सेयर बजारमा तीब्र उतारचढाव «

सेयर बजारमा तीब्र उतारचढाव


अघिल्लो दिन सामान्य अंकले घटेको सेयर बजार बुधबार भने सकारात्मक देखिएको छ । सेयर बजार मापन गर्ने नेप्से परिसूचक बुधबार तीब्र उतारचढावबीच १५.८७ अंकले बढेर २३४२.७६ अंकमा उक्लिएको हो ।
केही दिनदेखि लगातार दोहोरो अंकको सुधार देखिएको बजारमा मंगलबार भने ब्रेक लाग्दै ५.५७ अंकको ओरालो लागेको थियो । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.१८ अंकले बढेर ४४३ अंकमा बन्द भएको छ । बुधबार बजार खुलेसँगै ओरालो लागेको सेयर बजारमा तीब्र उतारचढावबीच सकारात्मक देखिएको हो ।
नेप्से परिसूचकमा दोहोरो अंकको सुधार देखिएको दिन वाणिज्य बैंक, व्यापार, होटल, उत्पादनमूलक र अन्य बाहेक सबै समूहको परिसूचमा बढेको छ । बिमा समूहको परिसूक सबैभन्दा धेरै ७२९.३७ अंकले बढ्दा निर्जीवन बिमा समूहको परिसूचक १८५.९८ अंकले बढेको छ । नेप्से परिसूचक सकारात्मक देखिए पनि कारोबार रकम र सेयर संख्या भने मंगलबारको तुलनामा घटेको छ । बुधबार २ सय ११ कम्पनीका १ करोड ५९ लाख कित्ता सेयर ६ अर्ब २१ करोड रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
मंगलबार १ करोड ६३ लाख कित्ता सेयर ७ अर्ब ४६ रुपैयाँ बराबरमा खरिदबिक्री भएको थियो । कोरोबार रकमको आधारमा बुधबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै ६१ करोड ४० लाख हुँदा प्रभु बैंकको २९ करोड २ लाख, नेपाल पुनर्बिमा कम्पनीको २७ करोड ३६ र शिखर इन्स्योरेन्स कम्पनीको २५ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्