Logo

लमजुङमा निजी आवास पुनर्निर्माण ६०% मात्रै

लमजुङमा भूकम्पपछि भत्किएका निजी आवास पुनर्निर्माण ६० प्रतिशतमात्रै सम्पन्न भएको छ । २०७२ साल वैशाख १२ गतेको भूकम्पपछि जिल्लामा निजी आवास पुनर्निर्माण प्रगति ६० प्रतिशतमात्र भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार लमजुङले जनाएको हो ।
जिल्लामा निजी आवास पुनर्निर्माण र प्रवलिकरण गरी १५ हजार ५ सय ४३ लाभग्राही रहेका छन् । हालसम्म निजी आवास पुनर्निर्माणमा ६० प्रतिशत प्रगति भएको जिल्लास्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख सूर्यप्रसाद शर्माले बताए । बाँकी पुनर्निर्माण द्रुत गतिमा अघि बढाउन र निश्चित समयमा सम्पन्न गर्न स्थानीय तहसँग समन्वय गरी अघि बढ्ने तयारी गरिएको शर्माको भनाइ छ । जिल्ला आयोजना कार्यान्वयन इकाईका अनुसार जिल्लाका लाभग्राहीमध्ये हालसम्म १४ हजार तीन सय १९ जनालाई प्रथम किस्ता भुक्तानी भएको छ भने ८४ लाभग्राहीले सम्झौता गरी प्रथम किस्ता भुक्तानीको प्रक्रियामा छन् ।

नौ सय बढी भूकम्पपीडित लाभग्राही सूचीबाट हट्दै
लमजुङमा नौ सय ४० भूकम्पपीडित निजी आवास लाभग्राही सूचीबाट हट्ने भएका छन् । राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणले लाभग्राहीको सूचीमा परेर पनि गत मंसिर मसान्तसम्म अनुदान सम्झौता नगरेका र अनुदान सम्झौता गरेर पनि १५ पुससम्म पहिलो किस्ता नलिएका भूकम्पीडितको नाम स्वतः लाभग्राही सूूचीबाट हट्ने निर्णय गरेसँगै लमजुङका नौ सय ४० लाभग्राही सूचीबाट हट्ने भएका हुन् ।
लाभग्राही सूचीमा परेकामध्ये पूर्ण क्षतितर्फ ६ सय १२ जना र आशिंक क्षति तथा प्रबलीकरणतर्फ तीन सय २२ जनाले हालसम्म पनि सम्झौता नगरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाई लमजुुङले जनाएको छ । त्यस्तै ६ जना लाभग्राहीले भने अनुदान सम्झौता गरेर पनि पहिलो किस्ताको रकम नलिएको कार्यालय प्रमुख सूर्यप्रसाद शर्माले बताए । लमजुङमा पूर्णक्षति र मर्मत सम्भार अर्थात् प्रबलीकरण गरी कुल १५ हजार पाँच सय ४३ भूकम्पपीडित लाभग्राहिको सूचीमा परेकोमा हालसम्म १४ हजार ६ सय तीन जनाले अनुदान सम्झौता गरी पहिलो किस्ता भुक्तानी लिएका छन् ।
पुनर्निर्माण प्राधिकरणका अनुसार निजी आवास पुनर्निर्माणका लागि २०७७ मसिंर मसान्तभित्र अनुदान सम्झैता सम्पन्न गरी पुस १५ सम्म पहिलो किस्ता भुक्तानी लिइसक्नुपर्ने समय सीमा थियो । त्यस्तै दोस्रो किस्ता भुक्तानीका लागि लाभग्राहीले स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिने अन्तिम समय २०७७ माघ मसान्तसम्म कायम भएको छ ।
अन्तिम किस्ता भुक्तानीका लागि भने निवेदन दिने मिति ०७८ वैशाख मसान्तसम्म र रकम भुक्तानीका लागि ०७८ जेठ मसान्तलाई समयसीमा तोकेको छ । पछिल्लो पटक थपिएको समय अवधिअनुसार पनि घर निर्माणका लागि अनुदान सम्झौता भुक्तानी नलिने लाभग्राही सूचीबाट हट्ने र अब अवधि थप नहुने प्राधिकरणले जनाएको छ ।

