आन्तरिक राजस्व कार्यालय पोखरामा २ अर्ब १५ राजस्व संकलन «

आन्तरिक राजस्व कार्यालय पोखरामा २ अर्ब १५ राजस्व संकलन

पोखरा-आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्ष २०७७-०७८ को पुस मसान्तरसम्म ६ महिनामा २ अर्ब १५ करोड ९१ लाख २० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । २ अर्ब ५० करोड ८० लाख १६ हजार राजस्व संकलनको लक्ष्य भए पनि कोभिड–१९ ले गर्दा ८६.०९ प्रतिशतले राजस्व संकलन गर्न सफल भएको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी (कर अधिकृत) विजयप्रसाद लामिछानेले बताए ।
कोभिड–१९ का कारणले आफूहरुले ६ महिनामा १३.९ प्रतिशत अर्थात ३४ करोड ८८ लाख ९६ हजार राजस्व संकलन गर्न नसकेको उनले बताए । चालु आर्थिक वर्षको कार्तिक मसान्तरसम्म कार्यालयले ८० प्रतिशत अथवा १ अर्ब ५१ करोड २० लाख राजस्व संकलन गर्न सफल भएको थियो । कोरोनाको प्रभाव कम भएसँगै विस्तारै आर्थिक कृयाकलाप चलायमान हुन थालेपछि करदाताहरु कर तिर्न कार्यालयमा आउन थालेको सूचना अधिकारी लामिछानेले बताए ।
कार्यालयले पुस मसान्तरसम्म आयकर तर्फ १ अर्ब २९ करोड २२ लाख १९ हजार संकलन गरेको छ । १ अर्ब ४४ करोड १० लाख ५८ हजार रुपैयाँको लक्ष्य भएकोमा कार्यालयले ८९.६७ प्रतिशत मात्र लक्ष्य हासिल गर्न सफल भएको सूचना अधिकारी लामिछानेले बताए । त्यस्तै व्यावसायिक घर बहाल करतर्फ २ करोड ३५ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । ७ करोड ५८ लाख ८ हजारको लक्ष्य भए पनि कार्यालयले ६ महिनामा ३१.०३ प्रतिशत मात्र लक्ष्य हासिल गरेको हो । त्यसैगरी कार्यालयले पुस मसान्तरसम्म व्याजतर्फ १ सय १० प्रतिशत अर्थात १४ करोड ९६ लाख १ हजार राजस्व संकलन गर्न सफल भयो ।
त्यस्तै मूल्य अभिवृद्धिकर तर्फ ७७ प्रतिशत लक्ष्य हासिल गर्दा ५७ करोड ७ लाख ६६ हजार राजस्व संकलन भएको छ भने अन्तः शुल्कतर्फ १ सय २२ प्रतिशतले लक्ष्य हासिल भएको सूचना अधिकारी लामिछानेले जनाए । ६ महिनामा कार्यालयले अन्त शुल्कबाट १२ करोड २७ लाख १५ हजार राजस्व संकलन गरेको हो भने लक्ष्य १० करोड १५ हजार मात्र रहेको थियो ।
यस चालु आ.व.को पुस मसान्तरसम्म उक्त कार्यालयबाट व्यक्तिगत स्थायी लेखा नम्बर ९९ हजार ३ सय ३८ जना ले लिएका छन् । कास्की र स्याङजा जिल्ला कार्यक्षेत्र भएकाले उक्त कार्यालयमा हालसम्म १ लाख ५२ हजार २ सय ४ जना करदाता रहेका छन् भने व्यवसायी स्थायी लेखा नम्बर लिनेको संख्या ५२ हजार ८ सय ३२ जना रहेको छ । मूल्य अभिवृद्धि करमा ११ हजार १ सय २० जना दर्ता भएका छन् । चालु आर्थिक वर्षमा कार्यालयले ४ अर्ब ८२ करोड २७ लाख राजस्व संकलन गर्ने लक्ष्य प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्