कोरोनाभन्दा पनि बढी सत्ता संकट सामना गर्दै सरकार «

कोरोनाभन्दा पनि बढी सत्ता संकट सामना गर्दै सरकार

नेपालका प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीज्यू एक निडर, अझर, अटल, निष्ठा, सुशासन, सामाजिक एकतासँगै राष्ट्रिय एकताको पक्षमा उभिएर ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणालाई आफ्नो मूलधार बनाई एक विशिष्ट विचारको राजनीति गर्ने नेताका रूपमा स्थापित भएका नेता हुन् । आज मुलुक संघीय संरचनामा गई मुलुकले तीन तहका सरकार सञ्चालन गरेको र उनको पार्टीले पाएको करिब दुईतिहाइ जनमतले स्थापना भएको स्थायी सरकारले तीन वर्ष व्यतीत गरिरहँदा एउटा दुर्घटनामा परेको छ । एकातिर नेपाललगायत विश्वका अधिकांश मुलुकलाई कोरोना महामारीको विश्वव्यापी स्वास्थ्य संकटले घेर्न पुग्यो भने अर्कौतर्फ आफनै पार्टीलाई उनले एकढिक्का राख्न सकेनन् । र अन्ततः ससंद् बिघटन गर्न पुगे ।
विश्वका सबै देशहरू अहिलेको यस कोरोना भाइरसको समस्यालाई राष्ट्रिय समस्याका रूपमा आत्मसात् गरी अगाडि बढिरहेका छन्, तर नेपालमा भने यस समस्यालाई प्राथमिकता दिइएको खासै अनुभूति हामीले गर्न पाएका छैन । किनकि नेपालको पहिलो ऐतिहासिक पार्टी र सरकार आआफ्नो सत्ता टिकाउने र भत्काउनेमा रस्साकस्सी गरिरहेका छन् । यहाँ आफूले आफूलाई कसरी हिटलर बन्ने र कसरी समयावधिसम्म सत्तामा रहिरहने एकातर्फीका खेमाले भनिरहेका छन् भने अर्काेतर्फीले कसरी सरकार ढाल्ने र आफू अगाडि आउनेमा नै रस्साकस्सी गरेको लकडाउनका पछिल्ला चार महिनामा जनताले देख्न पाए । सरकार ढाल्ने र पुनर्निर्माण गर्ने भन्दाका अरू नयाँ बैठक शीर्ष नेताहरूले गर्न लागि नपरेको प्रस्ट देखियो । एकले अर्काेलाई आरोप–प्रत्यारोप गर्दै नै समय खेर गइरहेको र आजको स्वास्थ संकटमा समेत शीर्ष नेतृत्वले व्यक्तिगत धारणाभन्दा अरू कुनै ठोस निर्णय गर्न नसक्नुमा नै एक गम्भीर त्रुटि देखिएको छ ।
सरकार सञ्चालन गर्ने नेतृत्वले बाटो बिराउँदासमेत सजग गराउने बलियो प्रतिपक्षी पार्टीसमेत नरहेको आभास भएको छ । प्रतिपक्षी दल पनि आफ्नो आन्तरिक कलह र महाधिवेशनमा अलमल भएको प्रत्यक्ष देख्न सकिन्छ । यसरी प्रतिपक्ष दलका संसदले आफ्नो व्यक्तिगत धारणा राखेर जनताको विश्वासपात्र मात्र बन्न खोजेको देखिन्छ, न कि पार्टीले सर्वसम्मत कोभिड–१९ का बारेमा साझा धारणा बनाउन नै सकेका छन् । राष्ट्रिय स्वास्थ्य संकट आइपरेको अहिलेको विषम अवस्थामा प्रतिपक्ष, सत्तापक्ष र अन्य साना पार्टीका नेताहरूले आफ्नो निजी स्वार्थभन्दा माथि खासै केही गरेका छैनन् ।
यस संकटलाई कतिपय नेता–कार्यकर्ताहरूले कमाउने अचुक समय ठानेका छन् । यसको प्रत्यक्ष उदाहरण हो, स्वास्थ्य सामग्री किन्दा भएको भनिएको भ्रष्टाचारलाई लिन सकिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ को परीक्षण गर्न आरडीटी प्रक्रियालाई स्वीकृत दिएको थिएन तर नेपालले चीनसँग त्यही आरडीटी किट खरिद गरी धेरैको टेस्ट ग¥यो र जनताको स्वास्थ्यमा खेलबाड गरेको प्रस्ट देखिन्छ । कुनै एक स्वास्थ्य सामग्री उत्पादन गर्ने कम्पनीसँग जीटुजी प्रक्रियामा रहेर बजारमूल्यभन्दा महँगोमा स्वास्थ्य सामग्री खरिद गर्ने काम भयो अनि भ्रष्टाचार भयो भन्ने उजुरी परेपछि अख्तियारलाई छानबिन गर्ने निर्देशन दिइन्छ, जबकि अख्तियारमा काम गर्ने प्रमुख व्यक्ति पनि सरकार निकटकै नियुक्त गरिएको हुन्छ ।
अन्त्यमा, संकटको यस विषम परिस्थितिमा सत्तामोहलाई थाती राखेर कोरोना कहरमा पक्ष–प्रतिपक्ष आन्तरिक कलहमा समय र बजेट खर्च गर्नुभन्दा पनि जनताको दैनिक अवस्थामा पारेको प्रभाव, वर्षातको समयमा बाढीपहिरो र डुबानले नागरिकहरूलाई पारेको बिचल्लीका बारेमा सक्रियता बढाऊ अनि मात्र निष्ठा, निःस्वार्थ राजनीतिको परिचय दिन सकिन्छ । एउटा कुर्सी र शक्तिको मोहमा लालायित हुनुभन्दा ३ करोड नेपालीलाई मायामोह तथा संकट र प्राकृतिक प्रकोपमा परेका जनताको जीवन र दैनिकीमा मल्हम लगाउन राजनीतिक दलहरूलाई अनुरोध गर्छाैं ।

प्रतिक्रिया दिनुहोस्