आर्थिक क्रान्तिको उद्घोष गर्ने सरकार प्रतिगमनतिरै «

आर्थिक क्रान्तिको उद्घोष गर्ने सरकार प्रतिगमनतिरै

सरकार आर्थिक विकास र क्रान्तिको कुरामात्र गर्ने तर व्यवहारमा सत्ता लम्ब्याउन राजनीति नै फोहोर पार्ने खेलमा संलग्न भएपछि झन् निराशाजनक अवस्था सिर्जना भएको छ ।

कोरोना महामारीका बाबजुद मुलुकको आयात तथा निर्यात व्यापारमा कुनै तात्विक फरक आएको छैन । कोरोना कहरका कारण सहर छाडेर गाउँ फर्किएका नागरिक तथा वैदेशिक रोजगारीबाट फर्किएका युवा पनि गाउँमा कृषिमा रमाउलान् भन्ने अपेक्षाअनुरूप नहुँदा पनि कृषिवस्तुको आयात प्रतिस्थापन हुन सकेन । रोजगारीमूलक तथा व्यावसायिक कृषिमा संलग्न हुन चाहनेका लागि पनि पालिकाहरू तथा सरकारको कुनै प्रोत्साहन वा नीतिगत व्यवस्था नहुँदा न त कृषिमा सम्मानजनक रोजगारी नै सिर्जना भयो, न त कृषिवस्तु आयातमा कमी नै आयो ।
सरकार आर्थिक विकास र क्रान्तिको कुरामात्र गर्ने तर व्यवहारमा सत्ता लम्ब्याउन राजनीति नै फोहोर पार्ने खेलमा संलग्न भएपछि झन् निराशाजनक अवस्था सिर्जना भएको छ; अन्यथा कोरोना कहरले चुनौतीसँगै एउटा अवसर पनि सिर्जना गरेको थियो । गाउँगाउँमा रहेका युवा परिचालन गरेर कृषिक्रान्ति गर्ने, जसबाट कमसेकम कृषिवस्तुको आयात घट्न गई नेपालको परनिर्भरता कम हुन सक्थ्यो, तर त्यसो हुन सकेन । साउनदेखि पुससम्मका ६ महिनामा मुलुकमा साढे ६ खर्ब रुपैयाँबराबरको वस्तु तथा सेवाको आयात हुँदा ६० अर्बको मात्र निर्यात हुन सकेको छ ।
भन्सार विभागका अनुसार मासिक आयात १ खर्बभन्दा बढी छ भने निर्यात १० अर्बमै सीमित भएको छ । साउनदेखि पुस मसान्तसम्म आयातमा ६ खर्ब ६१ अर्ब २४ करोड ५३ लाख ९४ हजार रुपैयाँको आयात भएको छ । अघिल्लो वर्षको साउनदेखि पुससम्ममा ६ खर्ब ९४ अर्ब ६९ करोड ३७ लाख २२ हजार रुपैयाँको आयात भएको थियो । अर्थात् अघिल्लो वर्षको तुलनामा तथ्यांकमा आयातमा सामान्य कमी देखिए तापनि उल्लेख्य सुधार हुन सकेको छैन ।
आयात घट्नुको कारण उत्पादन वृद्धि भएर होइन कि कोरोना कहर हो । त्यसैले आयात प्रतिस्थापन गर्न तथा निर्यात बढाउन सरकारको कठोर निर्णय, कार्यान्वयनमा दृढता तथा नीतिगत सम्बोधनको आवश्यकता पर्छ ।
विभागकै तथ्यांकअनुसार पुस मसान्तसम्ममा निर्यात बढेर ६० अर्ब ७९ करोड ९२ लाख वस्तु तथा सेवा निर्यात भएको छ । तर, गत वर्षको सोही अवधिमा ५७ अर्ब २७ करोड ९७ लाख वस्तु निर्यात भएको थियो । अर्थात् निर्यातमा पनि कुनै सुधार भएको होइन । कोरोना कहरका कारण बन्द रहेका उद्योगधन्दा, कलकारखाना पूर्ण रूपमा चालू नभएका कारण पनि निर्यातमा उल्लेख्य सुधार हुन नसकेको भन्न सकिन्छ । तर, अघिल्ला आर्थिक वर्षहरूमा स्थिति सामान्य रहँदा पनि निर्यातमा खासै सुधार भएको देखिएको थिएन भने आयात झन् बढी हुने गरेको थियो । आयात बढ्ने र निर्यात नबढ्ने कारण नेपालको व्यापारघाटा सदाझैं बढ्दो गतिमै छ ।
६ महिनासम्मको अवधिमा वैदेशिक व्यापारघाटा ६ खर्ब ४४ करोड ६१ लाख पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ६ खर्ब ३७ अर्ब ४१ करोड ३९ लाख वैदेशिक व्यापारघाटा बेहोरेको थियो, जुन चालू आर्थिक वर्षमा कोरोना कहरका कारण नगण्य मात्रामा घटेको देखिन्छ । कोरोना कहरकै कारण कुल वैदेशिक व्यापारमा कमी आएको छ ।
गत आवको पुस मसान्तसम्ममा ७ खर्ब ५१ अर्ब ९७ करोड ३४ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो भने चालू आवको सोही अवधिमा ७ खर्ब २२ अर्ब ४ करोड ४६ लाख रुपैयाँबराबरको वैदेशिक व्यापार गरेको छ । त्यसैले सरकारको प्रत्यक्ष हस्तक्षेपबिना नेपालको वैदेशिक व्यापारमा सुधार आउने कुनै लक्षण छैन । तर, सरकार भने अनावश्यक राजनीतिक तथा संवैधानिक बखेडा निकालेर आर्थिक क्रियाकलाप झन् संकुचित बनाउन उद्यत देखिन्छ । सात दशकको राजनीतिक लडाइँ संविधानसभाबाट संविधान घोषणा गरेपछि सकिएको र अब आर्थिक क्रान्तिको युग सुरु भएको उद्घोष गरेको वर्तमान सरकार राजनीतिक लडाइँमा नै रुमल्लिँदा मुलुकको भविष्य भने झन् अन्योलग्रस्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्