बैंकको किस्ता तिर्न बैंकबाटै ऋण «

बैंकको किस्ता तिर्न बैंकबाटै ऋण

कोभिड–१९ महामारीका कारण आयस्रोत खुम्चिएपछि बैंकको साँवा तथा ब्याजको किस्ता तिर्नका लागि पुनः बैंकबाटै ऋण लिने प्रवृत्ति बढेको छ । बैंकहरूलाई वित्तीय विवरण राम्रो देखाउनुपर्ने दबाब तथा ऋणीलाई कालोसूची र धितो लिलामीबाट बच्नका लागि नयाँ ऋण लिएर पुरानो किस्ता तिर्ने क्रम बढेको हो ।
व्यवसायीहरूले कर्जा लिएर किस्ता तिर्न थालेपछि आर्थिक वर्षको त्रैमासिक तथा अर्धवार्षिक खाताबन्दीका महिनाहरूमा बैंकहरूको कर्जा ह्वात्तै वृद्धि हुन थालेको छ । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरूले पुस महिनामा मात्र डेढ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । कोभिडका कारण सुस्त भएको कर्जा पुसमा एक्कासी वृद्धि भएपछि ऋण तिर्नैकै लागि बैंकबाट थप कर्जा प्रवाह भएको र यसले वित्तीय संकट निम्त्याउने विज्ञहरूको भनाइ छ । बैंकहरूले त्रैमासिक तथा अर्धवार्षिक रूपमा खाता बन्द गर्दा कर्जा राम्रो देखाउनका लागि सर्वसाधारणलाई ऋण तिर्नका लागि कर्जा दिने गरेका छन् । जसको कारण बैंकहरूले खाता बन्द गर्ने समयमा बैंकहरूको लगानी बढ्ने गरेको तथ्यांकले देखाउँछ ।
बैंकहरूले त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने भएकाले समेत यस बेला कर्जालाई राम्रो देखाउन र नाफा बढाउनका लागि सर्वसाधारणलाई कर्जा तिर्नका लागि अर्को शिर्षकमा कर्जा दिने गरेका छन् । बैंकहरूको कर्जा लगानीको तथ्यांक विश्लेषण गर्दा पनि प्रत्येक त्रैमासिक र अर्थवार्षिक खाताबन्दीको समयमा कर्जा ह्वात्तै बढ्ने गरेको छ ।
चालू आर्थिक वर्षमा पनि प्रथम त्रैमासिकको खाता बन्द गर्नका लागि असोजमा र अर्थवार्षिक रूपमा खाता वन्द गर्दा पुसमा लगानी बढेको छ । कोभिडका कारण लगानी गर्न नसकेका बैंकहरूले चालू आवको असोजमा एक अर्ब ३१ करोड लगानी बढेको थियो । जबकी त्यसको अघिल्लो महिना भदौमा भने २६ अर्ब मात्र लगानी भएको थियो ।
यसैगरी पुसमा पनि वाणिज्य बैंकहरूले एक अर्ब ४३ करोड लगानी गरेका छन् । जबकि बैंकहरूले कात्तिकमा १७ करोड र मंसिरमा ४९ करोड ऋण प्रवाह गरेका संघले जनाएको छ । राष्ट्र बैंकले कोभिडका कारण गत आर्थिक वर्षमा तिर्न नसकेको साँवा तथा ब्याज भुक्तानीको लागि चालू आवको पुससम्मको समयसीमा दिएको थियो । सोही कारण पनि पुसमा बैंकहरूले आफ्नो वित्तीय विवरण राम्रो देखाउनकै लागि नयाँ कर्जा दिएका हुन् ।
बैंकहरूले कर्जा स्वस्थ देखाउनकै निमित्त नयाँ शीर्षकमा छोटो भएको ऋण दिएको हुनसक्ने राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रवहादुर क्षेत्री बताउँछन् । “अर्धवार्षिक क्लोजिङमा वित्तीय विवरण राम्रो देखाउन बैंकहरूले किस्ता तिर्नकै लागि ऋण दिएका हुन सक्छन्,” उनले कारोबारसँग भने, “जसजसको बैंकसँग कुरा मिल्यो, उनीहरूको कर्जा राम्रो भए, जसको मिलेन उनीहरू कालोसूचीमा परे, पत्रिकामा लिलामीको सूचना आयो ।”
कोभिडका कारण उद्योग व्यवसायमा नयाँ लगानी थपिन नसकेको अवस्थामा ऋण राम्रो देखाउनकै लागि बैंकहरूले लगानी गर्न जोखिमपूर्ण भएको क्षेत्रीको तर्क छ । “बैंकहरूले कर्जा राम्रो देखाउन चलाखी गरेका हुनसक्छन्” उनी भन्छन्, “यसले वित्तीय जोखिम बढाउछ ।”
राष्ट्र बैंकको तथ्यांक अनुसार पनि बैंकहरूले छोटो अवधि र व्यक्तिगत प्रयोजनमा खर्च गर्न सकिने प्रकृतिका कर्जा लगानी वृद्धि गरेका छन् । चालू आर्थिक वर्षको मंसिरसम्ममा बैंक तथा वित्तिय संस्थाबाट प्रवाहित हुने कर्जामध्ये ओभरड्राफ्ट ६.८ र डिमान्ड तथा चालू पुँजी कर्जा ९.९ प्रतिशतले वृद्धि भएको छ । यसैगरी आवधिक कर्जा ७.१ प्रतिशतले र सेयर धितो कर्जा ३४.६ प्रतिशतले कर्जा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्