भाक्का खाना परिकारका रूपमा व्यवसायिकीकरण गरिने «

भाक्का खाना परिकारका रूपमा व्यवसायिकीकरण गरिने

झापा-राजवंशी समुदायको खाना परिकार भाक्काको व्यावसायिक विकासमा जुट्ने जनाइएको छ । भाक्कालाई राष्ट्रिय परिकारका रूपमा स्थापित गरी व्यवसायिकीकरणमा जुट्ने कोचिला गाभुर फ्रन्ट अघि बढेको हो ।
कोच राजवंशीको भाक्कालगायत परिकारको विकास र प्रवद्र्धनका लागि नेपाल सरकारसँग अनुरोध गर्ने फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए । फ्रन्टले पुस २९ गते आयोजना गरेको राष्ट्रिय भाक्का दिवस कार्यक्रमपश्चात् भाक्का आदिवासी राजवंशीको मात्र नभई सबै जाति समुदायको साझा खानाको रुपमा स्थापित भएको बताए । मुलुकभित्र सम्भवत् खाना परिकारको दिवसका रुपमा भाक्का दिवस पहिलो भएको राजवंशी बताउँछन् । जातीय परिकार भाकालाई व्यावसायिकरण गर्न सके गिर्दो आर्थिक अवस्था भएका राजवंशीको आय आर्जनमा टेवा पु¥याउन सकिने अध्यक्ष राजवंशीले बताए ।
भाक्का परिकारको इतिहास खोज गरी थप परिस्कृत गर्ने कोचिला भक्का दिवस कार्यक्रम संयोजक अर्जुन राजवंशीले बताए । “भक्कासँगै राजवंशी जातिमा धेरै विषयको खोज अनुसन्धान हुन जरुरी छ” उनले भने, “भाक्काको वर्षौं पुरानो इतिहास खोज गरेरअहिलेको आधुनिकतासँग मेल खाने गरी व्यावसायिकता दिन सक्यौं भने यसले राजवंशी समुदायको आर्थिक पाटोमा ठूलो परिवर्तन ल्याउन सक्छ ।” पछिल्लो समय दिवस मनाउने कार्यक्रमले भाक्कालाई विशेष परिकारको रुपमा स्थापित गरेको छ । “भाक्का अब हामीले खाने चोक–बजारमा मात्र सीमित रहेन । भाक्का दिवस मनाउन थालेपछि यसको महत्व र प्रचार व्यापक भएको छ । त्यसैले दिवसलाई सरकारी मान्यतासहित अघि बढ्न आवश्यक छ,” राजवंशीले भने ।
खाना परिकारले त्यहाँको माटो र भुगोल झल्काउने भएकाले भाक्कालाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न आवश्यक देखिन्छ । राजवंशी समुदायका अग्रज ज्ञानु राजवंशीले राजवंशी समाज विकास समितिले अहिलेसम्म २०÷२५ औं भाक्का दिवस मनाउनुपर्नेमा त्यस्तो हुन नसकेकोमा दुखेसो व्यक्त गरे । उनले भने, “हाम्रो समाजले अहिलेसम्म कम्तिमा २५ औं भाक्का दिवस मनाउनु पर्ने थियो । तर, त्यस्तो अवस्था छैन । केही दिन अघि गाभुर फ्रन्टले चौथो राष्ट्रिय भाक्का दिवस मनाएर भएपनि हाम्रो समुदाय र हाम्रो खाना परिकारप्रति ठूलो गुण लगाएको छ ।”
राजवंशी समाज विकास समिति झापाका पूर्व जिल्ला अध्यक्ष टोम राजवंशीले अब भाक्कालाई व्यवसायिक बनाउनुको विकल्प नभएको जनाए । राजवंशी समुदायको भाक्का, भुजा, घुम्नी–मुरी र पिठ परिकारको पनि उत्तिकै विशेषता र महत्व रहेकोले ती परिकारको पनि प्रवद्र्धन र संरक्षण जरुरी रहेको उनी बताउँछन् । परम्परागत माटोको हन्डीबाट राजवंशी समुदायले उत्पादन गर्ने गरेको भुजाको उत्पादनसमेत बढाउनुपर्ने उनको भनाई छ ।
के हो भाक्का ?
