मानव विकास सूचकांक र समग्र विकास «

मानव विकास सूचकांक र समग्र विकास

कुनै पनि देशको आर्थिक, सामाजिक, शैक्षिक विकासलगायतका प्रगतिको स्तर वा अवस्था देखाउने सूचक नै मानव विकास सूचकांक हो ।

मानव विकास सूचकांकमा हरेक देशका मानवको स्वास्थ्य, शिक्षा, खाना, आवास, सीपलगायतका विविध पक्षको अवस्थालाई समेटिने गरिन्छ । कुनै पनि देशको आर्थिक, सामाजिक, शैक्षिक विकासलगायतका प्रगतिको स्तर वा अवस्था देखाउने सूचक नै मानव विकास सूचकांक हो । मानव विकास सूचकांकले व्यक्ति, समुदाय र देशमा उपलब्ध विकल्पहरूको चयन गर्न सक्ने दायरालाई फराकिलो बनाउने कार्य गर्छ । मानव विकासका महत्वपूर्ण तीनवटा आधार रहेका हुन्छन् । पहिलो प्रतिव्यक्ति आय, दोस्रो शैक्षिक स्तर हो भने तेस्रोमा औसत आयु पर्छ ।
मानव विकास सूचकांक निकाल्दा माथिका तीनवटै पक्षलाई आधार मानेर कुनै पनि भौगोलिक एकाइ, जाति, समुदाय आदिलाई समेटेर मानव विकासको अवस्थालाई संख्यात्मक प्रस्तुति गरिन्छ । यसभित्रका प्राप्त तथ्यलाई शून्यदेखि १ सम्म राखेर मापन गर्ने अन्तर्राष्टिय प्रचलन रहेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) अन्तर्गत हरेक तीन वर्षमा तथ्यांक प्रकाशन गरिन्छ, जसअन्र्तगत १ सय ८९ देशहरूमध्ये नेपाल १ सय ४९ औं स्थानमा रहेको छ । हाम्रो देश पहिलेको भन्दा स्तर सुधार गरेर मध्यम स्थानमा उक्लन पुगेको हो । यो आमनेपालीले गर्व गर्ने विषय पनि अवश्य हो । नेपालको राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममार्फत सार्वजनिक गरिएको सूचकांकमा नेपालको अवस्थामा सुधार आउने निश्चित देखिएको छ ।
राष्ट्रिय आयका आधारमा प्रतिव्यक्ति आय बढेको देखिन्छ । यस वर्ष सूचकांक बढेको मात्र होइन, तहगत रूपमा पनि एक स्थान माथि चढ्न सफल भएको देखिन्छ जुन ज्यादै सकारात्मक पक्ष हो । यस वर्ष अथवा सन् २०२० मा गरिएको सूचकांकमा सुधार आएसँगै राज्यले अगाडि सारेको विकास र समृद्धिको राष्ट्रिय नारालाई पनि पुष्टि गर्न थप सहयोग गरेको छ । मंसिरको अन्तिममा सार्वजनिक गरिएको मानव विकास सूचकांकमा मानवको खुसीपनको मापन गर्ने कुनै सूचक देखिँदैन । तर दक्षिण एसियाली देश भुटान, जो सार्कमा पनि संलग्न छ, उसले मानव विकास सूचकांकमा खुसीपनसमेत निकाल्ने गरेको छ ।
मानव विकास सूचकांक सबै देशले मानेको वा स्वीकारेको देखिन्छ । यसको विश्वसनीयतामा प्रश्न उठाइएको पाइँदैन । हरेक देशले आफ्नो आधिकारिक निकायबाट वार्षिक तथ्यांक निकाले पनि यूएनडीपीको इन्डेक्स भने तीन वर्षमा मात्र सार्वजनिक गरिन्छ । यस पटकको इन्डेक्समा हाम्रो अवस्थामा सुधार देखिनु र नतिजा ज्यादै सकारात्मक पक्ष हो । यसमा आम नेपालीले गौरव गर्नुपर्छ । तथ्यांकलाई विश्लेषण गर्दा नेपालले क्रमशः आफ्नो अवस्थामा सुधार गर्दै आएको देखिन्छ । विकासको अवस्था मापन गर्ने महत्वपूर्ण सूचकका रूपमा यसलाई लिइन्छ । अर्थशास्त्रीहरूले मात्र नभई आर्थिक क्षेत्रका सरोकारवालाहरूले समेत धेरै महत्वका साथ हेर्ने गर्छन् ।
हालको नतिजाले नेपाल अतिकम विकसित मुलुकबाट विकासशील मुलुकका रूपमा स्तरोन्नति हुने सहजै आकलन गर्न सकिन्छ । यसको कारण भनेको नै प्रतिव्यक्ति आय वृद्धि हुनु हो । प्रश्न जटिल अर्को के पनि देखिन्छ भने अतिकम विकशित मुलुकले पाउने सहयोग अनुदान तथा अन्य सुविधामा कमी आउने हुन्छ । त्यसैकारण पनि हाम्रो दिगो विकासमा अवरोध आउने सम्भावना प्रबल देखिन्छ । विश्वव्यापी रूपमा फैलिएको कोरोनाकै कारण सबै आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको छ । यस विषम अवस्थामा हामीले भएकै रोजगारी पनि गुमाएका छौं । आर्थिक क्रियाकलाप प्रायः ठप्प बन्दा सर्वत्र मन्दीको अवस्था छँदैछ । आर्थिक वृद्धिमा नकारात्मक असर पर्ने पनि प्रतिवेदनमा देखाइएको छ । न्यून आय भएका गरिब र मध्यम वर्गीयलाई कोरोनाले आहत पारेको वास्तविकता पनि हामीले देखेकै छौं ।
