वायु प्रदूषणका कारण कष्टकर बन्दै जनजीवन «

वायु प्रदूषणका कारण कष्टकर बन्दै जनजीवन

काठमाडौँ उपत्यकाको प्रमुख सहरको वायु प्रदूषण नापजाँचका दृष्टिकोणले पनि काठमाडौँलाई सबैभन्दा न्यूनस्तरका सहरमा सूचीकृत गरिएको पाइएको छ ।

नेपालको राजधानी काठमाडौँ उपत्यकामा सहरीकरण तीव्र छ । प्रकृतिले सिर्जना गरेको हावा, पानी, पहाड, नदीनाला, वनजंगल आदि सहरीकरणको तीव्र चापले गर्दा ह्रास भएको छ, जसको फलस्वरूप आदिमकालदेखि मानवसहित पर्यावरणका सम्पूर्ण सजीव तथा निर्जीव वस्तुहरूको सन्तुलन विनाश भएको छ । सो विनाशको फलस्वरूप लाखौं नागरिक आकस्मिक समस्या भोग्न बाध्य भएका हुन् । मुख्य समस्याका रूपमा श्वासप्रश्वास, प्रदूषण, सार्वजनिक स्थल विनाश, शारीरिक यातना एवं मृत्युसमेत छन् । नेपालको प्रमुख सहर काठमाडौँको सन्दर्भमा वातावरणको मुख्य समस्याको रूपमा रहेको छ । काठमाडौंमा वायु प्रदूषणको मुख्य कारकको रूपमा भन्नुपर्दा अव्यवस्थित सहरीकरण, सवारी साधनको बढ्दो चाप, इँटाभट्टा र जाडोयाममा खुला रूपमा जथाभावी फोहोर जलाउने, जनसंख्या वृद्धि, प्राकृतिक स्रोतको दोहन, समन्वयको अभाव, आधुनिक प्रविधिको जथाभावी प्रयोग, वनजंगल विनाश, अव्यवस्थित औद्योगीकरण, फोहरमैलाको अव्यवस्थित, अनुगमनको अभाव, ऐन–कानुनको कार्यान्वयन नहुनु, जनचेतनाको कमी, अवैज्ञानिक सडक विस्तार, भूकम्पबाट विनाश भएका भौतिक संरचनाहरूको निर्माण तथा मर्मतले गर्दा काठमाडौंमा धूलो र धूवाँकोे प्रदूषण उच्च बिन्दुमा छ ।
वायु प्रदूषणका कारण हामीले श्वास लिने हावामा शुद्ध अक्सिजन मात्र नभई यसमा अन्य हानिकारक ग्यास, धूवाँजन्य तŒव नाइट्रस अक्साइड, सल्फरडाइअक्साइड, मिथेन, क्लोरोफ्ल्युरो कार्बन इत्यादि तŒवहरूको सम्मिश्रणले हावालाई विषाक्त तुल्याई मानव स्वास्थ्यलाई नै असर पु-याउँछ । उपचारका लागि औषधिको मात्र गुणस्तर भएर हुँदैन, हामी बाँच्ने वातावरण पनि स्वच्छ हुनु जरुरी हुन्छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सहरी क्षेत्रमा २५ माइक्रोग्रामभन्दा बढी धूलो हुनु हुँदैन, तर काठमाडौंमा भने त्यसको त्यसको चार गुणाभन्दा माथि वायु प्रदूषण बढिसकेको छ । हावामा मिसिएको १० पार्टिकुलर म्याटरका धूलोका कण नाक तथा घाँटीसम्म पुग्ने प्रकृतिका हुने र २.५ पीएमसम्मका साना मसिना धूलोका कण सीधै रगतमा मिसिई मुटुरोग, दम, फोक्सोको क्यान्सर तथा अन्य रोगहरू लाग्न सक्ने देखिन्छ । यसबाहेक वायु प्रदूषणका कारण वातावरणलाई प्रत्यक्ष असर पारी ओजोन तह विनाश, जलवायु परिवर्तन, अम्लीय वर्षाजस्ता दीर्घकालीन प्रभावहरू पार्छन् । नेपालको संविधानले प्रत्येक नेपाली नागरिकलाई सफा तथा स्वास्थ्य वातावरणमा बाँच्न पाउने मौलिक हक प्रदान गर्नुका साथसाथै पीडितले प्रदूषकबाट क्षतिपूर्ति भराई लिन पाउने व्यवस्थासमेत गरेको छ ।
