कोभिडपश्चात् सामान्य अवस्थातर्फ फर्किंदै औद्योगिक गतिविधि «

कोभिडपश्चात् सामान्य अवस्थातर्फ फर्किंदै औद्योगिक गतिविधि

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण समग्र अर्थतन्त्रमै समस्या उत्पन्न भयो । रोजगारी सिर्जनादेखि आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्ने उद्योग क्षेत्रले कोभिडका कारण धेरै समस्या भोग्नुप-यो । कोरोना न्यूनीकरणका लागि गरिएको लकडाउन तथा त्यसयता पनि धेरै उद्योग बन्द नै भए । पछिल्लो समय भने उद्योगधन्दाहरू विस्तारै आफ्नो लयमा फर्कंदै छन् । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार कोरोना महामारीका कारण बन्द भएका उद्योग–व्यवसायमध्ये ५४ प्रतिशत पूर्णरूपमा सञ्चालनमा आएका छन् । बैंकले गरेको अध्ययनअनुसार उद्योग–व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको छ । यो अध्ययन २०७७ कात्तिक १३ देखि २०७७ मंसिर २४ सम्म तुलनात्मक अध्ययन गर्दा उद्योग प्रतिष्ठानमा तुलनात्मक रूपमा सुधार देखिएको छ । यसअघि पनि बैंकले २०७७ जेठ २६ गतेदेखि असार १० सम्म ५२ जिल्लाका ६ सय ७४ उद्योगी–व्यवसायीबाट तथ्याङ्क सङ्कलन गरी कोभिड–१९ ले व्यवसायमा पारेको असर अध्ययन गरेको थियो । सरकारले कोभिड–१९ नियन्त्रणको मापदण्ड खुकुलो बनाउँदै लगेका कारण व्यवसाय क्रमिक रूपमा सञ्चालनमा आउन थालेको ठहर छ । यसैको उपजस्वरूप अहिले ५४ प्रतिशत उद्योगहरू पूर्ण रूपमा सञ्चालनमा आएको प्रतिवेदन केन्द्रीय बैंकले सार्वजनिक गरेको हो । कोभिडपछि उद्योग–व्यवसायको समग्र अवस्था, पूर्ण रूपमा सञ्चालनका लागि गर्नुपर्ने पहलकदमी र श्रमिकहरूको वर्तमान अवस्थाका बारेमा कारोबारका लागि सरस्वती ढकालदीपेन्द्र थापाले सरोकारवाला पक्षसँग गरेको कुराकानीको सार :

उत्पादनमूलक उद्योगलाई प्रवद्र्धन गर्नुपर्छ
दीपक श्रेष्ठ
उद्योग समिति सभापति, नेपाल चेम्बर अफ कमर्स

