आन्तरिक पर्यटन पुनरुत्थानमा जोड «

आन्तरिक पर्यटन पुनरुत्थानमा जोड

आन्तरिक पर्यटक पनि हालका दिनमा पर्वतारोहणमा उत्सुक रहेको परिप्रेक्ष्यमा यसलाई सकारात्मक पहल मान्न सकिन्छ ।

कोरोना कहरबाट थलिएको पर्यटन क्षेत्रका लागि पर्यटन व्यवसायी तथा सरकार मिलेर विभिन्न योजना ल्याउने क्रम जारी छ । पछिल्ला महिनाहरूमा फेरि विदेशमा कोरोनाको थप लहर सुरु भएपछि अबको आशा तथा भरोसा भनेकै आन्तरिक पर्यटन हुन गएको छ । तसर्थ, थलिएको नेपालको पर्यटनलाई आन्तरिक पर्यटन प्रवद्र्धनमार्फत पुनरुत्थान गर्न नेपाल पर्यटन बोर्ड (गण्डकी प्रदेश) र नेपाल पर्वतारोहण संघ (गण्डकी प्रदेश) को संयुक्त पहलमा २ जना महिलासहित ६ जना नेपालीको टोलीले मुस्ताङमा रहेको ६ हजार १२ मिटर अग्लो धम्पुस पिकको आइतबार सफल आरोहण गरेका छन् ।
माघ ३ गते बिहान ११.४८ बजे ६ जनाको टोली शिखरमा पुगेर नेपालको झन्डा फहराएर आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सन्देश दिने प्रयासको प्रशंसा गर्न कन्जुस्याइँ गर्न आवश्यक छैन । पर्वतारोहण र पर्वतीय पर्यटनका लागि नेपाल विश्वमै अग्रणी रहे तापनि आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्य राखेर नेपालीहरूलाई पनि तुलनात्मक रूपमा कम खर्च र प्राविधिक तयारीमा नै धम्पुस पिकजस्ता हिमशिखरहरूको आरोहण गराउन सकिन्छ भन्ने सन्देश दिन यो अभियानको सुरुवात भएको हो । हाल आन्तरिक पर्यटकहरू दृश्यावलोकन पदयात्रा, प्याराग्लाइडिङ, -याफ्टिङ, जंगल सफारीजस्ता पर्यटकीय गतिविधिहरूमा अत्यधिक रमाउने गरेका छन् ।
तर, अब धम्पुस पिकको सफल आरोहणले आन्तरिक पर्यटकहरूका लागि पर्वतारोहण पनि आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्छ । फ्रेन्च नागरिक मौरिस हर्रजोगले सन् १९५० को जुनमा गण्डकी प्रदेशमा अवस्थित अन्नपूर्ण प्रथम (८ हजार ९१ मि.) चढेर विश्वमा पर्वतारोहणको इतिहास रचेको भए तापनि हाल धेरै कम पर्वतारोहीले मात्र अन्नपूर्ण र धवलागिरि हिमश्रृंखलामा रहेका शिखरहरूको आरोहण गर्ने गरेका छन् । त्यसैले यस प्रयासबाट पर्यटनमा केही चहलपहल बढ्ने आशा गर्न सकिन्छ । अन्तर्राष्ट्रिय पर्वतारोहीहरूको रोजाइमा ८ हजार मिटरभन्दा अग्ला हिमालका अतिरिक्त नेपाल पर्वतारोहण संघले आरोहण अनुमति दिने आमादब्लम, मीरा पिक, आइल्यान्ड पिक, पिसाङ पिकहरू पर्छन् । जसमध्ये मनाङ जिल्लाको पिसाङ पिक अन्नपूर्ण श्रृंखलामा पर्छ भने अन्य पिकहरू सगरमाथा क्षेत्रमा पर्छन् ।
तर, आन्तरिक पर्यटक पनि हालका दिनमा पर्वतारोहणमा उत्सुक रहेको परिप्रेक्ष्यमा यसलाई सकारात्मक पहल मान्न सकिन्छ ।
त्यसो त नेपाली पर्वतारोहीले नेपालका मात्र नभएर संसारका विभिन्न अग्ला चुचुरामा आफ्नो देशको झन्डामात्र होइन, विश्व कीर्तिमान नै राख्न पनि सफल भएका छन् । शनिबार मात्रै विश्वको दोस्रो अग्लो केटू हिमालको हिउँदमा आरोहण गरेर १० जना नेपालीले विश्व कीर्तिमान कायम गरेका छन् । हिमाल आरोहणका लागि गएका ६० भन्दा बढी नेपालीमध्ये निर्मल पुर्जासहित १० नेपाली आरोहीको टोलीले सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन् ।
यसरी नेपाली पर्वतारोहीले विश्व कीर्तिमान राख्दै गर्दा यसले नेपालको पर्वतारोहण पर्यटनको पनि प्रचार प्रसार भएको छ । सन् २०१९ मा ६ महिनाको समयमा सगरमाथासहित विश्वका १४ हिमालको आरोहण गरेर पुर्जाको टोलीले कीर्तिमान कायम गरेका थिए । विश्वका अग्ला १४ हिमाल आरोहण गरेर दोस्रो नेपाली आरोहीको परिचय बनाएका छाङ दावा शेर्पासहितको टोलीले हिउँद सिजनमा केटू हिमालको आरोहण गरेर विश्व कीर्तिमान राख्दा नेपाली मात्र नभएर विश्व पर्वतारोहणमा यसले एउटा नयाँ सन्देश पनि गएको छ ।
नेपाली पर्वतारोहीसँगै नेपालको नाम पनि विश्व पर्वतारोहणको इतिहासमा सुनौली अक्षरमा लेखिएको छ । यस्ता क्रियाकलापमा देशले गर्व गर्ने त छँदै छ, यसबाहेक पनि नेपालको प्रचारप्रसार विश्वमा हुने हुनाले नेपालको पर्वतारोहण पर्यटनमा यसले ठूलो अर्थ पनि राख्छ ।

प्रतिक्रिया दिनुहोस्