काठमाडौँ उपत्यकाको प्रमुख सहरको वायु प्रदूषण नापजाँचका दृष्टिकोणले पनि काठमाडौँलाई सबैभन्दा न्यूनस्तरका सहरमा सूचीकृत गरिएको पाइएको छ । तथ्याङ्क विश्लेषण, उपलब्धता, प्रदूषण इभेन्ट्री र वायु गुणस्तर व्यवस्थापन पनि कमजोरसमेत रहेको उल्लिखित गरिएको पाइन्छ । काठमाडौं प्रदूषित सहर बन्नुको कारक तत्वमा बनोटलाई पनि लिन सकिन्छ । जाडोयाममा तीव्र गतिमा हावा नचल्ने र पानी पनि नपर्ने कारणले धूलोका कणहरू तथा प्रदूषित हावा बाहिर जान नपाई उपत्यकाको वायुमण्डलमा थुप्रिएका वायु प्रदूषण बाक्लिएर इन्फ्लुएन्जा तथा कोरोना भाइरसको प्रभाव पनि बढ्दै जाने सम्भावना हुन्छ, जसका कारण श्वासप्रश्वास तथा कोरोनाजस्ता रोगको सिकार भई गुणस्तरीय स्वास्थ्यमा पनि ह्रास भएको छ ।
वायु प्रदूषण हुनुको प्रमुख कारणका रूपमा अन्तरसरकारी निकायको समन्वयको अभाव पनि प्रमुख हो । एउटा निकायले गरेको कार्यप्रति अर्को निकाय पूर्ण अनभिज्ञ हुनु जस्तै सडक विभागले भर्खर बाटो निर्माण गरेको हुन्छ त्यहाँ निर्माणपश्चात् खानेपानीको पाइप बिछ्याउन सडक खन्ने भनेर भत्काउने, त्यो काम सिद्धिन्छ, पुनः ढल निकासले ढल राख्नलाई सडक बिगार्ने आदि–आदि । काठमाडौं उपत्यकाको हावामा माटोको धूलो, गाडीको धूवाँ, फलाम र सिसाजस्ता हानिकारक कण उच्च मात्रामा रहेका छन्, जसले जनस्वास्थ्यमा प्रतिकूल असर पारेका छन् । एक त उपत्यकामा बढ्दै गएको वायु प्रदूषण र त्यसमाथि पनि कोरोना महामारीका कारण जनजीवन कष्टकर बन्दै गएको छ ।
यस्तो हुनुको कारण एकआपसमा समन्वय नहुनु हो, जसले गर्दा अर्बौं रुपैयाँ ह्रास भएको छ । जसको फलस्वरूप भत्काई खनिएको सडकबाट निस्किएको माटो लामो समयसम्म पनि सडकमै छोडिनु र यसरी न्यूनतम आधारभूत प्रक्रियासमेत पूरा नगरी गरिएको क्रियाकलापको फलस्वरूप उक्त माटो धूलोमा परिणत हुन गई धूलोका स–साना कण वायुमा प्रवेश तथा सवारी साधन घर्षण तथा गतिले गर्दा हावामा मिसिन गई वर्तमान अवस्थामा चरम वायु प्रदूषण हुन गएको छ । अर्कातिर सवारी साधनबाट निस्किने धूलो धूँवाले वायु प्रदूषण भएको छ । सवारी साधनबाट निस्कने धूलोमा पाइने लिड तथा बेन्जिन, कार्बन मोनोअक्साइडलगायतका तत्वको सम्मिश्रणले गर्दा श्वास–प्रश्वासका माध्ममबाट मानव शरीरमा प्रवेश गरी गुणस्तर जीवनमा खराबी पैदा गरी विभिन्न रोगको सिकार भइन्छ । विकास र वातावरण दुवै अपरिहार्य छन् । वातावरण र विकासबीच सन्तुलन कायम गर्न सक्नुपर्छ । वायु प्रदूषण तथा वातावरण प्रदूषण बहुपक्षीय प्रभाव राख्ने विषय भएको हुँदा यसबाट देखा पर्ने समस्या सहभागितामूलक पद्धतिबाट समाधान गर्नुपर्छ ।
