जाडो मौसममा सावधानी र सचेतना अपनाऔं «

जाडो मौसममा सावधानी र सचेतना अपनाऔं

नेपाल एक समशीतोष्ण हावापानी भएको देश हो । यहाँ विभिन्न किसिमका हावापानी र मौसम रहने भएकाले यस देशमा विभिन्न किसिमको वातावरण रहेको पाइन्छ । वर्षको १२ महिनामा ६ महिना चिसो र ६ महिना गर्मी रहने भएकाले गर्मीमा अत्यधिक गर्मी भई हावाको मात्रा कम भएर तराईका विभिन्न जिल्लामा लुसमेत लाग्ने गरेको छ भने जाडो मौसममा हिमालका जिल्लाहरूमा माइनस १५ डिग्रीसम्म तापक्रम घट्ने गरेको पाइन्छ । त्यसैले जाडो मौसममा बालबच्चा र वृद्धवृद्धाहरूलाई बढी प्रभावित पार्ने गर्छ, किनकि उनीहरूसँग प्रतिरोधात्मक क्षमता कम हुने भएको र उहाँहरूको विशेष हेरचाह गर्नु प्रमुख आवश्यकता रहेको छ ।
आजभोलि बढ्दै गइरहेको आधुनिकताका कारण मानिसहरूको दैनिकी फेरिँदै गएको छ । मानिसका असीमित आवश्यकताहरू रहेका हुन्छन्, ती असीमित आवश्यकताहरूलाई सीमित स्रोतसाधनले परिपूर्ति गर्न सकिँदैन । त्यसैले मानिसले जाडो छल्नका लागि आजभोलि इलेक्ट्रोनिक साधनहरूको बढी प्रयोग गर्न थालेका छन्, तर ती साधनहरूको प्रयोगले स्वास्थ्यमा पर्ने नकारात्मक असरका बारेमा मानिसहरूलाई थाहा हुँदाहुँदै पनि हेलचेक्र्याइँ गरिरहेका हुन्छन् । त्यसैले त्यस्ता कतिपय सामग्री प्रयोग गर्दा ध्यान दिनु आवश्यक रहेको छ ।
घर र कोठाहरू न्यानो बनाउने भन्दै विगतका वर्षहरूमा विभिन्न किसिमका घटनाहरू पुनः नदोहोरिन हामी सबै सचेत रहन आवश्यक छ । अघिल्लो वर्ष एक परिवारका बुवा, आमा र छोरी कोठा न्यानो बनाउने काम गरिरहँदा बाहिरी हावा भित्रसम्म पुग्न नसक्दा तिनै जनाको दुःखद निधन भएको थियो, जुन एक असावधानीले गर्दा धनजनको ठूलो क्षति भएको थियो । त्यसै यस किसिमका घटनाले भोलिका दिनमा नदोहो-याउनका लागि आजैबाट हामी सबैले विशेष सावधानी अपनाउन जरुरी देखिएको छ ।
बालबच्चा र वृद्धवृद्धा भएका घरहरूमा विद्युतीय र ग्याससम्बन्धी उपकरणहरू प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्छ । बालबच्चाले ती विद्युतीय सामग्रीहरूलाई चलाउन सक्ने र त्यसैले ठूलो विपत्ति निम्त्याउने हुँदा उनीहरूको रेखदेखमा समेत विशेष ध्यान दिनुपर्छ । कोठा न्यानो बनाउँदा बाहिरी हावाको समेत राम्रो प्रबन्ध भए नभएको यकिन गर्नुपर्छ ताकि गम्भीर दुर्घटनाबाट बच्न सकियोस् । विद्युतीय उपकरणहरूभन्दा न्याना लुगा, कपडा जुत्ता र अन्य सामग्रीहरूको प्रयोगमा जोड दिनुपर्छ । अभिभावकहरूले पनि ती विद्युतीय उपकरणहरूका अतिरिक्त आफ्ना सन्तति र आमाबुवाको हेरचाह गर्नुपर्छ । जाडो मौसममा वृद्धवृद्धाहरूमा समस्या हुन सक्छ, त्यसैले उहाँहरूको उचित रेखदेख गर्ने र सफा न्यानो कपडा, जुत्ता, मोजा लगाउने तथा खानपानमा समेत ध्यान दिने गर्नुपर्छ । बढीभन्दा बढी तातो र झोलिलो खानेकुरा खाई न्यानो भई बस्ने वातावरणको सिर्जना अभिभावकले गर्नुपर्छ । आवश्यक परेको खण्डमा समय–समयमा चिकित्सकको समेत सल्लाह लिँदै जाडो मौसमको सामना गर्दै जानुपर्छ । होसियार बनौं र सावधानी सचेतना अपनाऔं ।

प्रतिक्रिया दिनुहोस्