अवैध क्रियाकलापबाट प्रभावित अर्थतन्त्र «

अवैध क्रियाकलापबाट प्रभावित अर्थतन्त्र

अवैध क्रियाकलापले मानिसको सिर्जनशीलतालाई नष्ट गर्दै लैजान्छ । समाज विकृत बन्दै जान्छ । सामाजिक संस्कार र संस्कृति छायामा पर्छन् ।

देशमा हुने यी अवैध कारोबारको वैधानिक सरकारी तथ्यांक नहुने हुँदा अर्थतन्त्रमा जोडिँदैन । अवैध रूपमा समाजमा पैसाको उपस्थिति हुन्छ, बजारमा कारोबारीय चलखेल देखिन्छ, तर देशको अर्थतन्त्रमा योगदान पु-याउँदैन ।

दासत्व, मानव बेचबिखन, वेश्यावृत्ति, निर्माण तथा उत्पादन र कृषि तथा अन्य घरेलु शोषणको अवस्था
समाजमा विद्यमान सामाजिक विकृतिजन्य क्रियाकलापहरू अवैध क्रियाकलाप हुन् । यस्ता क्रियाकलापहरू समाजमा अवैध वा कानुनविपरीत मानिन्छन् । यसमा संलग्न गर्ने÷गराउने कार्य कानुनद्वारा दण्डनीय ठहरिन्छन् । तर, वर्तमान समयमा विश्व अर्थतन्त्रमा ठूलो प्रभाव अवैध आर्थिक क्रियाकलापबाट परिरहेको छ । यी क्रियाकलाप राजनीतिक संरक्षणमा हुने दण्डहीनताबाट सिर्जना भइरहेका छन् । हाल अर्थतन्त्रको ठूलो हिस्सा अवैध आर्थिक क्रियाकलापले ओगटेको छ ।
विश्वमा वैधानिकताविपरीत विभिन्न क्रियाकलाप भइरहेको देखिन्छ । यस्ता क्रियाकलाप कानुन र सामाजिक दुवै पक्षबाट स्वीकार्य हुँदैनन् तर समाजमा विद्यमान छन् । समाजमा सामाजिक संस्कार र कानुनलाई छल्दै लुकीछिपी यी कार्यहरू भइरहेका छन् । दासत्व र वेश्यावृत्तिमा केही बाध्यता रहे तापनि अधिकांश क्रियाकलाप व्यक्तिगत स्वार्थ पूर्तिका लागि हुने गरेको पाइन्छ । मानव बेचबिखन, निर्माण तथा उत्पादनमा अनैतिकता, कृषि तथा घरेलु शोषणजस्ता क्रियाकलाप एउटा व्यक्ति वा वर्गबाट आफ्ना थप आवश्यकता परिपूर्ति गर्ने उद्देश्यबाट प्रेरित हुन्छन् । यिनले समाजलाई विकृत बनाउँछन् भन्ने थाहा हुँदाहुँदै अप्रत्यक्ष रूपमा मानिसहरू यसमा संलग्न भएको पाइन्छ । आजभोलि यस्ता क्रियाकलाप बाध्यताबाट भन्दा पनि निश्चित व्यक्ति वा मनोरञ्जनका लागि हुने गरेको पाइन्छ । यस प्रकारको क्रियाकलापले अप्रत्यक्ष रूपमा आर्थिक लेनदेन हुने गरेको छ भने यस्ता विकृतिहरू व्यावसायिक रूपमा अगाडि बढिरहेका छन् । व्यावसायिक रूपमा कुनै सरकारी निकायमा दर्ता नभए पनि सहरी इलाकामा यो व्यवसायले तीव्र रूप लिइरहेको छ ।
विशेषतः गरिबी र अशिक्षाका कारण यस्ता विकृतिहरू फैलिरहेका छन् । आईएलओका अनुसार विश्वमा दासतासम्बन्धी अवैध कारोबारबाट वार्षिक १ खर्ब ५० अर्ब डलरबराबरको कारोबार हुने गरेको छ । विश्वमा ४ करोड दास रहेको जसमा २० प्रतिशत बालबालिका रहेको जनाएको छ । नेपालमा दासतासम्बन्धी अवैध कार्यबाट वार्षिक १ खर्ब २ अर्ब १० करोड रुपैयाँबराबरको कारोबार हुने गरेको पाइएको छ । विश्वमा मानब बेचबिखनबाट वार्षिक ३२ अर्ब डलरभन्दा बढीको अवैध कारोबार हुने गरेको पाइन्छ । नेपालमा पनि यसबाट वार्षिक २० करोड रुपैयाँबराबरको कारोबार हुने गरेको एक अनुसन्धानले देखाएको छ । यी क्रियाकलापबाट सिर्जना हुने कारोबार देशको कुल गार्हस्थ्य उत्पादनमा जोडिँदैन । मानव बेचबिखन हुँदा ७९ प्रतिशत यौन, १८ प्रतिशत श्रमको अभिप्रायले हुने गरेको छ । यसरी हुने गरेको मानव बेचबिखनमा बालबालिका मात्र २० प्रतिशत रहेका छन् । कानुनी रूपमा विभिन्न प्रकारका दासत्व उन्मूलनको घोषणा गरेको पाइए तापनि अवैध रूपमा सामाजिक विकृति बनेर बसिरहेको पाइन्छ ।
