व्यवसायिक प्रतिष्ठानले शिक्षाको गुणस्तर वृद्धिमा सहयोग गर्नुपर्छः उद्योगपति चौधरी «

व्यवसायिक प्रतिष्ठानले शिक्षाको गुणस्तर वृद्धिमा सहयोग गर्नुपर्छः उद्योगपति चौधरी

चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले शिक्षा मानव जीवनका लागि बरदान भएकाले कुनै पनि बहानामा बालबालिका यसबाट वञ्चित हुन नहुने बताएका छन् ।
भारतका ‘द पोलिसी टाइम्स’ र ‘शिव नादर युनिभर्सिटी’द्वारा आयोजित ‘वल्र्ड एजुकेसन कन्फ्रेन्स–२०२१’मा बोल्दै चौधरीले विश्वभरका मानवको जीवनस्तर उकास्न गुणस्तरीय शिक्षामा केन्द्रित हुनुपर्ने बताए । ठूला व्यापारिक संस्थाले सामाजिक उत्तरदायित्वका रूपमा गुणस्तरीय शिक्षाका लागि सघाउने हो भने मानव विकासको फड्को मार्न सकिने उनको भनाइ छ ।
“व्यक्तिको मौलिक हकका रूपमा रहेको शिक्षाले संसार चिहाउने बाटो देखाउँछ,” उनले भने, “व्यक्तिगत र पेसागत जीवनमा आउने वैराग्यको अवस्थामा पनि उज्यालो किरण देखाउने काम शिक्षाले गर्छ । त्यसैले गुणस्तरीय शिक्षाको अर्को कुनै विकल्प छैन ।”
‘बिजनेस विथ पर्पस’को मन्त्र स्मरण गर्दै चौधरीले भारत र नेपालका युवाशक्तिको सन्दर्भ जोडे । “भारत र नेपालमा विश्वकै ठूलो युवा जनसंख्या छ । यो पुस्तालाई समय सुहाउँदो शिक्षामा डो¥याउन सके भोलिको संसार आफैं उज्यालो हुन्छ,” उनले थपे, “पेशा, व्यवसाय गर्नमात्र होइन, राम्रो शिक्षाले जीवनलाई सुन्दर बनाउँछ । जीवनप्रतिको दृष्टिकोण नै बदलिदिन्छ ।”
सीजी कर्प ग्लोबलअन्तर्गतको सीजी एजुकेसनले नेपाल, भारतलगायत एसिया र अन्य मुलुकमा गुणस्तरीय शिक्षाका लागि परोपकारी काम गर्दै आएको पनि चौधरीले सुनाए । चौधरी फाउण्डेसनले नेपालमा डिजिटल क्लास रूम कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपाली बालबालिकालाई विश्वब्यापी आधुनिक शिक्षा प्रणालीमा आवद्ध गर्न, सूचना र शिक्षाको पहुँचमा पु¥याई उनीहरूलाई विश्वब्यापी प्रधिस्पर्धी बन्न सक्ने बनाउन यो कार्यक्रम लागू गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्