बक्समा
विद्यालय पुनर्निर्माणमा हालसम्म ६० करोड खर्च
भूकम्पपछिको विद्यालय पुनर्निर्माणमा ६० करोड खर्च भएको छ । जिल्लामा आर्थिक वर्ष ०७३÷७४ को चैतबाट विद्यालयको पुनर्निर्माण सुरु भएको हो ।
साविकको जिल्ला शिक्षा कार्यालय र जिल्ला आयोजना कार्यान्वय इकाईमार्फत हालसम्म जिल्लामा भूकम्बाट क्षति भएका विद्यालय पुनर्निर्माणमा ६० करोड खर्च भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा लमजुङका अनुसार जिल्लामा हालसम्म विद्यालय पुनर्निमार्ण भने ५० प्रतिशत सम्पन्न भएको छ । इकाईका अनुसार करिब साढे तीन वर्षको अवधिमा ८५ वटा विद्यालय भवनको पुनर्निर्माण पूर्ण सम्पन्न भएको हो । जसमध्ये सरकारी तवरबाट विद्यालय व्यवस्थापन समितिमार्फत ८२ र गैरसकारी सस्ंथामार्फत तीन विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ । जिल्लाभर कुल तीन सय ५२ सामुदायिक विद्यालय छन् । जसमध्ये ०७२ साल वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पबाट एक सय २७ विद्यालय प्रभावित भएको तथ्यांकमा उल्लेख छ ।
जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका इन्जिनियर दिपकराज कंडेलेका अनुसार जिल्लामा कुल एक सय ७१ विद्यालय भवन निर्माणको कार्यक्रम रहेकोमा हालसम्म विद्यालय व्यवस्थापन समितिमार्फत ४ कोठे भवन ३७ वटा, ३ कोठे १४ वटा र दुई कोठे ३१ वटा गरी ८२ वटा भवन सम्पन्न भएको छ । त्यस्तै गैरसरकारी संस्थामार्फत २० कोठे, ८ कोठे र २ कोठे एक, एक वटा गरी ३ वटा विद्यालय भवन सम्पन्न भएको छ ।
बाँकी रहेका ८६ विद्यालय भवन निर्माणाधीन अवस्थामा रहेको इन्जिनियर दिपकराज कंँडेलले जानकारी दिए । यस आर्थिक वर्षभित्र सम्पूर्ण भवनको निर्माणकार्य सम्पन्न गरिसक्ने लक्ष्यका साथ भवन निर्माणकार्य दु्रत गतिमा अघि बढिरहेको इन्जिनियर कंँडेलले बताए । अहिले विद्यालय व्यवस्थापन समितिमार्फत चारकोठे ५४, तीनकोठे ६ र दुईकोठे २१ वटा विद्यालय भवन निर्माणाधीन अवस्थामा छन् । गैरसरकारी संस्थाको सहयोगमा ६ कोठे एक विद्यालय भवन, साउदी अरेबिया राजदूतावासको सहयोगमा १२ कोठे एउटा र ९ कोठे तीनवटा विद्यालय भवन निर्माणाधीन रहेको इकाईले जनाएको छ ।
लमजुङमा ढिलोगरी विद्यालय पुनर्निर्माणको कार्यक्रम आउनु र सुरुका वर्षमा आएका कार्यक्रम पनि पर्याप्त नहुनुले विद्यालय पुर्निर्माणले गति लिन नसकेको इन्जिनियर कँंडलेको भनाइ छ । त्यसमा पनि गतवर्ष कोरोना संक्रमण जोखिमसँगै सरकारले जारी गरेको लकडाउनका कारण विद्यालय पुनर्निर्माणकार्य प्रभावित बनेको इन्जिनियर कँंडेलको भनाइ छ । पुनर्निर्माणका लागि सूचीकृत भएका विद्यालयमध्ये ६ विद्यालय भने कुनै पनि निकायबाट सम्बोधन नभएको अवस्था रहेको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाले जनाएको छ । जिल्लाको भौगोलिक बनोटका कारण अधिकांश विद्यालयमा पुनर्निर्माण कार्य तोकिएको समयमा सम्पन्न गर्न समस्या भएको जिल्ला कार्यान्वयन इकाई प्रमुख अशोक पराजुलीले बताए ।
इकाईका अनुसार शौचालय पुनर्निर्माणतर्फ ६९ कार्यक्रम रहेकोमा हालसम्म ३३ वटा शौचालय निर्माण सम्पन्न भएको छ भने ३७ वटा निर्माणाधीन अवस्थामा छन् । त्यस्तै खानेपानीका ३६ योजना निर्माणाधीन अवस्थामै छन् । निर्माणाधीन अवस्थामा रहेका विद्यालय भवन, शौचालय र खानेपानी आगामी असार मसान्तसम्म सम्पन्न गरिसक्ने लक्ष्यका साथ इकाईले आफ्ना गतिविधि सञ्चालन गरेको इकाई प्रमुख पराजुलीले बताए ।

प्रतिक्रिया दिनुहोस्