कोरोना भाइरसले कष्टकर बनेको नेपाली जनजीवन केही सहज हुँदैछ । जनजीवनले कोरोना भाइरसलाई सहज अनुभूति गर्न थाले पनि अर्थतन्त्रले भने त्यस्तो अनुभव गर्न सकेको छैन । परिस्थिति केही सहज बन्न खोजेको हो कि भन्ने मात्रै देखिएको छ, तर हामी पूर्ण रूपमा आर्थिक गतिविधिमा फर्किन सकेका छैनौँ । अहिलेको अवस्थामा आधा मात्रै उद्योगहरू चल्न सकेका छन् भने चलेका उद्योगहरू पनि विगतको तुलनामा जान सकेका छैनन् । औद्योगिक उत्पादन यतिबेला खुम्चिएको अवस्था छ भने यसको समग्र असर अर्थतन्त्रमा त देखिने नै भयो । कोरोनाको प्रभावसँगै लजिस्टिकमा समस्या विकराल बन्दै गएको छ । ‘सी पोर्ट’ देखि ढुवानीको समस्या नेपाल आयातकर्ताले बेहोरेका छन् । अर्कातर्फ उद्योगलाई चाहिने कच्चा पदार्थ यतिबेला अन्तर्राष्ट्रिय बजारमै उद्योगहरू पूर्ण रूपमा सञ्चालन हुन नसक्दा त्यसको प्रभाव नेपाली बजारमा देखिएको छ । अमेरिकी डलरको मूल्य वृद्धि, कच्चा पदार्थ आपूर्तिमा समस्या, लजिस्टिकमा समस्याका कारण कोभिडपश्चात् नेपाली बजार अप्ठेरो अवस्थामा छ । नेपाली उद्योगी–व्यापारीले भाउ बढायो भनिन्छ, तर यसको प्रभाव भने बाहिरी बजारले असर पार्ने गरेको हुन्छ । यी सबैका बाबजुद पनि उद्योगी–व्यवसायीले कोरोना कहरमा राहत अनुभव गरेको बैंकका ब्याजदर केही कम भएर हो । अन्य समयमा १४÷१५ प्रतिशतसम्मको ब्याजदर खेप्नुपरेकोमा अहिले भने ७÷८ प्रतिशतमा कर्जा पाउन सकिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत दिने भनेका राहत प्याकेज अहिलेसम्म उद्योगी–व्यवसायीले अनुभव गर्न पाएका छैनन् । नीतिगत रूपमा भएका व्यवस्थालाई कार्यान्वयन तदनुसार नै भएको भए अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने थियो । हामीले निजी क्षेत्रका तर्फबाट राष्ट्र बैंकलाई ध्यान आकर्षण गराएका छौँ, तर कार्यान्वयन भने भएको छैन । अब उद्योग–व्यवसायलाई पहिलेकै अवस्थामा फर्काउनका लागि सरकार, श्रमिक, सरोकारवालापक्ष सबैले सहयोग गर्नुपर्छ । सरकारले पुँजीगत खर्च नगर्दा आर्थिक गतिवधि हुन सकेको छैन । निर्माणसँग सरोकार राख्ने उत्पादक, वितरक तथा व्यवसायीको काम ठप्प छ । सरकारले पुँजीगत खर्च बढाउने हो भने पनि बजारमा त्यसले छुट्टै खालको सन्देश जान सक्छ । कोरोनाले प्रभाव नपारेको कुनै पनि क्षेत्र छैन, कुनैमा बढी प्रभाव प-यो भने कुनैमा सरकारले अनुभव गर्न सक्ने गरी राहत पनि दियो । अब उत्पादनमूलक उद्योगलाई प्रवद्र्धन गरेर आयात प्रतिस्थापन गर्ने र आन्तरिक खपत पूरा गर्ने सम्बन्धमा ध्यान जानु जरुरी छ । कोरोनाले हामीलाई अप्ठेरो अवस्था सिर्जना मात्रै गरेर केही कुरा सिकाएर पनि गएको छ ।

सामान्य अवस्थाको तुलनामा अहिले ५० प्रतिशतमात्रै कारोबार छ
दिनेश श्रेष्ठ
उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

