भारतले दिने खोप यसै साता नेपाल आउने «

भारतले दिने खोप यसै साता नेपाल आउने

भारतले नेपाललाई सहयोगको रुपमा दिन लागेको कोभिड–१९ विरुद्धको खोप यसै साता काठमाडौं आइपुग्ने भएको छ । भारतको मुम्बईस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित ‘कोभिसिल्ड’ खोप भारत सरकारले उपहार स्वरुप नेपाललाई दिन लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भारतीय विदेश मन्त्रालयले नै छिमेकी मुलुकलाई खोप दिन लागेको हो । भारतीय विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिका अनुसार नेपाललगायत छिमेकी बंगालादेश, भूटान, माल्दिभ्स, म्यानमार, सेसेल्सलाई बुधबारदेखि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन लागिएको हो ।
जानकार सुत्रका अनुसार नेपालमा उक्त खोप लगाउने तालिम चलिरहेको छ । तालिम लिएका स्वास्थ्यकर्मीले अन्य स्वास्थ्यकर्मीलाई खोप लगाउने तालिम दिने छन ।
पहिलो चरणमा आउने खोप कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्स, नर्स तथा अन्य स्वास्थ्यकर्मी लगायत सुरक्षाकर्मीहरुलाई दिइने छ । भारतमा पनि फ्रन्टलाइनरलाई खोप दिन सुरु गरिएको छ ।
औषधि व्यवस्था विभागले ‘कोभिशील्ड’लाई गत शुक्रबार नै आपतकालिन प्रयोगका लागि सशर्त अनुमति प्रदान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्