चेपाङ बालबालिकाको सहयोगार्थ भर्जुयल प्रतिभा प्रदर्शन «

चेपाङ बालबालिकाको सहयोगार्थ भर्जुयल प्रतिभा प्रदर्शन

न्यूह्याम्पसर नेपाली समाज युवा नेटवर्कको अगुवाइमा लक्ष्मी प्रतिष्ठानद्वारा चितवनको कान्दामा संचालित कुमार बलराम स्मृति छात्रावासमा अध्ययरत चेपाङ बालकालिकाको सहयोगार्थ भर्चुअल प्रतिभा प्रदर्शन सम्पन्न भएको छ ।
कार्यक्रममा न्यूह्याम्पसर लगायत अमेरिकाका बिभिन्न राज्यमा बसोबास गर्ने दोस्रो पुस्ताका गैरआवासीय नेपाली युवायुवतीले आ(आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
कार्यक्रमबाट करिव तीन हजार अमेरिकी डलर नगदसमेत संकलन भएको छ । संकलित रकमबाट दूई हजार डलरभन्दा बढी नेपालमा कार्यरत गैरनाफामूलक सामाजिक संस्था लक्ष्मी प्रतिष्ठानलाई हस्तान्तरण गरिनेछ । प्रतिष्ठानले उक्त रकम चितवनको कान्दामा लोपन्मुख चेपाङ विद्यार्र्थीहरू आश्रीत कुमार बलराम स्मिृती छात्राबासमा निर्माणाधीन भोजन गृह र सयनकक्षको लागि खर्च गर्नेछ । लक्ष्मी प्रतिष्ठानले उक्त भोजन गृहलाई न्यूह्याम्पसर नेपाली समाज भोजन गृह भनि नामाकरण गरेको छ ।
‘नेपाली भाषा, कला र संस्कृतिलाई आउदो पुस्ताले संरक्षण र सम्बर्धन गरोस भन्ने हाम्रो लक्ष्य हो,’ भर्जुअल कार्यक्रमका लागि युवायुवतीलाई सल्लाह, सुझाव र अभिभावकत्व दिएकी न्यूह्याम्पसर नेपाली समाजका पूर्वउपाध्यक्ष शान्ता विष्टले बताइन् । न्यूह्याम्पसर नेपाली समाजका अध्यक्ष सोम गुरुङले दोस्रो पुस्ताका भाइबहिनीहरूले नेपाली पहिचानलाई जोगाउदै परोपकारी कामको समेत सुरुवात गरेकोमा सराहना गरे ।
लक्ष्मी प्रतिष्ठानलाई सहयोग गर्ने उद्देश्यकासाथ संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने किशोर किशोरीहरूद्वारा गरिएको न्यूएअर इभको उक्त भर्चुअल ट्यालेन्ट सो हेर्दै लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले भने ‘नेपाली बालबालिकाहरू आफैले आयोजना गरेर लक्ष्मी प्रतिष्ठानको लागि फन्ड रेज गर्न गरेको कार्यक्रम हेर्दा म खुसीले भाबुक भएँ र मेरा आँखाहरूबाट खुसीका आँसु झरे । त्यो कार्यक्रममार्फत ईश्वर तुल्य बालबलिकाहरूले हाम्रो कर्मलाई सहि मात्र ठहराएका छैनन् आ(आफ्नो ठाउँबाट सहकार्यको थालनीनै गरेका छन् ।
कार्यक्रममा नेपालबाट प्रतिष्ठानका उपाध्यक्ष बटुप्रसाद न्यौपानेले संयोजन गरेका थिए । कार्यक्रममा प्रस्तोताहरूले नाचगान, हास्यब्यंग्य, खेल, बाध्यवादनदेखि खाना पकाउने कलासम्म प्रस्तुत गरेका थिए । नेटवर्कका अभियन्ताहरू मोहित विष्ट, स्पर्दा गुरुङ, रिञ्जु शेर्पा, रोजर शेर्पा, आहान थापा र नेहा शर्माले सञ्चालन गरेको कार्यक्रममा बिभिन्न १७ सामूहिक एवं एकल प्रस्तुति प्रशारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्