नाग्म–गमगडी सडक स्तरवृद्धि «

नाग्म–गमगडी सडक स्तरवृद्धि

जुम्ला-हिउँदमा हिलाम्य र बर्खामा धुलाम्य हुने नाग्म–गमगडी सडकको यात्राबाट आजित नागरिक बल्ल राहत महसुस गरेका छन् । साँघुरो एक लेनको सडक, त्यसैमाथि हिलै हिलो, ठूला ठूला खाल्डाले सवारी नै फस्ने, एकैदिन गन्तव्यमा नपुग्ने, खर्च बढी लाग्ने नाग्म–गमगडी सडकको यात्रा निकै कष्टकर हुन्थ्यो । तर पछिल्लो समय सडक डिभिजन जुम्लाले सडक सुधारमा तीव्रता दिएसँंगै यात्रा सहज, सुरक्षित र छिटो हुँदा नागरिक खुसी छन् ।
नाग्म–गमगडी सडकको शून्यदेखि १३ किमि सडक ग्राभेल प्रक्रियामै रहे पनि १३ किमिदेखि मुगुतर्फको सडकमा उल्लेखनीय सुधार आएको छ । अधिकांश स्थानमा ग्राभेल भइसकेको, दुईलेन सडक तयार भएको, नाली बनाइसकेको अवस्था छ भने, बाँकी स्थानमा पनि काम धमाधम भइरहेको छ । कर्णाली राजमार्गभन्दा निकै सुरक्षित र फराकिलो बनाउने लक्ष्यका साथ नाग्म–गमगडी सडकको कामअघि बढेको छ ।
नाग्मदेखि गुठिज्युलासम्मको ४÷५ घण्टा लाग्ने करिब ३७ किमिको यात्रा अहिले २ घण्टामै पूरा हुन्छ भने साना ठूला यात्रुवाहक सवारीदेखि ठूला मालबाहक सवारी पनि सरर गुडिरहेको कनकासुन्दरीका स्थानीय दिपेन्द्रप्रसाद उपाध्यायले बताए । उनले भने, “पहिलो समय सडक डिभिजनले दिएको निरन्तरताले नाग्म–गमगडी सडकमा उल्लेखनीय सुधार भएको छ । यही गतिमा काम भए छिटै कालोपत्रे हुने आशा जगाएको छ ।” अब आन्तरिक तथा बाह्य पर्यटकलाई पनि ढुक्क भएर रारा ताल घुम्न जाने वातावरण भएको छ ।
यता सडक डिभिजन जुम्लाको चालू् आवभित्रै नाग्म–गमगडी सडकलाई ग्राभेल गरी सकाउने दाबी छ । पर्यटकीय मार्गका रूपमा हेरिने नाग्म–गमगडी सडकलाई चालू आवमा ग्राभेल सक्ने गरी काम भइरहेको छ ।
गत आर्थिक वर्षमा नाग्म–गमगडी सडकको ग्राभेल, स्तरवृद्धिका लागि करिब १४ करोड विनियोजित भएको थियो । त्यसमा ९ करोड ४८ लाखमात्रै खर्च भयो । तर ठेकेदारकै कारण बीचमा ग्राभेलको काम अलपत्र भयो । करिब १९ किलोमिटर ग्राभेल हुनुपर्नेमा ९ किलोमिटरमात्रै भएको छ ।
प्रमुख इन्जिनियर लीलाबहादुर भण्डारीले भने, “नाग्म–गमगडी सडकको ग्राभेल तथा सुधारका लागि ६ वटा ठेक्काबाट काम भएको छ । चालू आवमा नाग्म सडकको ९३ किलोमिटर सडक ग्राभेल गरेरै छाड्छांै ।”
हिमा गाउँपालिकाको क्षेत्रमा ग्राभेल गर्ने ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ ठेक्काबाट काम अघि बढाउने तयारी छ । दुई लेनको बनाउने लक्ष्यअनुसार नाग्म–गमगडी सडकको ४२ किलोमिटर सडक चौडाइ बनाएको प्रमुख भण्डारीको भनाइ छ ।
लकडाउनका कारण केही महिना काम रोकिए पनि साउन भदौ यता सडक डिभिजनले काम गरिरहेको छ । लकडाउनका कारण गत आवमा सडक डिभिजन कार्यालयमा जुम्ला, कालिकोट र मुगुमा सडक निर्माण, मर्मत सम्भार, पुल निर्माण, नयाँ ट्रयाक निर्माण ग्राभेललगायतका शीर्षकमा आएको करिब साढे ३९ करोड खर्च हुन नसकी फिर्ता भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले बताए । उनले भने, “विभिन्न ७ वटा शीर्षकमा विनियोजित ८६ करोड ४५ लाख बजेटमध्ये कोरोना त्रासका बीच पनि ४६ करोड ९३ लाख ३८ हजार खर्च भएको छ भने बाँकी ३९ करोड ५१ लाख ६४ हजार बजेट कोरोना त्रासले गर्दा चाहेर पनि खर्च गर्न सकिएन् ।” कोरोना त्रासले गर्दा ३९ करोड विकासे बजेट फिर्ता भएपछि विकास निर्माणमा बाधा भएको छ । तर पनि लकडाउनकै बीच सडक डिभिजनले दर्जनौं योजना सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्