नेपालगन्ज भन्सारमा ६ महिनामा १३०% राजस्व असुली «

नेपालगन्ज भन्सारमा ६ महिनामा १३०% राजस्व असुली

नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा १३०.५५ प्रतिशत राजस्व असुली गरेको छ । चालु आर्थिक वर्षको पुस मसान्तको लक्ष्य ७ अर्ब ५८ करोड रहेकोमा ९ अर्ब ९० करोड अर्थात १३०.५५ प्रतिशत राजस्व असुली गरेको हो । यो रकम लक्ष्य भन्दा २ अर्ब ३२ करोड रुपैया बढी भएको कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले बताए ।
गत आर्थिक वर्ष २०७६-०७७ मा लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको कार्यालयले यस वर्ष भने उत्साहजनक रुपमा राजस्व असुली गरेको हो । गत आर्थिक वर्षको पुस मसान्तमा ७ अर्ब ९८ करोड लक्ष्य रहेकोमा ५ अर्ब ९१ करोड असुली प्रगती गरेको थियो । चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको सोही अवधीको तुलनामा करिव ४ अर्ब बढी असुली भएको कार्यालयले जनाएको छ । गत आर्थिक २०७६-०७७ मा ११ अर्ब ७७ करोड अर्थात लक्ष्यको ७६ प्रतिशत मात्रै राजस्व असुली गरेको थियो । कार्यालयको यस वर्ष १५ अर्ब १८ करोड ९२ लाख ८५ हजार राजस्व असुली गर्ने लक्ष्य रहेकोमा ६ महिनामा करिव १० अर्ब राजस्व संकलन भइसकेकोले सो लक्ष्य सजिलै पूरा हुने संकेत देखिएको प्रमुख भन्सार अधिकृत भण्डारीको भनाइ छ ।
भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७७-०७८ को पहिलो महिनामा १७७ प्रतिशत राजस्व असुली गरी सुरुवातमै राम्रो संकेत देखिएको छ । त्यस्तै भदौमा १ सय ३७ प्रतिशत, असोजमा १ सय २, कात्र्तिकमा १ सय २१, मंसिरमा १ सय २५ प्रतिशत राजस्व असुली गरेको छ । कार्यालयले यस वर्ष राजस्व असुली कम हुने पुस महिनामा समेत १३८ प्रतिशत राजस्व संकलन गरेको जनाएको छ ।
लामो समयदेखि कोरोना महामारीका कारण नाका बन्द हुनुका साथै चोरी पैठारीमा कडाई, प्रशासनिक दक्षता, जाँचपासमा सुधारलगायतका कारणले यो आर्थिक वर्षको वार्षिक लक्ष्य सजिलै पूरा हुने अपेक्षा गरीएको प्रमुख भन्सार अधिकृत भण्डारीले बताए । कोरोना महामारीका कारण लामो समयसम्म नाका बन्द हुँदा गत आर्थिक वर्षमा लक्ष्य भेटन नसकेपछि चालु आर्थिक वर्षमा स्थानीय प्रशासन र भन्सार कार्यालयले चोरी निकासीमा कडाई गर्नुका साथै सीमा नाकामा भन्सार गस्ती बढाइएको छ । जस्का कारण राजस्व असुली तीव्र रुपमा बढेको नेपालगन्ज भन्सारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्