दूषित पानी भेटेपछि अदालतमा मुद्दा दायर «

दूषित पानी भेटेपछि अदालतमा मुद्दा दायर

गण्डकी-खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराले नेपा मिनेरल वाटर प्रालिले वितरण गर्दै आएको प्रशोधित पिउने पानी दूषित भेटिएपछि जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको छ । पोखरा–१८ भकुण्डेमा अवस्थित सो उद्योगबाट २०७६ साल असोज महिनामा उत्पादित पानीको नमुना लिई प्रयोगशालामा परीक्षण गर्दा कोलीफर्म भेटिएको जानकारी दिँदै कार्यालय प्रमुख शिवजी बरालले अदालतमा मुद्दा दायर गरिएको बताए ।
लामो प्रक्रिया एवं परीक्षणका लागि लुम्बिनी प्रदेशको भैरहवामा पठाउनुपर्ने बाध्यता रहेको बताउँदै उनले छिटोछरितो परीक्षण गरी जनस्वास्थ्यमा पर्ने असरलाई न्यूनीकरण गर्न गण्डकी प्रदेशमा प्रयोगशाला स्थापना गरी सञ्चालन गर्नुपर्ने बताए ।
भैरहवामा समेत जनशक्तिको अभावका कारण रिपोर्ट आउन ढिलो हुने गरेको स्पष्ट पार्दै प्रमुख बरालले खाद्य ऐनअनुसार प्रति १०० एमएलमा कोलीफर्मको मात्रा शून्य हुनुपर्दछ । उक्त प्रशोधित पिउने पानीमा कोलीफर्मको उपस्थिति पाइएकाले मुद्दा दायर गरिएको हो ।
खाद्य ऐन, २०२३ को दफा (३) उल्लंघन गरी दूषित प्रशोधित पिउने पानी उत्पादन गरी बिक्री वितरण गरेकोले उक्त उद्योगविरुद्ध खाद्य ऐन, २०२३ दफा ५(१) बमोजिम कार्वाहीको माग गरिएको छ । उक्त ऐनअनुसार ५० हजार रुपैयाँ जरिवानासहित पाँच वर्ष कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था छ । यसअघि कार्यालयले पोखरा औद्योगिक क्षेत्रस्थित पोखरा नुडल्स प्रालिद्वारा उत्पादित चाउचाउ न्यून गुणस्तरीय देखिएकाले मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्