषय होइन,” उनले भने, “संविधान साझा सरोकारको बिषय हो, सडकबाट पनि त्यो बिषयमा बोल्न पाइन्छ, कसैमा दुविधा छैन, रहनु हुँदैन ।” संविधान राजनीतिक दलहरूले बनाएको हो भन्दैमा आफू र आफ्नो पार्टीका लागि जे गर्न मन लाग्यो त्यही गर्ने छुट कसैलाई नभएको र प्रधानमन्त्रीमा त्यो भ्रम छ भने त्यो समेत त्याग्न नेता सिटौलाले आग्रह गरे । प्रधानमन्त्री संसद भन्दा ठूलो नभएको टिप्पणी गरेका उनले प्रधानमन्त्रीको सनकले देश दुर्घटनाग्रस्त भएको बताए ।
गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले संसद विघटन गर्दा पनि देशमा अशान्ति छाएको चर्चा गरेका नेता सिटौलाले त्यसबेला राजनीतिक कोर्ष फेरिएको र २०४७ को संविधान नै गुमेको स्मरण गरे । संविधान मस्यौदा समितिका सभापति समेत रहेका उनले हुँदै नभएको अधिकार प्रयोग गरे प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेकाले अदालतले पुनस्थापना गर्ने विश्वास व्यक्त गरे ।
“यो व्यक्तिगत आवेग र उत्तेजनामा गरिएको नकाम हो,” नेता सिटौलाले भने, “न्यायालय अनैतिक कदमको साक्षी बन्दैन, बन्न मिल्दैन ।“ कांग्रेस पार्टीमा प्रतिनिधिसभा विघटनका बिषयमा दुईमत नरहेको स्पष्ट पारेका सिटौलाले देशलाई दुर्घटनाबाट जोगाउनकै लागि लामो बहस र छलफलपछि लचिलो र संसारकै गतिलो संविधान बनाएको बताए । उनले त्यही संविधान ध्वस्त पार्न केपी ओली लागेको देखेर आफू आश्चर्य चकित भएको उनको तर्क छ ।
स्वेच्छाचारी ढंगले प्रधानमन्त्री अघि बढेको पटकपटक दोहो¥याएका सिटौलाले त्यसको विपक्षमा जनमत निर्माणका लागि एकताबद्ध प्रयासको खाँचो औंल्याए । कांग्रेस जनस्तरसम्म पुगेको बताएका उनले प्रतिनिधिसभा विघटन हुँदा केपी ओली समूहका मानिसले चुइक्क नबोल्नु उदेकलाग्दो पाटो भएको बताए । कार्यकर्तालाई आन्दोलनका लागि सदैव तयार रहन आग्रह गरेका उनले सदन नहुँदा सडकबाट गलत कामको बिरोध गर्नुपर्ने र बारम्बार कांग्रेसले त्यो गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्