शिर ठाडो हुने गरी काम गरेका छौंः मुख्यमन्त्री «

शिर ठाडो हुने गरी काम गरेका छौंः मुख्यमन्त्री

बागमती प्रदेशको तीन वर्षे गतिविधि सार्वजनिक
हेटौंडा-
२०७४ साल माघमा स्थापना भएको बागमती प्रदेश सरकारले आफूले तीन वर्षको अवधिमा गरेको गतिविधि सार्वजनिक गरेको छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सात वटै मन्त्रालयमार्फत भएको कामको प्रगतिबारे ‘प्रदेश विकास दर्पण’ पुस्तक सार्वजनिक गरेको हो ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार एक कार्यक्रमकाबीच उक्त पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तक सार्वजनिक गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश संरचनाअनुसार नयाँ अभ्यास गरेको तीन वर्षको छोटो अवधिमा आफूहरुले उल्लेख्य काम गरेको दावी गरे । “स्थापनाको तीन वर्षे अवधिमा बागमती प्रदेशमा शिर ठाडो हुने गरी काम गरेका छौं । यसमा मलाई गर्व छ । कामहरुको बारे किताबमा सबै उल्लेख गरेका छौं । सबैको सहयोगले यतिको काम गर्न सफल भएका हौं ।” पौडेलले भने । राष्ट्रिय योजना आयोगले गरेको अध्ययनअनुसार बागमती प्रदेश सुशासनमा अरु प्रदेशभन्दा अगाडि रहेको भन्दै उनले खुसीसमेत व्यक्त गरे ।
सार्वजनिक पुस्तकअनुसार तीन वर्षको अवधिमा प्रदेशमा ८ सय ९१ किमि कच्ची सडक निर्माण भएका छन् । ४ सय ४ किमि ग्राभेल सडक निर्माण भएकोमा एक सय ५२ किमि कालोपत्रे सडक निर्माण गरिएको उल्लेख छ । प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले यस अवधिमा ३३ वटा सडक पुल निर्माण गरेकोमा ३७ वटा सडक पुल र एक हजार एकसय ५९ किलोमिटर सडकको सर्भेसमेत गरेको छ ।
त्यस्तै भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणको सुपरीवेक्षण परामर्शदाता छनौटको प्रक्रिया सुरु भएको पनि बताइएको छ । ६ वटा परामर्शतालाई सूचिकृत गरी प्रस्ताव आह्वानको काम अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै सामाजिक विकास मन्त्रालयअन्र्तत यस अवधिमा एक सय १९ वटै स्थानीय तहको ३ सय ५९ वटा विद्यालयमा विद्यालय नर्स सेवा उपलब्ध गराइएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरी अध्ययन सुरु गर्ने तयारी गरिएको छ । १३ जिल्लाका १७ वटा अस्पताल तथा स्वास्थ्य चौकीको भवन निर्माण गरिएको पनि मन्त्रालयको प्रगतिमा उल्लेख गरिएको छ । ५० वटा विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना, ८० वटा सामुदायिक क्याम्पसको भौतिक सुदृढीकरण, ३ सय ९८ जना छोरी बुहारीलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिएकोलगायतका कामलाई मन्त्रालयको मुख्य उपलब्धीको रुपमा उल्लेख गरेको छ ।
त्यस्तै भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत एकसय ६७ स्थानमा करिब ५ सय ७२ किमि कृषि सडक स्थापना गरिएको, ३७ वटा चिलिङ सेन्टर स्थापना भइ दैनिक ७२ हजार लिटर दूध चिस्यान गरिरहिएको, सामुहिक खेती प्रवद्र्धन गरिएका जस्ता कार्यक्रमलाई प्रमुख कामको रुपमा देखाइएको छ । दुई सय ४७ वटा दुग्ध उत्पादक सहकारीमार्फत दूध उत्पादक किसानलाई हालसम्म ८ करोड ८८ लाख रुपैयाँ अनुदान दिइएको र चालु आर्थिक वर्षमा अनुदानको लागि १६ करोड रुपैयाँ छुट्याइएको पनि जनाइएको छ । एकीकृत कृषि पर्यटन प्रद्र्धन कार्यक्रमअन्तर्गत कालिज, स्थानीय कुखुरा, टर्की, कडकनाथ, अल्पाका फार्म स्थापना भएर सञ्चालनमा रहेको पनि उल्लेख गरिएको छ ।
यसैगरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमार्फत ४५ वटा महत्वपूर्ण पदमार्ग निर्माण गरेको, हाइटेक नर्सरी स्थापना, साझा सुविधा केन्द्र, बजार घर तथा कृषि उपज बिक्री केन्द्र स्थापना जस्ता कामलाई महत्वपूर्ण उपलब्धीको रुपमा राखिएको छ । मन्त्रालयले उद्योग क्षेत्रमा २ हजार ३ सय ९५ जना उद्यमी सिर्जना भई २४ अर्ब १८ करोड पुँजी लगानी र एक अर्ब ३९ करोड पुँजी वृद्धि भएको दावी गरेको छ । सिन्धुलीको मरिणमा प्रादेशिक औद्योगिक क्षेत्र र ५ स्थानमा उद्योग ग्राम स्थापनाको काम सुरु भएकोसमेत जनाएको छ ।
आन्तरिक मामिला मन्त्रालयअन्तर्गत द्वन्द्वपीडित र विस्थापित परिवारका एक हजार ७५ जनालाई ३ करोड ९३ लाख ७७ हजार रुपैयाँ सहायता रकम वितरण, २४ स्थानीय तहमा न्यायिक इजलाश समिति गठन, ६ वटा प्रहरी चौकी निर्माण र ४० वटा निर्माणाधीन, कानुनी सहायता कार्यक्रम सञ्चालनलगायतलाई प्रमुख कामहरुको रुपमा व्याख्या गरिएको छ ।
प्रदेशमा हालसम्म ५८ वटा ऐन, १९ वटा नियमावली, १६ वटा कार्यविधि तय भएको प्रगति विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्