गरिबीको खाडल कम हुँदै जानुपर्नेमा झनै बढेर गएको देखिन्छ । बढ्दै गएको असमानतालाई राज्यले सम्बोधन गर्नका लागि गरिबी निवारणको क्षेत्रमा प्रभावकारी कार्य गर्नुपर्ने हुन्छ । विकासका लागि अन्य धेरै पक्षमा ध्यान दिनु जरुरी हुन्छ । समान्यतया गरिब राज्यहरूको आर्थिक विकासका दृष्टिले सूचकांकमा ०.०३ भन्दा कम देखिन्छ । विगतका तथ्यांक हेर्दा पनि ३ अंक पाउने देश विपन्न भनेर चिनिने गरिन्छ । मानव विकासको सूचकले त्यसैगरी अंक जति माथि बढ्दै जान्छ त्यति नै देश पनि सम्पन्न छ भन्ने प्रमाणित हुने गरेको छ । त्यसैगरी ०.०५ मा कुनै देशको सूचक छ भने त्यो देश आर्थिक रूपमा मध्यम अवस्थामा रहेको छ भन्ने गरिन्छ । यदि कुनै देश १ अंकको नजिक छ भने सो देश सम्पन्न छ भनेर बुझिन्छ । पछिल्लो तथ्यांकअनुसार नाइजेरिया ०.०३९४ मा उक्लन सफल भएको छ । जबकि सन् २०१९ मा उसको आर्थिक अवस्था ०.३७७ मात्रै थियो । मानव विकास सूचकांकमा उच्च अंक प्राप्त गर्न सफल नर्वे यस वर्ष पनि उच्च स्थानमा नै रहेको छ । सन् २०१९ मा ०.९४९ अंक प्राप्त गरेको थियो भने यस वर्ष ०.९५४ अंक प्राप्त गर्न सफल भएको छ ।
आर्थिक विकासमा मानवका लागि आवश्यकीय शिक्षा, स्वास्थ्य, औसत आयु, पोषणको सवाललगायतका विविध क्षेत्र र पक्ष जोडिएका हुन्छन् । मानव विकास प्रतिवेदन तयार बनाउँदा समेटिने पक्षहरूमा लैंगिक विकास सूचकांक (जीडीआई), लैंगिक असमानता सूचकांक (जीआईआई) बहुआयामिक गरिबी सूचकांक, असमानता समायोजन विकास सूचकांक (आईएचडीआई) रहेका छन् । मानव विकास सूचकांक मापनमा देशको सरदर लक्ष्य निर्धारणका लागि तीनवटा आधारहरू तय गरिएका छन् । ती आधारहरूमा पहिलो स्वस्थ जीवन दोस्रो ज्ञानमा पहुँच र तेस्रोमा बढ्दो स्तरीय जीवनलाई राखिएका छन् । लैंगिक असमानताको सूचकांकमा भने प्रजनन स्वास्थ्य सशक्तीकरण र श्रम बजारलाई समेटिएको छ ।
विश्वका सबैजसो देशहरूमा सहस्राब्दी विकासका लक्ष्यअन्तर्गत सन् २०३० सम्म लैंगिक विभेद हटाउने विषय गम्भीर रूपमा उठाइएको छ । सन् २०३० सम्ममा गरिबीको रेखामुनि रहेका ४० प्रतिशत जनसंख्याको आम्दानी राष्ट्रिय औसतभन्दा माथि रहने गरी वृद्धि गर्ने र त्यसलाई कायम नै राख्ने भनिएको छ । मानव विकास सूचकांकसँगै जोडिएर आउने आर्थिक विकास र मानव कल्याणलाई सहगोग गर्न सबैका लागि गुणस्तरीय, भरपर्दो र बलियो पूर्वाधारको सुलभ र समान पहुँचको विकास गर्ने मुख्य गन्तव्य निर्धारण गरिएको छ । स्वच्छ खानेपानी तथा सरसफाइको उपलब्धता र दिगो व्यवस्थापन सुनिश्चित गर्ने लैंगिक समानता हासिल गर्ने र सबै महिला तथा किशोरीहरूको सशक्तीकरण गर्ने सवाल मुख्य रूपमा समेटिएका छन् ।
समग्रमा हेर्ने हो भने मानव विकास सूचकांक मानव जीवनका बहुआयामिक पक्षसँग गाँसिएको छ । एउटा व्यक्ति स्वस्थ, सबल र शिक्षित भएमा मात्र उसको जीवन गुणस्तरीय हुन्छ । तब मात्र उसले देशको विकासमा प्रत्यक्ष र परोक्ष रूपले सहयोग गर्न सक्छ । हाम्रो विकासका सबै पक्ष र क्षेत्रको चित्रण गर्ने कार्य मानव विकास सूचकांकले गर्ने भएकाले यसको महत्व ज्यादा भएको देखिन्छ । यसमा हामीले मनन गर्नुपर्ने के कुरा पनि छ भने मानव विकासका अन्य सूचकहरूले पनि उत्तिकै भूमिका खेलेको हुन्छ । नेपालको सन्दर्भमा बताउँदा वार्षिक रूपमा प्रकाशित गरिने केन्द्रीय तथ्यांक विभागको तथ्यांक पनि महत्वपूर्ण हुन्छ । आन्तरिक रूपमा यही प्रतिवेदनले भविष्यमा चाल्नुपर्ने आर्थिक कदमलाई समेत देखाउने काम गर्छ ।

प्रतिक्रिया दिनुहोस्