नेपालमा कोभिडको प्रभाव विस्तारै हुँदै गएको छ । कोभिडको खोप आउने भनिएपछि उद्योगी–व्यवसायीमा पनि थप आशा पलाएको छ । बजारको अवस्था सहज बन्न थाल्यो भने मात्रै उद्योग–व्यवसाय पनि सोही तरिकाले चल्न सक्छन् । यदि बजार नै सहज बन्न सकेन भने उद्योग चल्ने कुरै हुँदैन । कोभिड महामारी गत असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन÷कारोबार रहेकोमा मङ्सिरसम्म आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ५० प्रतिशतभन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंकको अध्ययनले पनि विगतको तुलनामा आधा उद्योग चलेको देखाएको छ । कोरोना महामारीअगाडि जति कारोबार हुन्थ्यो, उद्योगधन्दा जसरी चल्थे, अहिले त्यसको अनुपात ५४ प्रतिशत उद्योग पूर्णरुपमा चलेका छन् । बजारबाट माग बढ्न नसकेकाले कारोबार बढ्न नसकेको छैन । पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसाय, स्कुल–कलेज तथा मनोरञ्जन क्षेत्र अहिले पनि पूर्णरुपमा चल्न सकेका छैनन् । यी क्षेत्रसँग सम्बन्धित रहने उद्योग–व्यवसायले माग पाउन सकेका छैनन् । केन्द्रीय बैंकले उत्पादनमूलक उद्योगतर्फ ६१.९३ प्रतिशत उद्योग–व्यवसाय सञ्चालनमा आएको बताए पनि उनीहरू पूर्ण सञ्चालन आएका होइनन् । सञ्चालन हुनु र पूर्ण क्षमतामा उद्योग चल्नु फरक कुरा हो । विद्युत्, ग्यास, पानीतर्फ ९२.५० प्रतिशत व्यवसाय सञ्चालनमा आएको छ । लकडाउनदेखि अप्ठेरो अवस्थामा पनि यी क्षेत्रका उद्योगहरू निर्वाध रूपमा चलेका छन् । निर्माण क्षेत्रमा ५४.८३, थोक तथा खुद्रा व्यापार ५७.२२, होटल तथा रेस्टुराँ १८.११, यातायात तथा भण्डारणतर्फ ५५ प्रतिशत व्यवसाय सञ्चालनमा आएको राष्ट्र बैंकले देखाएको छ । सबैभन्दा धेरै समस्या भनेको उत्पादनमूलक उद्योगमा देखिएको छ । कोरोना प्रभावको भार वहन गर्ने ठूलो हिस्सेदार निजी क्षेत्र हो । व्यवसायीहरूले पनि आफूले सकेको ठाउँबाट सरकार, श्रमिकदेखि आवश्यक ठाउँमा सहयोग गरेको छ । कोभिडको प्रभाव दुई आर्थिक वर्षमा देखिने भए पनि तुलनात्मक रूपमा केही सहज हुने देखिएको छ । आठ–नौ महिना कोभिडको प्रभाव एउटै आर्थिक वर्षमा भएको भए कारोबारको अवस्था निकै दयनीय हुने थियो । श्रमिकहरूको पनि अहिले काममा फर्किने क्रम बढेको छ । बजारको माग नभएको तथा उत्पादन पनि विगतको जस्तो नभएकोले ५० प्रतिशतकै हाराहारीमा मात्रै श्रमिकहरूलाई काममा लगाउन सकिएको छ । उद्योगहरू राम्रोसँग सञ्चालन हुँदा ओभरटाइमदेखि सिफ्टमा काम लगाएर धेरै ज्याला दिन सकिन्थ्यो, अहिले ८ घण्टा काम दिन पनि मुस्किल परेको छ । परिस्थिति केही सहज बन्दै गएको देख्दा आशावादी भने छौँ । अबको ६ महिनामा हामी पुरानो अवस्थामा फर्कन सक्ने हुन्छौँ भन्ने लाग्छ । कोभिडको खोप र पछिल्लो समयमा जनमानसमा बढेको चेतनाले पनि अब वातावरण सहज बन्छ भन्ने अनुमान गरिएको छ ।

पर्यटन उद्योगलाई अन्य उद्योगसरह मान्यता दिनुपर्छ
नरेश भट्टराई
सह–संयोजक, डोमेस्टिक टुरिजम रिभाइभल कमिटी, गण्डकी प्रदेश