माथि उल्लिखित कारक तत्वका कारणले नेपालको राजधानी काठमाडौं सहरमा वातावरणीय प्रदूषणसँगसँगै देखा परेका समस्याको सुधार नभएको अम्लीय तथा हिलो वर्षाको गम्भीर समस्याको चापमा काठमाडौं उपत्यका नपर्ला भन्न सकिँदैन । आकाशमा चर्को घाम लागिरहेकै बेला अचानक वर्षा हुने गरेको दृश्य हिजोआज सामान्य बन्दै गएको छ । कहिलेकाहीं त आकाशे पानीको रङ्ग पनि छुट्टै देखिने गरेको छ । जोकोहीको मनमा पनि यसले खुलदली पैदा गर्न सक्छ, यस्तो किन भयो ? वर्षाको पानी आफैं रंगीन हुनुको कारण धेरैलाई थाहा नहुन सक्छ । वैज्ञानिकका अनुसार यो अम्ल वर्षा (एसिड रेन) हो । बढ्दो प्रदूषणका कारण अम्ल वर्षा आमसमस्या बनिसकेको छ । यसको असर अत्यन्तै खतरनाक हुन्छ । बोटबिरुवालाई मात्रै होइन, ऐतिहासिक धरोहरलाई पनि क्षति पु¥याउँछ । चुनढुंगाले बनाइएका धरोहरहरू र त्यसमा प्रयोग गरिएका धातुहरूलाई अम्ल वर्षाले कुरूप बनाउने गरेको छ ।
काठमाडौं उपत्यकाको भौगोलिक बनावटका कारण वायु प्रदूषण वहन गर्न सक्ने क्षमता अत्यन्त कमजोर भएको तथ्यलाई दृष्टिगत गरी प्रदूषण जन्य स्रोतहरूको वैज्ञानिक अध्ययन तथा अनुसन्धानमा आधारित भई वस्तुपरक ढंगले विश्लेषण गरी यातायातका साधनहरूको व्यवस्थित सञ्चालन, ग्रिन स्टिकरको व्यवस्था गरी प्रभावकारी अनुगमन, विकास–निर्माणका योजनाहरूको कार्यान्वयन, उद्योगधन्दा एवं कलकारखानाहरूको विकास र विस्तार गर्दै उत्पन्न फोहोरमैलाको उचित व्यवस्थापन गरिनुपर्छ । वातावरणमैत्री प्रविधिको आयात गर्दै त्यसको उपयोगलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गरिनुपर्छ । निर्माण व्यवसायसम्बन्धी विशिष्ट नीति, कानुन, योजना र कार्यक्षेत्रगत सर्तहरूको निर्धारण गरिनुपर्छ । वायु प्रदूषण नियन्त्रणलाई प्रभावकारी बनाउन विशिष्टीकृत कानुन बनाई प्रभावकारी ढंगबाट कार्यान्वयन गरिनुपर्छ । अन्तरसरकारी निकायबीच समन्वय नहुनु पनि वायु प्रदूषणको एक सशक्त कारण भएकाले सोबीच समन्वय हुनु अति आवश्यक छ । प्राकृतिक दोहनप्रति नागरिक चेतना वृद्धि हुनुपर्ने, राजनीतिक स्वार्थ त्याग्नु, योग्य तथा दक्ष जनशक्ति परिचालन, जिम्मेदारी एवं कर्तव्यबोध, उचित कानुन, पूर्वाधार विकास, गैरसरकारी सञ्जाल, फोहोरलाई मोहोरमा परिणत, मानव स्रोतसाधनको उचित प्रयोग, दीर्घकालीन योजना, आर्थिक क्रान्ति, सक्षम जनशक्ति विदेश पलायन हुन नदिने, द्वन्द्व घटाई पूर्ण शान्ति, सहरीकरण विकेन्द्रित आदि कार्य भएमा मात्र अधिकारमुखी विकासको अवधारणाअनुसार व्यवस्था गरिएको नागरिकको मौलिक हकका रूपमा रहेको स्वच्छ वातावरणमा बाँच्न पाउने हक सुनिश्चित भई गुणस्तरीय जीवन जिउनमा टेवा मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्