धार्चेमा माघ १५ गतेदेखि पर्यटन महोत्सव हुने «

धार्चेमा माघ १५ गतेदेखि पर्यटन महोत्सव हुने

गोरखाको धार्चे गाउँपालिकामा माघ १५ गतेदेखि धार्चे पर्यटन महोत्सव हुने भएको छ । धार्चे पर्यटन प्रवद्र्धन समितिको आयोजनामा माघ २५ गतेसम्म महोत्सव हुने भएको हो । समितिले सदरमुकाममा पत्रकार सम्मेलन गरेर महोत्सवका बारेमा जानकारी दिएको हो । समितिका अध्यक्ष मणी गुरुङले धार्चेका पर्यटकीय गन्तब्यको पहिचान र प्रचार प्रसार गरि आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन तथा स्थानीयस्तरमा रोजगारीको सृजना गर्ने उद्देश्यले महोत्सव आयोजना गरेको जानकारी दिए ।
महोत्सव अवधिभर क्यानोनिङ, रक क्लाइम्बिङ, जीपलाइन, बिच क्याम्पिङ, ¥याफ्टिङलगायतका साहसिक तथा मनोरन्जनात्मक खेल हुने उनको भनाइ छ । तातोपानीबाट माछाखोला हुँदै खानीबेसी बगरसम्म करीब डेढ घन्टा ¥याफ्टिङ हुनेछ । यसका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क कायम गरिएको छ ।
यस्तै, न्याउलीखोलामा २० र १० मिटरको दुई खण्डमा क्यानोनिङका लागि दुई सय रुपैयाँ, कासीगाउँवेशीमा रक क्लाईबिङका लागि एक सय पचास रुपैयाँ, खोर्लाबेशीमा ५० मिटरको दूरीमा अन्दाजी ३० मिटरमा उचाइमा हुने जीपलाइन खेलका लागि शुल्क कायम गर्न बाँकी रहेको अध्यक्ष गुरुङले बताए । यो खेलका लागि अधिकतम दुई सय रुपैयाँ कायम गर्ने छलफल भइरहेको उनको भनाइ छ । विभिन्न खेलका अतिरिक्त महोत्सव अबधिभर सांस्कृतिक कार्यक्रम पनि हुने आयोजकले जनाएको छ । मेलामा हुने विभिन्न खेलमा करीब ५ सय जना सहभागी हुने आयोजकको अपेक्षा छ ।
काठमाडांै र पोखराबाट मेलामा आउनेका लागि यातायातसहितको व्यवस्था मिलाइएको अध्यक्ष गुरुङले बताए । उनीहरुलाई दुई रात र तीन दिनको प्याकेजका लागि प्रतिव्यक्ति ६३ सय रुपैयाँ शुल्क राखिएको छ । यसअन्तरगत काठमाडौं तथा पोखराबाट मेलास्थलसम्म आउने यातायातको व्यवस्थासहित विभिन्न खेलमा सहभागीताका साथै खान र बस्न निःशुल्क हुनेछ ।
मेला सम्पन्न गर्न करीब १८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । साहसिक खेलको टिकट बिक्री तथा आन्तरिक रुपमा संस्थाले खर्चको व्यवस्थापन गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । साहसिक खेलमार्फत धार्चेलाई चिनाउनका लागि पूर्वाधार विकासका सबै काम गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए । गाउँपालिकाभित्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त माउण्टेन गाइड ४ जना, पर्वतारोहण सम्बन्धि तालिम प्राप्त ८० जना, सगरमाथा आरोही ८ जना र ४ जना पर्वतारोहण सम्बन्धि प्रशिक्षक रहेका छन् । गाउँपालिकाले पर्यटन क्षेत्रमा कार्यरत थुप्रै जनशक्तिको दक्षता र अनुभवका आधारमा धार्चेको पर्यटन प्रबद्र्धन गर्ने योजना बनाएको अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्