कोरोना खोप भित्रिएपछि अर्थतन्त्रमा आशा «

कोरोना खोप भित्रिएपछि अर्थतन्त्रमा आशा

चैत ११ गतेदेखि १ सय २० दिन पूर्ण बन्दाबन्दी तथा त्यसपछि निषेधाज्ञामार्फत थलिएको अर्थतन्त्र खोपको आगमनपछि भने आशावादी देखिएको छ ।

भारत सरकारले सहयोगस्वरूप उपलब्ध गराएको कोरोनाविरुद्धको १० लाख डोज खोप नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार बालुवाटारमा भारत सरकारका तर्फबाट हस्तान्तरण गरे । नेपाललाई थप ४० लाख डोज खोप चाहिएको भए तापनि हाल फ्रन्टलाइनमा कार्यरतहरूका लागि कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आएको हो । पहिलो चरणमा कोरोनाविरुद्धको खोप फ्रन्टलाइनमा खट्ने सरसफाइकर्मी, चिकित्सक, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा संलग्न व्यक्ति, सुरक्षाकर्मीलगायतलाई दिइनेछ । खोपका लागि आवश्यक तालिम, कानुनी, प्रशासनिक, आर्थिक तथा प्राविधिक सबै तयारी पूरा भइसकेको छ । भारतले ‘छिमेकी पहिलो‘ नीतिअनुसार नेपाललगायत केही राष्ट्रलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराएको हो । तर, दोस्रो चरणमा नेपाललाई आवश्यक खोपहरू खरिद गर्न नेपाल सरकार तयार छ । यसबाट अर्थतन्त्रमा केही आशा जागेको छ । चैत ११ गतेदेखि १ सय २० दिन पूर्ण बन्दाबन्दी तथा त्यसपछि निषेधाज्ञामार्फत थलिएको अर्थतन्त्र खोपको आगमनपछि भने आशावादी देखिएको छ । त्यसमा पनि कोरोना कहरका कारण सबैभन्दा प्रभावित पर्यटन उद्योगमा बिहीबार कोरोना खोप नेपाल भित्रिएपछि ठूलो राहत हुने आशा गरिएको छ । किनकि कोरोनाविरुद्धको खोप नेपालमा आएसँगै यसले पर्यटन पुनरुत्थानमा ठूलो मद्दत पुग्नेछ । कोरोनाअगाडि २० लाख पर्यटकलाई स्वागत गर्न आतुर नेपाली पर्यटन उद्योग कोराना संक्रमण रोक्न सरकारले गरेको अचानकको बन्दाबन्दीले नराम्ररी थला प¥यो । नेपालका प्रमुख पर्यटकीय बजार भारत तथा चीन दुवै मुलुक कोरोनाका कारण बन्दाबन्दीमा परेपछि नेपालले पनि गत वर्षको चैत ११ गतेदेखि लकडाउन गरेको थियो । नेपालले अन्तर्राष्ट्रिय सीमा तथा अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गरेपछि स्थल तथा हवाई यातायातको प्रयोग गरी नेपाल आउने पर्यटक ठप्प नै भयो । कोरोना संक्रमण रोक्न विभिन्न मुलुकका सरकारहरूले पनि आवागमनमा नियन्त्रण गरेपछि नेपालमा मात्र होइन, विश्वकै पर्यटन उद्योग धराशायी भए । त्यसमा पनि नेपाललाई बढी नै मार प¥यो । तर, गत सातादेखि भारतमा पनि खोप लगाउने काम राष्ट्रिय अभियानकै रूपमा अगाडि बढाइएको कारण अब भारतीय पर्यटक नेपाल आउन असहज नहुने पर्यटन व्यवसायीको आशा छ । साथै चीनमा पनि खोपको अभियान यसअघि नै सुरु भइसकेको छ । यसरी चीन तथा मूलतः छिमेकी राष्ट्रहरूबाटै पर्यटक भिœयाउनका लागि सरकारले सहजता प्रदान गर्दै पर्यटन पुनरुत्थानमा आफूलाई केन्द्रित गर्नुपर्ने दायित्व थपिएको छ ।
साथै, न्यून निर्यातका कारण नेपालका लागि विदेशी मुद्राको एउटा प्रमुख स्रोत पर्यटन हो भने पर्यटन उद्योगबाहेक नेपालमा विदेशी मुद्रा भित्रिने अर्को प्रमुख स्रोत रेमिट्यान्स हो । रेमिट्यान्समा तत्काल कुनै असर नगरे पनि हाल वैदेशिक रोजगारीमा जाने नेपाली युवा कामदारको संख्या घटेबाट यसको प्रत्यक्ष असर केही महिनामा देखिने नै थियो । तर, कोरोनाविरुद्धको खोप नेपाल भित्रिएझैं श्रम गन्तव्यमा पनि कोरोनाविरुद्धको खोप आइसकेका कारण सरकारलाई राहत हुने देखिन्छ । तत्कालका लागि नेपालको अर्थतन्त्र डुब्नबाट जोगाउन सफल रेमिट्यान्समा पनि कोरोनाविरुद्धको खोपका कारण असर कम हुनेछ । चालू आर्थिक वर्षको ६ महिनामा गत आवको ६ महिनाभन्दा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या औसतमा साढे ८३ प्रतिशतले घटेको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार पुनः श्रम स्वीकृति लिनेको संख्या ७६ प्रतिशत र संस्थागत तथा नयाँ श्रम स्वीकृति लिनेको संख्या ९० प्रतिशतले घटेको छ । यसरी वैदेशिक रोजगारीका नयाँ श्रमिक जाने क्रम शतप्रतिशत कमी आएका कारण अबका केही महिनापछि आउने रेमिट्यान्समा असर देखिने आंकलन थियो । तर, कोरोनविरुद्धको खोप नेपाल, भारत तथा चीनमा मात्र होइन, नेपालीका प्रमुख श्रम गन्तव्य मुलुकमा पनि भित्रिएको तथा मुलुकमा प्रशस्त रोजगारी नभएका कारण नेपालबाट पनि खोप लगाएरै भए पनि नेपाली युवा वैदेशिक रोजगारीमा जाने हुनाले रेमिट्यान्समा असर नपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्