विश्वमा वेश्यावृत्तिबाट मात्र ९९ अर्ब डलरबराबरको वार्षिक कारोबार हुने गरेको आईएलओले जनाएको छ । वर्तमान समयमा नेपालमा वेश्यावृत्तिबाट १ अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको एक अध्ययनले देखाएको छ । उच्च वर्गबाट ६० प्रतिशत, मध्यम वर्गबाट २४ प्रतिशत, पेसा नै अँगालेर १४ प्रतिशत र जबरजस्तीबाट २ प्रतिशत कारोबार हुने गरेको पाइएको छ । नेपालमा यस प्रकारको क्रियाकलापलाई वैधानिकता प्रदान नगरेकाले गुपचुपमा हुने गरेको छ । समाजमा यसलाई घृणित पेसा÷काम मानिए पनि मनोरञ्जन र आय सिर्जनाका लागि अँगालेको आकलन गरिन्छ । हाल नेपालमा यसले तीव्रता लिइरहेको छ तर यसको वास्तविक सरकारी तथ्यांक भने छैन ।
निर्माण तथा उत्पादनसँग सम्बन्धित क्षेत्रबाट विश्वमा प्रतिवर्ष ३४ अर्ब डलरबराबरको कारोबार हुने गरेको छ । नेपालमा यससँग सम्बन्धित क्षेत्रबाट यो तीन–चार वर्षको अन्तरालमा वार्षिक १ खर्ब रुपैयाँबराबरको अवैध कारोबार हुने गरेको छ । निर्वाचित जनप्रतिनिधि, प्रधानमन्त्री र राष्ट्रपतिबाट ५७ प्रतिशत, सरकारी कर्मचारी, कर कार्यलय र पुलिसबाट १६ प्रतिशत, न्यायाधीश÷न्यायप्रमुखबाट १२ प्रतिशत, स्थानीय सरकारबाट ७ प्रतिशत, प्रमुख व्यापारीबाट ५ प्रतिशत र धार्मिक अगुवाबाट ३ प्रतिशत अनियमितता हुने गरेको पाइएको छ । नेपालमा सेवा प्रवाह गर्दा, उत्पादन निर्माणमा कमसल उत्पादन वा निर्माण, कमिसन, ठेक्का प्रकरण, करछली, चन्दा, उपहार, दण्डबाट उन्मुक्तिजस्ता विषयमा बढी चलखेल हुने गरेको छ । कृषि तथा अन्य घरेलु श्रम शोषणबाट विश्वमा वार्षिक १७ अर्ब डलरबराबरको अवैध कारोबार हुने गरेको देखिन्छ । नेपालमा भने यस प्रकारको अवैध क्रियाकलापबाट वार्षिक करिब ९० करोड रुपैयाँबराबरको कारोबार हुने गरेको पाइन्छ । यसमा कृषिको अंशमात्र ७० प्रतिशतको हाराहारीमा छ ।
देशमा हुने यी अवैध कारोबारको वैधानिक सरकारी तथ्यांक नहुने हुँदा अर्थतन्त्रमा जोडिँदैन । अवैध रूपमा समाजमा पैसाको उपस्थिति हुन्छ, बजारमा कारोबारीय चलखेल देखिन्छ, तर देशको अर्थतन्त्रमा योगदान पु¥याउँदैन । बजारमा मुद्रास्फीति बढाई उपभोक्ताको क्रय क्षमता क्षय गराइरहेको हुन्छ । उत्पादित वस्तु तथा निर्माणको गुणस्तरमा कमी हुन गई एउटै विषयवस्तुमा बारम्बार खर्च गरिरहनुपर्ने वातावरण सिजना गराउँछ । सामाजिक असुरक्षा बढ्छ भने सार्वजनिक सम्पत्तिको दुरुपयोग हुन्छ । नेपालमा वार्षिक कुल १ खर्ब २ अर्ब १० करोड रुपैयाँबराबरको अवैध कारोबार हुने गरेको देखिन्छ । यसले देशमा कानुनी सर्वोच्चता, विधिको शासनमाथि शंका उत्पन्न गराइरहेको छ ।
अवैध क्रियाकलापले मानिसको सिर्जनशीलतालाई नष्ट गर्दै लैजान्छ । समाज विकृत बन्दै जान्छ । सामाजिक संस्कार र संस्कृति छायामा पर्छन् । सामाजिक विश्वसनीयता घट्छ । सरकारी प्रतिफल ह्रास हुँदै जान्छ । सरकारी आम्दानी घट्ने र खर्च बढ्न गई सरकारी ऋण बढ्छ । सार्वजनिक स्रोत साधन सीमित व्यक्तिमा एकीकृत हुन्छ । यस अवस्थालाई नियन्त्रण र निर्मूल गर्न सरकारले सामाजिक दण्डहीनताको कानुनलाई अन्त्य गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्