१०५ वर्षमा सामाजिक सुरक्षा भत्ता «

१०५ वर्षमा सामाजिक सुरक्षा भत्ता

दोलखा-नेपालमा सामाजिक सुरक्षा भत्ता लिनका लागि ७० वर्ष उमेर पुगेका वृद्धवृद्धा हुनुपर्छ । तर महिलाका लागि त विधवा भए उमेरको हदसमेत लाग्दैन । अर्थात् विधवा भएको कानुनी प्रमाण पुगेपछि सरकारको सामाजिक सुरक्षा भत्ता पाउँछन् ।
तर दोलखा मेलुङ गाउँपालिका–३ घ्याङ सुकाठोकरको दुर्गामाया कार्कीको १०५ वर्ष उमेर पुगेपछि बल्ल सामाजिक सुरक्षा भत्ताका लागि प्रक्रिया सुरु भएको छ । नागरिकता प्रमाण पत्र नभएका कारण २६ वर्षपछि बल्ल सामाजिक सुरक्षा भत्ता लिने प्रक्रिया सुरु भएको हो ।
सरकारले २०५१ सालमा सामाजिक सुरक्षा भत्ता सुरु गर्दा दुर्गामायाको उमेर ७२ वर्ष पुगिसकेको थियो । त्यस बेला सरकारले ७५ वर्ष उमेर पुगेका लागि मासिक एक सय रुपैंयाँ भत्ता दिने कार्यक्रम सुरु गरेको थियो । त्यसपछि उमेर ७० वर्ष र विधवा महिलाको उमेर हदसमेत कटाएको थियो । तर भत्ता सुरु गर्दा नै उमेर पुग्न लागेकी दुर्गामायाले २६ वर्षपछि भत्ता लिने प्रक्रिया बल्ल सुरु भएको हो ।
मेलुङ गाउँपालिका–३ का वडाध्यक्ष हिराकुमार तामाङले दुर्गामायाले नागरिकताको प्रक्रिया लिएपछि भत्ताको कागजात मिलाएर गाउँपालिकामा पेस भएको जानकारी दिए । अहिले कागजात पेस भए तापनि ६ महिना पश्चात अर्थात् आगामी साउनदेखि मात्र उनले भत्ता पाउँछिन् । एक साता अघिमात्र जिल्ला प्रसाशन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले कार्कीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेका थिए ।
१९७२ साल भदौ १८ गते दोलखाको तत्कालीन मालु गाविसमा जन्मेकी दुर्गामाया कार्की करिब ७७ वर्ष अघि इन्द्रबहादुर कार्कीसंँग विवाह गरेर तत्कालीन घ्याङ सुकाठोकर गाविस वडा नम्बर ९ पुगेकी थिइन् । दोलखा तामाकोसी गाउँपालिका–४ मालुको जन्म प्रमाणित तथा कार्कीको जेठाजुको छोरा गोकुलबहादुर कार्की र नाति दिपेन्द्रकुमार कार्कीको सनाखतको आधारमा जिल्ला प्रसाशन कार्यालय दोलखालाई नागरिकता प्रदान गर्न वडाले सिफारिस गरेको वडा नम्बर ३ घ्याङ सुकाठोकरका वडाध्यक्ष हिराकुमार तामाङले बताए । नागरिकताकै कारण सामाजिक सुरक्षा भत्तालगायतका सुविधाबाट वञ्चित थिइन् ।
जिल्ला प्रशासन कार्यालय दोलखाबाट बढी उमेरमा नागरिकता लिने दुर्गामाया कार्की अहिलेसम्मको पहिलो ज्येष्ठ नागरिक भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत औलखबहादुर आलेले बताए । सबै गाउँभरिका ज्येष्ठ नागरिकले भत्ता लिएकाले आफू पनि भत्ता लिनकै लागि नागरिकता बनाएको दुर्गामायाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्