सरकारले हालसम्म पर्यटन उद्योगलाई उद्योगसरहको मान्यता दिएको छैन । पर्यटन उद्योगलाई पनि अन्य उद्योगसरह डिमान्ड शुल्कमा छुट दिनुपर्छ । यसले गर्दा पर्यटन उद्योगका लागि निर्माण हुने पूर्वाधारमा समस्या पर्ने गरेको छ । सरकारले पर्यटन क्षेत्रको पुनरुत्थान गर्न सहज नगर्दा करिब २५ प्रतिशत पर्यटन उद्योगका व्यवसायीहरू पलायन भएर गएका छन् । कोभिड–१९ पछि बाह्य पर्यटकको आगमन बन्द हुँदा आयस्रोत घटेर गएको छ भने पर्यटन क्षेत्रलाई चलायमान बनाउन र टिकाइराख्न समस्या पर्दै गएको अवस्था छ । सरकारले मौद्रिक नीति र बजेटमा ल्याएका राहतका कार्यक्रमलाई सहज रूपमा कार्यान्वयनमा जोड दिएको भए यस्तो अवस्था आउने थिएन । पर्यटन क्षेत्रका जनशक्ति पलायन हुँदै जाँदा भोलिका दिनमा जनशक्ति अभाव हुने देखिन्छ । त्यसैले सरकारले विदेशी मुद्राको प्रमुख आयस्रोत पर्यटन क्षेत्रलाई बचाइराख्न राहतका कार्यक्रममा जोड दिन आवश्यक छ । पर्यटकको आगमनको आशामा अर्बौं रुपैयाँ लगानी जोखिममा राखेर व्यवसाय धान्दै आएका पर्यटन व्यवसायीहरूलाई कुनै न कुनै माध्यमबाट सम्बोधन हुनुपर्छ । सरकारले ५० अर्बको पुनरुत्थान कोष स्थापना गरी व्यवसायीलाई सहुलियत दरमा ऋण प्रवाह गर्ने भने पनि नयाँ बजेट आउन करिब पाँच महिना बाँकी रहँदा पनि सम्बोधन भएको छैन । सरकारले हाल व्यवसायीहरूले लिएको ऋणमा ५ प्रतिशत सहुलियत दरमा पाँच वर्षका लागि नीतिगत निर्णय गर्नुपर्छ नभए पर्यटन उद्योगका व्यवसायी पलायन हुने खतरा बढेर गएको छ । सरकारले साथै नयाँ ऋण पनि पाँच वर्षका लागि पाँच प्रतिशत ब्याजमा उपलब्ध गराउनुपर्छ । निजी क्षेत्र डुबेको अवस्थामा बैंक पनि डुब्ने खतरा रहेको छ भने सरकारको राजस्व घटेर अर्थतन्त्रसमेत धराशायी बन्ने खतरा छ । पर्यटक आगमनमा सहजीकरण हामीले मातहतका निकाय, सरोकारवालासँग हामीले आन्तरिक रूपमा छलफल गरेर पर्यटक आगमन खुला गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई सुझाएका छौं । पर्यटन आगमनमा सहजीकरण गर्नका लागि हवाई मार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण नाकाबाट आगमन सहज गर्नुपर्छ । चीन र भारतका पर्यटकलाई आगमनमा सहज गर्न स्थलमार्ग र हवाईमार्गबाट आगमनमा खुला गर्नुपर्छ, साथै स्थलमार्गबाट निजी तथा पर्यटकीय सवारी साधन लिएर भारतबाट नेपाल भित्रिने अन्य मुलुकका पर्यटकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी आगमनमा सहज गर्नुपर्छ । तब मात्र थलिएको पर्यटक उद्योग र अर्थतन्त्रलाई केही हदसम्म उकास्न मद्दत गर्छ । पर्यटकको स्वाब संकलन गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा र नाकाबाट २४ घण्टाभित्र पीसीआर रिपोर्ट दिने व्यवस्था मिलाउनुपर्छ । ७२ घण्टा अगाडिको पीसीआर रिपोर्ट नेगेटिभ भएका पर्यटकलाई हवाई तथा स्थलमार्गबाट सरकारले निगरानीमा राखेर प्रवेशमा सहज गर्नु आवश्यक छ । यसरी सरकारले तोकिएको सर्त पालना गरी नेपाल भ्रमणमा आउने पर्यटकलाई भिसा सिफारिसमा सहज गर्नुपर्छ ।

