उखु किसानको ५७ करोड भुक्तानी «

उखु किसानको ५७ करोड भुक्तानी


चिनी उद्योगले उखु खरिद गरेबापतको किसानको ५७ करोड ३० लाख रुपैयाँ भुक्तानी गरेका छन् ।
चारवटा चिनी उद्योगले किसानको उखु खरिद गरेको ६५ करोड ३१ लाख रकम भुक्तानी गर्न बाँकी रहेकोमा अहिलेसम्म ५७ करोड ३० लाख रुपैयाँ भुक्तानी गरिसकेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले अधिकांश चिनी उद्योगले उखुको बक्यौता रकम तिरिसकेकाले बाँकी रहेको ८ करोड १ लाख रकम जतिसक्दो छिटो भुक्तानी गराउने प्रक्रियामा रहेको जानकारी दिए । कतिपय उद्योगले जग्गा बेचेर भए पनि किसानको रकम भुक्तानी गरेको बताउँदै उनले किसानका समस्या समाधान गर्न प्राविधिक समिति रहेकोले अब छिट्टै समस्या समाधान हुने बताए ।
मन्त्रालयका अनुसार श्रीराम सुगर मिलले ३५ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । अन्नपूर्ण चिनी उद्योगको १७ करोड रुपैयाँ रहेकोमा ११ करोड ८८ लाख किसानलाई भुक्तानी गरिसकेको छ । एक करोड ७६ लाख खातामा रहेको छ ।
यस्तै इन्दिरा सुगर मिलले ४ करोड ७० लाख रुपैयाँ रहेकोमा १ करोड ५० लाख भुक्तानी गरिसकेको मन्त्रालयले जानकारी दिएको छ । लुम्बिनी चिनी उद्योगको ८ करोड ४१ लाख रकम रहेकोमा पाँच करोड १६ लाख भुक्तानी भइसकेको र ३ करोड रकम रोक्का रहेको छ । बैंक खाता अपडेट नभएका उखु किसानको खाता अपडेट गर्न संघर्ष समितिका पदाधिकारीलाई अनुरोध गरेको मन्त्रालयले जानकारी दिएको छ ।
खातापाता नमिलेको र किसानहरु दाबी गर्न नआएकाले अध्ययन गरिने मन्त्रालयले जानकारी दिएको छ । उद्योगहरुले दिएको तथ्यांक र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको तथ्यांक लिएर बाँकी रहेको ८ करोड १ लाख रकम जतिसक्दो किसानलाई उपलब्ध गराउने मन्त्रालयले जानकारी दिएको छ ।
उखु किसानले भने उद्योगीले तीन वर्ष अघिदेखिको ९० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको भन्दै आन्दोलनमा उत्रेका थिए । उखु किसान संघर्ष समितिका प्रतिनिधि, उद्योगी र मन्त्रालयबीच १३ पुसमा २१ दिनभित्र रकम भुक्तानी गर्ने चार बुँदे सम्झौता भएको थियो । झण्डै १६ दिनसम्मको आन्दोलनपछि सरकार र उखु किसानबीच चार बुँदे सहमति भएको थियो । उखुको बक्यौता रकम माग्दै मंसिर २८ देखि माइतीघरमा आन्दोलनरत उखु किसानले पुस १३ मा सरकारसँग सहमति गरेका थिए । सम्झौतापत्रमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी उद्योगीले किसानलार्ई भुक्तानी गर्नुपर्ने बक्यौता रकम सम्बन्धित उद्योगबाट २१ दिनभित्र उपलब्ध गराउने व्यवस्था मिलाउने उल्लेख छ । सहमतिको अवधि सोमबार सकिएको छ ।
यसअघि ०७६ पुस १८ मा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टकै उपस्थितिमा उखु किसानबीच सहमति भएको थियो । सहमतिअनुसार सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीहरूले ०७६ माघ ७ भित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन मन्त्रालयले समन्वय र सहजीकरण गर्ने सहमति जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्