भाक्का कोच राजवंशी समुदायले चिसो (हिउँदे) मौसममा खाने प्रमुख परिकार हो । कोच राजवंशी समुदायसँगै अन्य जातजातिले पनि रुचाएपछि भाक्का खाने प्रचलन बढेको छ । राजवंशी जातिमा मात्र सीमित रहेको भाक्का खाने चलन पछिल्लो समय सबै जातजाति बीच लोकप्रिय बन्दै गएको छ । स्वादिष्ट एवम् मौलिक परिकार भाक्कालाई संरक्षण र संवद्र्धन गर्नका लागि राजवंशी समुदायबाट पहल हुँदै आएको छ । झापामा भाक्कालाई जाडोको मौसममा चोक–चोकमा खान पाइने एक सामान्य खाजाको रूपमा लिने गरे पनि स्वास्थ्यका लागि हितकर खाजाको रुपमा भाक्का चिनिन्छ । झापामा जाडो मौसममा तातो भाक्काको स्वाद लिन चाहने पारखी बढ्दै गएको देखिन्छ ।
कसरी बनाइन्छ भाक्का
भाक्का चामलको पीठोबाट बनाइन्छ । शुद्ध चामलको पीठोलाई पानीको बाफमा पकाएर भाका बनाउने गरिन्छ । पीठोको चामलमा कुनै वस्तु मिसावट नहुने तथा पानीको बाफमा मात्र पकाउने गरेकाले भाका पूर्णरुपमा स्वस्थकर छ । भाका दिवसमा कोच राजवंशी समुदायको परम्परागत विभिन्न लोक सांस्कृतिक प्रस्तुति रहेको थियो । बिर्तामोडमा विगत ३० वर्षदेखि उनले भक्का बेच्दै आएकी शरस्वती राजवंशीदिनभरि १६ किलोे पिठोको भक्का बेच्ने गरेको बताउँछिन् । जसबाट उनलाई ६ हजार रुपैयाँ आम्दानी हुन्छ । “यसैबाट घरपरिवार पाल्नुका साथै जग्गा पनि जोडेकी छु” उनले भनिन्, “भाकाकै भरमा जीवन गुजारा गर्दै आएकी छु ।” भाकाबाट आम्दानीसमेत हुन थालेपछि अहिले राजवंशीसँगै गैर राजवंशीले पनि भाका बेच्न थालेका छन् । राजवंशीले घरायसी प्रयोजन र खासगरी अतिथि सत्कारको लागि यसको प्रयोग गर्थे तर, अहिले व्यवसाय पछिल्लो समय सडकको पेटी र चोकमा थापिएका भाका पसलको वरिपरि भाका किन्नेहरूको भीड देखिन्छ ।
वर्षभरिको कमाइ धानबाली थन्क्याइसक्दा जाडो मौसम शुरु हुन्छ । “त्यही मौसममा घर—घरमा भाका पाक्ने गर्छ” अर्जुन राजवंशीले भने, “खाएर जाडोको आनन्द लिने गर्छौँ ।” अतिथि सत्कारको जातीय संस्कारले राजवंशी जाति समृद्ध मानिन्छ । “मंसिर लागेपछि एकअर्काको घरमा पाहुना जाने, चेलीबेटीहरूलाई बोलाउने प्रचलन थियो र अझै पनि छ” बसन्तले भने, “अतिथिलाई भाका र पीठ(बगिया) खुवाएर मात्र बिदा गरिन्छ ।” खासगरी मंसिरदेखि माघसम्म तीन महिना तराईमा जाडो हुन्छ । त्यही समय भाका खाने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्