सिमानामा स्वास्थ्य मापदण्ड पालना गरेर आवागमन खुला गरिनुपर्छ
कृष्णप्रसाद शर्मा
अध्यक्ष, नेपाल उद्योग महासंघ लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा अहिले पनि उद्योगहरू पूर्ण रूपमा सञ्चालन आउन सकेको अवस्था छैन । कोरोना महामारीको प्रभाव तुलनात्मक रूपमा केही कम भए पनि उद्योगहरूलाई पुरानो अवस्थामा भने फर्काउन अझै केही समय लाग्ने देखिएको छ । हामी भारतीय सिमानासँग जोडिएका छौँ, अहिले पनि सीमा क्षेत्र सहज छैन । नजिकै भारतीय सीमा भएकाले आवागमनमा निकै कडाइ छ । आवागमन सहज हुन नसक्दा मजदुरवर्ग काममा फर्कन पाएका छैनन् । नेपालमा दक्ष जनशक्ति पाउन मुस्किल छ । केही दक्ष व्यक्तिलाई फेरि कोभिडले पलायन गरिदिएको छ । भारततर्फका मजदुरहरू पनि यतिबेला सीमा नाकामा धेरै कडाइ हुँदा आउन चाहेको अवस्था छैन । बाहिरबाट देख्दा उद्योगहरू चलेको देखिए पनि विगतको अवस्थामा पुग्न अझै समय लाग्छ । खासगरी बजारबाट माग नै आएको छैन । पर्यटन, मनोरञ्जनदेखि विद्यालय, कलेजलगायतका धेरै क्षेत्र अहिले पनि सञ्चालनमा छैनन् । यिनीहरूले सिर्जना गर्ने मागले अर्थतन्त्रमा ठूलो अर्थ राख्छ । बजारले माग सिर्जना गर्न सकेन भने पूर्ति गरेर मात्रै पनि अर्थ रहन्छ । यसका लागि आवागमनदेखि बजारको अवस्था सहज हुनु जरुरी छ ।
कोभिडको प्रभाव कम हुँदै गएकाले स्वास्थ्य पोटोकल अपनाएर सीमा नाका सहज गरिदिनुपर्छ । सीमा क्षेत्र सहज हुँदा अब पर्यटक पनि विस्तारै आउन चाहेको अवस्था छ । मालवाहक ट्रक अहिले पनि आएको छ, तर यात्रुवाहक बसलाई कडाइ गरिएको छ । कोभिड खोप आइसकेको छ भने भारतले पनि आफ्नो सुरक्षा संयन्त्र बढाएकाले हामीले पनि सीमा नाकालाई स्वास्थ्य मापदण्ड पूरा गरेर सहज गर्नुको विकल्प छैन । अर्कातर्फ सरकारले मौद्रिक नीतिबाट राहत प्याकेज घोषणा गरेको छ, त्यो यहाँका व्यवसायीले अनुभव गर्न पाएका छैनन् । त्यसैगरी बैंकको ब्याजदरमा दिइएको छुट पनि प्रभाव हुने व्यवसायी र उद्योगीले मात्रै लिएका छन् । साधारण व्यवसायीलाई अहिले पनि बैंकहरूले ताकेता गरिरहेका छन् ।
लुम्बिनी प्रदेशमा भएका ढुंगा, गिट्टी, बालुवा, छड तथा पर्यटन उद्योग पुरानो लयमा फर्कन खोजेको अवस्था छ, तर वातावरण सहज भइसकेको छैन । यहाँको मुख्य समस्या नै आवागमनमा भएको कडाइ हो । पछिल्लो समय यस प्रदेशमा विद्युत्मा निकै उतारचढाव देखिने गरेको छ । विद्युत्मा समस्या हुँदा त्यसको प्रभाव उद्योग क्षेत्रलाई सबैभन्दा धेरै पर्ने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्